coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एन्फा अध्यक्षमा शेर्पाको दाबेदारी

उम्मेद्वारी घाेषणा कार्यक्रममा कर्माछिरिङ शेर्पा(बायाँबाट छैटाैँ) । तस्बिर: विजय गजमेर

काठमाडौं– अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले चैत्र १४ गते हुने एन्फा निर्वाचनमा अध्यक्ष पदमा लड्ने घोषणा गरेका छन्। 

एन्फाका केही पदाधिकारी, विभिन्न जिल्लाका पदाधिकारी, ए डिभिजन, बी डिभिजन, सी डिभिजन र महिला समितिका पदाधिकारीलाई उपस्थिति गराई शनिबार शेर्पाले एक समारोहका बीच उम्मेदवारी घोषणा गरेका हुन् ।  एन्फा नेतृत्वविरुद्ध केही वर्षदेखि संघर्ष गरिरहेका शेर्पालाई पूर्व कार्यकरी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले समर्थनसहितको प्रस्ताव राखे। 

समर्थनसहितको प्रस्ताव राख्ने क्रममा पूर्वसिइओ तुलाधरले, ‘जटिल मोडमा नेपाली फुटबल पुगेको र आउँदा दिनमा फुटबलको विकास गर्न नयाँ नेतृत्व आवश्यक भएको बतााए । तुलाधरले पूर्वअध्यक्ष गणेश थापाप्रति संकेत गर्दै भने, ‘एन्फामा हामीले वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठबाट धेरै आशा गरेका थियौं । तर उहाँले केही गर्न सक्नुभएन । एन्फामा हामीले सुधारका धेरै प्रयास गर्‍यौं । तर सधैं एउटा डरलाग्दो अदृष्य शक्ति पर्खाल बनेर रहिरह्यो । यहाँसम्म कि एन्फा अध्यक्षका लागि भनेर किनिएको गाडीसमेत अध्यक्षले चढ्न पाएनन् । त्यसैले अब फुटबल विकासका लागि परिवर्तनका पक्षधरहरू एक हुनु जरुरी छ ।’

तुलाधरको प्रस्तावलगत्तै उम्मेदवारी घोषणा गर्ने क्रममा शेर्पाले फुटबलमा थुप्रै विकृति र विसंगति भएको भन्दै आफ्नो उम्मेदवारी तिनलाई हटाउनका लागि भएको बताए । ‘फुटबलमा परिवारवाद, आर्थिक अपारदर्शिता, व्यक्तिगत लहडका विरुद्धमा मेरो उम्मेदवारी हो । मैले चुनाव जितेँ भने आर्थिक नियमावली पास गर्नेछु । सबै सात प्रदेशमा दुईवटाका दरले एकेडेमी सञ्चालन गर्नेछु । चुनाव भएको दुई महिनाभित्र लामो समयदेखि नभएको लिग सञ्चालनमा ल्याउनेछु,’ उनले भने, ‘परिवर्तन पक्षधरले चुनाव जिते एउटा मार्केटिङ टिम बन्नेछ । त्यसले एन्फाका साथै सबै क्लब र जिल्लाका प्रतियोगिताका लागि प्रायोजक खोज्नेछ । क्लब र मोफसलमा प्रतियोगिता आयोजना गर्नेले प्रायोजक खोज्न दौड्नु पर्नेछैन।’
‘ओरालो लागेको फुटबललाई नयाँ नेतृत्व आवश्यक छ ।  योजना र जिम्मेवारी बोधसहितको अधिकार सबैलाई दिनुपर्छ, अनि मात्र फुटबल विकास हुन्छ । त्यो ठोस योजना मेरो नेतृत्वले पूरा गर्नेछ,’ शेर्पाले थपे।

एन्फाका पूर्वअध्यक्ष गणेश थापा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेपछि गत वर्ष कात्तिकमा अध्यक्ष र उपाध्यक्षका लागि निर्वाचन भएको थियो । जहाँ अध्यक्षमा श्रेष्ठ विजयी भएका थिए भने उपाध्यक्षमा मणि कुँवरले बाजी मारेका थिए । एन्फाको टोयोटा फर्चुनर गाडी हाल कुँवरले चढ्ने गरेका छन्।

शेर्पा थापा नेतृत्वको एन्फामा लामो समय उपाध्यक्षका रूपमा कार्यरत थिए । तर एकलौटी रूपमा संघ सञ्चालन गरेको भन्दै केही वर्षयता उनी थापाविरोधी संघर्षमा छन् । गत वर्षको निर्वाचनमा उनी अध्यक्ष पदका प्रत्याशी भए पनि श्रेष्ठसँग पाँच मतले पराजित भएका थिए । कर्मा प्यानलबाट अघिल्लो निर्वाचनमा दीपक खाती उपाध्यक्ष पदका उम्मेदवार थिए । खातीलाई कुँवरले पराजित गरेका थिए।

अघिल्लो पटक श्रेष्ठ र कुँवर पक्षमा लागेका एन्फाका मानार्थ अध्यक्ष टासी घले, उपाध्यक्ष वीरबहादुर खड्का, केन्द्रीय सदस्य रत्न श्रेष्ठ र दिनेश व्यन्जनकार तथा सिइओ तुलाधरलगायतले यसपालि शेर्पालाई सघाउने भएका छन् । यसै गरी अघिल्लो निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिएर पराजित भएका राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह तथा केही साताअघि अध्यक्षको उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गरेका प्रशिक्षक कृष्ण थापा पनि शेर्पाकै पक्षमा उभिएका छन् । आफू एन्फाको मानार्थ अध्यक्ष भइरहँदा पदीय मर्यादाभन्दा पनि कर्मचारी हाबी भएको गुनासो गर्दै घलेले फुटबल विकासका लागि यसपालि शेर्पालाई सघाउन लागेको बताए । एन्फा उपाध्यक्ष खड्काले थापा पक्षबाट वरिष्ठ उपाध्यक्ष वा महासचिवमध्येको पद रोज्ने प्रस्ताव त्यागेर आफूले भने फुटबल रोजेको बताए । ‘म २०५२ सालदेखि गणेश थापासँग निकै नजिक रहेर निरन्तर फुटबलमा लागेँ । आज अर्को पक्षमा आउँदा मलाई दुख लागेको छ । यसै गरी अहिले मलाई एन्फाका कार्यवाहक अध्यक्ष स्वर्गीय ललित दाइ (ललितकृष्ण श्रेष्ठ) को पनि याद आइरहेको छ । यी दुई कुरा सम्झँदा मलाई दुख लागेको छ,’ खड्काले भने, ‘मलाई यसपालि पनि उताबाट रोजेको पद दिने भनिएको थियो । तर मैले आफ्नो स्वार्थभन्दा माथि उठेर फुटबलको पक्षमा निर्णय गरेँ । मैले पदीय प्रलोभन भन्दा पनि फुटबलमा परिवर्तन चाहेकाले शेर्पासँग हातेमालो गर्न आएको हुँ ।’

कार्यक्रममा प्रशिक्षक थापा, पूर्व राष्ट्रिय कप्तान सिंह, पूर्व राष्ट्रिय खेलाडी विज्ञान शर्मा, ‘सी’ डिभिजन क्लब प्रतिनिधि दावा लामालगायतले शेर्पा नेतृत्वमा निर्वाचनमा होमिने बताएका थिए। 

चैत्र १४ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । ‘ए’ डिभिजनका १४, ‘बी’ डिभिजनका ९ र ‘सी’ डिभिजनका ५ गरी २८ क्लब, खेलाडी, प्रशिक्षक, रेफ्री र महिला गरी चार समिति तथा ४५ जिल्लाका एक÷एक गरी ७७ प्रतिनिधिले एन्फाको १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न निर्वाचनमा मतदान गर्नेछन्। 

शनिबार उम्मेदवारी घोषणा गरेका शेर्पाले फागुन ४ गते उम्मेदवारी दर्ता गराउँदै छन् । संस्थापन पक्षबाट भने यसपालि उम्मेदवारको घोषणा भइसकेको छैन । तर वर्तमान अध्यक्ष श्रेष्ठ वा वरिष्ठ उपाध्यक्ष कुँवरमध्ये एककोे नेतृत्वमा संस्थापन पक्षले निर्वाचन लड्ने सम्भावना बलियो छ।

‘एन्फामा हामीले वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठबाट धेरै आशा गरेका थियौं । तर उहाँले केही गर्न सक्नुभएन । एन्फामा हामीले सुधारका धेरै प्रयास ग¥यौं । तर सधैं एउटा डरलाग्दो अदृष्य शक्ति पर्खाल बनेर रहिरह्यो । यहाँसम्म कि एन्फा अध्यक्षका लागि भनेर किनिएको गाडीसमेत अध्यक्षले चढ्न पाएनन् ।’

प्रकाशित: २८ माघ २०७४ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App