coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेका अर्जुन थापा सभामुख हुने

प्रदेशसभा सचिवायलयमा सभामुखको मनोनयन दर्ता गराउँदै अर्जुन थापा । तस्बिर :दिलबहादुर छत्याल

धनगढी – प्रदेश ७ मा एमाले बझाङका प्रदेशसभा सदस्य अर्जुन थापा सभामुख हुने भएका छन् । शनिबार एमालेका अर्जुन थापा एकजनाको मात्र सभामुखका लागि मनोनयन दर्ता भएको प्रदेश ७ का प्रदेशसभा सचिवालयका मुरारी महतले बताएका छन्।

‘दिउँसो २ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने तालिका तोकिएमा थापाको मात्र मनोनयन दर्ता भएको छ,’ उनले भने । निर्वाचन कार्यतालिकाअनुसार आइतबारसम्म दाबीबिरोध गर्न पाइने भएको छ । एकमात्र मनोनयन दर्ता भएकाले माघ २९ गते सोमबार बस्ने प्रदेशसभा बैठकमा यो प्रस्ताव प्रस्तुत गरी थापा निर्विरोध निर्वाचित भएको घोषणा गरिने उनले बताए । शनिबार प्रदेशसभा सचिवालयमा थापाले मनोनयन दर्ता गराएका हुन् । एमालेका दीर्घ सोडारीको प्रस्ताव र माओवादी केन्द्रका त्रिलोचन भट्टको समर्थनमा थापाले मनोनयन दर्ता गराएका थिए । थापाको मात्र मनोनयनमा परेकाले उनी सभामुख हुने पक्का भएको हो । सभामुखको मनोनयन दर्ता गर्न एमाले र माओवादी केन्द्रका प्रदेशसभा सदस्यको उल्लेख्य सहभागिता रहेको थियो । थापा सभामुख हुने भएपछि बधाई दिन उनका आफन्त तथा शुभेच्छुक पनि प्रदेशसभा सचिवालय रहेको जिल्ला समन्वय समितीको परिसरमा पुगेका थिए।

को हुन थापा ? 
पहाडी जिल्ला बझाङको बिकट खप्तड छान्ना गाविस १ देहलीमा २०१० साल चैत २४ गते जन्मेका थापा पढाइमा अब्बल थिए । २०२८ सालमा उनले एसएलसी उत्तीर्ण गरे । त्यतिबेला गाउँ र गाविसभरि एसएलसी उत्तीर्ण गरेका न्यून हुने गर्थे। त्यसबेला शिक्षक पाउन मुस्किल हुन्थ्यो । एसएलसी उत्तपर्ण गर्नेवित्तिकै विद्यालयमा शिक्षकको भूमिका निर्वाह गर्ने जिम्मेवारी उनको काँधमा आयो । उनले खप्तड मावि, लामातोला मावि र दुर्गा भवानी माविमा २६ वर्ष अध्यापन गरे। २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संघ बझाङको सहसचिव भए । उनी शिक्षक संघको केन्द्रीय सदस्य पनि भए।

२०३६ सालको जनमत संग्रहका बेला बहुदलका पक्षमा प्रचारप्रसार गरे । २०४१ सालमा काठमाडाैँका कीर्तिपुर क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्न गए । क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटी हुँदै विभिन्न कमिटीमा बसेर राजनीतिमा सक्रिय भए । २०४७ सालमा नेकपा मालेको स्थापना हुदाँ उनी बझाङका संस्थापक सदस्य भए । २०६२ सालमा एमाले बझाङको सचिव २०६६ सालमा एमाले बझाङको पार्टीको अध्यक्ष भए।

उनी नेपाल बुद्धिजीवि  परिषद् बझाङको २०२७ सालमा अध्यक्ष  पनि भए । उनी एमालेमा यस प्रदेशका बौद्धिक नेता मानिन्छन् । उनले ‘विश्व कम्युनिष्ट आन्दोलनको एक झलक’ नामक पुस्तक लेखेका छन् । पुस्तकमा विश्व, नेपाल र बझाङको सन्दर्भ उल्लेख गरिएको छ । यसैगरी माक्र्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवाद पुस्तकमा लेखेका छन् ।

अहिले स्मरण समेटिएको तेस्रो पुस्तक लेखिरहेको र अन्तिम चरणमा पुगेको उनले बताएका छन् । उनले कीर्तीपुर क्याम्पसबाट भूगोल र अर्थशास्त्रमा स्नातक गरेका छन् । २०५६ सालमा पनि उनी प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए। यसपटक प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्रा जोशीलाई पराजित गरेर जियी भएका थिए। कसैको उम्मेदवारी नपरेर प्रदेशसभाको पहिलो ऐतिहासिक सभामुख हुने बाटो खुलेकाले निकै खुसी लागेको उनले बताए।

‘सभामुख हुने भएपछि धेरै खुसी लागेको छ,’ उनले भने ।  सभामुख चुनिएमा सो जिम्मेवारी कुशल ढंगले उनको भनाइ छ। ‘प्रदेशसभामा धेरै कानुन बनाउनु पर्ने छ । सभा सञ्चालन गर्नेलगायतका अन्य जिम्मेवारी सबैसँग समन्वय गरेर निर्वाह गर्छु।’

प्रकाशित: २८ माघ २०७४ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App