७ वैशाख २०८१ शुक्रबार
खेल

थ्री स्टार पाँचौ पटक च्याम्पियन

धरान – राष्ट्रिय खेलाडी एवं टिमका कप्तान बिक्रम लामाको खुट्टा भाँचिएको विस्मादपुर्ण खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १–० ले हराउदै रुस्लान थ्री स्टार क्लबले २० औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि जितेको छ।

धरान १६ स्थित प्रादेशिक रंगशालामा शनिबार सम्पन्न फाइनलमा पहिलो हाफको इञ्जुरी समयमा थ्री स्टारका अजय मार्टिनले गरेको गोल नै निर्णायक बन्यो। करिब २५ यार्डबाट रञ्जित धिमालको फ्रिकिक प्रहारलाई डिबक्समा रहेका मार्टिनले टच गर्दै जाली चुमाएका थिए। त्यसअघि, पहिलो हाफको २७ औं मिनेटमा पुलिसका तेज तामाङ र थ्री स्टारका बिक्रम लामा जुध्दा लामाको खुट्टा भाँचिएको थियो। उनलाई तत्काल एम्बुलेन्समा अस्पताल लगिएको थियो। सोही क्रममा विवाद चर्केर दुवै टोलीका खेलाडीबीच हात हालाहाल हुँदा खेल केहीबेर रोकियो भने अनुशासन उल्लंघन गरेका पुलिसका हेम तामाङ र थ्री स्टारका पिटर सेगुन रेड कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। दश खेलाडीमा सिमित दुवै टोलीको खेल रफ हुन पुगेको पहिलो हाफमा रेफ्री कविन ब्यञ्जनकारलले २ रेड कार्ड र ४ पहेलो कार्ड देखाएका थिए।

जितसँगै थ्री स्टारले गतसाता पोखरामा सम्पन्न १६ औं आरा रारा गोल्डकपको फाइनलमा पुलिससँगको हारको बदला पनि लिएको छ भने पुलिससँगै सर्वाधिक ५ पटक उपाधि जित्ने टोली पनि बनेको छ। थ्री स्टारले यसअघि बुढासुब्बामा सातौं, नवौं, ११ औं र १४ औं सँस्करणमा पनि च्याम्पियन बनेको थियो। उपविजेतामा सिमित बनेको पुलिसले पनि बुढासुब्बाको दोस्रो, चौथो, पाँचौं, १० औं र १९ औं सँस्करणमा उपाधि जितेको थियो। थ्री स्टारले जारी सिजनमा दोस्रो उपाधि उचालेको हो। यसअघि माघ पहिलो साता इटहरीमा सर्वाधिक पुरस्कार राशी १२ लाखको मदन भण्डारी गोल्डकप पनि जितेको थियो। बुढासुब्बामा च्याम्पियन बनेसँगै थ्री स्टारले च्याम्पियन ट्रफीसहित नगद ६ लाख हात पार्यो भने उपविजेता पुलिसले ३ लाखमा चित्त बुझायो।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोली शुरुदेखि नै आक्रामकरुपमा प्रस्तुत भएको थियो। पहिलो हाफको १४ औं मिनेटमा पुलिसको मिस पास हुदा पाएको वललाई थ्री स्टारका निराजन खड्काले गरेको प्रहारलाई गोलकिपर सत्रुघन चौधरीले बचाए भने १६ औं मिनेटमा निराजनको भलि प्रहारले पनि गोलपोष्टको दिसा लिएन। इञ्जुरी समयमा पुलिसका गोलकिपरले डिबक्स नजिक अजय मार्टिनलाई लडाएपछि पाएको फ्रिकिकमा रेजिन धिमालको प्रहार गोलपोष्ट नजिकबाट बाहिरिएको थियो। यस्तै, ५९ औं मिनेटमा अजय मार्टिनको प्रहार माथिल्लो बारमा ठोक्किएर फर्कदा थ्री स्टारले गोलअन्तर बढाउनबाट बञ्चित भएको थियो। ६८ औं र ८६ औं मिनेटमा अनन्त तामाङले हेडमार्फत गोल गर्ने प्रयास पनि सफल भएन।

पहिलो हाफमा दबाबमा खेलेको पुलिसले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि सफल भएन। पहिलो हाफको ७ मिनेटमा तेज तामाङको कर्नरमा दिनेश राजभण्डारीले डिबक्सबाट गरेको कडा प्रहार थ्री स्टारका बिक्रम लामाको जीउमा लागेर फर्किएको थियो भने ४९ आंै मिनेटमा सुमन लामाको पासमा रेजिन सुब्बाको प्रहारलाई पुलिसका गोलकिपर एलेन न्यौपानेले चलाखीपुर्ण तरिकाले खुट्टाले बाहिर फालेर खेल बराबरी हुनबाट जोगाए। यस्तै, ६५ औं मिनेटमा डिबक्सभित्र वल पाएर पनि रवि पासवानले प्रहार गर्न ढिलो हुदा पुलिसको मौका गुम्यो भने ७३ औं मिनेटमा सन्तोष हेमरनको प्रहार पनि बाहिरिएको थियो। ७७ औं मिनेटमा सुमन लामाको पासमा बुद्ध लामाको प्रहार फितलो हुदा पुलिस निराश बन्यो।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीहरुले मेहनत गरेर खेलेको र पोखराको हारको वदला लिएकोमा खुशी व्यक्त गरे। तर, कप्तान घाइते भएकोमा उनले दुःख प्रकट गरे। ‘खेलाडीहरुले धेरै मेहनत गरेर जित दिलाए, तर महत्वपूर्ण खेलाडीको खुट्टा भाँचिदा दुःख लागेको छ,’ उनले भने। पुलिसका प्रशिक्षक अनन्तराज थापाले पहिलो हाफमा रफ खेल भएको र राष्ट्रिय खेलाडीको खुट्टा भाँचिएको दुःखद घटनाले खेलाडीहरु अपसेट हुन पुगेको बताए। ‘त्यो घटनाले धेरै अपसेट बनायो, राष्ट्रिय खेलाडीको खुटा भाँचियो, ज्यादै नराम्रो भयो,’ उनले भने, ‘खेलाडीले रेडकार्ड पाएर १० जना भएपछि खेल बिग्रियो, तर दोस्रो हाफमा राम्रो खेलेर प्रयास गर्दा पनि स्कोर भएन।’

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै थ्री स्टारका निराजन खड्काले यामाहा मोटरसाइकल पाए भने ३ गोल गरेका उनले हाइ स्कोररको पुरस्कार नगद २५ हजार पनि थापे। पुुरस्कार थाप्न जादा उनले घाइते सहकर्मी बिक्रम लामाको जर्सी नं १२ लगाएर गएका थिए। ‘मेरो साथीको खुट्टा भाँचियो, उसैमा समर्पित यो पुरस्कार लिँदैछु,’ बिक्रमको जर्सी नम्बर देखाउँदै उनले भने।

फाइनलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता थ्री स्टारका अजय मार्टिन घोषित हुँदै नगद १० हजार थापे। वेष्ट गोलकिपर थ्री स्टारका एलेन न्यौपाने, वेष्ट डिफेन्स थ्री स्टाकार लावल ओलेकान, वेस्ट कोच थ्री स्टारका मेघराज केसी, वेष्ट मिडफिल्ड पुलिसका सुमन लामा, वेस्ट स्ट्राइकर पुलिसका रेजिन सुब्बा र उदयीमान खेलाडी घोषित हुँदै धरान फुटबल क्लबका रोमन लिम्बूले जनही नगद २५ हजार थापे  खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष किसोर राई, प्रमुख अतिथि एवं प्रदेश १ प्रमुख गोविन्द सुब्बा, प्रदेश सांसदद्धय प्रदिप भण्डारी, चन्द्रप्रसाद श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: २७ माघ २०७४ १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App