coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किमले बहिनीमार्फत दक्षिण कोरियाली राष्ट्रपतिलाई पठाएको पत्रमा के छ ?

सोल – उत्तर कोरियाली नेता किम जोंग उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई निमन्त्रणासहितको विशेष पत्र पठाएका छन्। सोलस्थित राष्ट्रपतिको कार्यालय ब्लु हाउसका प्रवक्ताले बताएअनुसार किमले विन्टर ओलम्पिकका लागि दक्षिण कोरिया भ्रमणमा रहेकी आफ्नी बहिनी किम यो जोंगमार्फत राष्ट्रपति इनलाई निमन्त्रणासहित सम्बन्ध सुधार्ने चाहेको सन्देश पत्र पठाएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार राष्ट्रपति इनसँग ब्लु हाउसमा भेटवार्ताका क्रममा किम यो जोंगले दाजुको पत्र हस्तान्तरण गरेकी छन्। पत्रमा प्योङयाङमा छिट्टै हुन लागेको तेस्रो अन्तर कोरियाली शिखर सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरिएको छ। किमले राष्ट्रपति मुनलाई ‘सकेसम्म छिटो’ प्योङयाङ आउन भनेका छन्।

प्योङयाङमा छिट्टै हुन लागेको अन्तर कोरियाली शिखर सम्मेलन तेस्रो हो। यसअघि किमका पिता तथा तत्कालिन नेता किम जोङ द्वित्तीयले सन् २००० मा तत्कालिन दक्षिण कोरियाली राष्ट्रपति किम दाई–जुङ र सन् २००७ मा रो मु ह्युनलाई प्योङयाङमा नै भेटेका थिए।

लामो समयपछि शनिबार दक्षिण कोरियाली राष्ट्रपतिसँग उत्तर कोरियाको संसदका प्रमुख तथा आलंकारिक राष्ट्रपति किम योङ नामको नेतृत्वमा हाल दक्षिण कोरियामा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले ब्लु हाउसमा भेट गरेको थियो। त्यसक्रममा उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनी किम यो जोङले आफ्ना दाजु तथा सर्वोच्च नेता किम जोङ उनको निमन्त्रणापत्र राष्ट्रपति मुनलाई हस्तान्तरण गरिन।

उत्तर कोरियाली प्रतिनिधिमण्डलमा सदस्यसमेत रहेकी जोङले हस्तान्तरण गरेको पत्रमा दुई कोरियाको सम्बन्ध सुधार्न चाहेको उल्लेख गरिएको दक्षिण कोरियाली राष्ट्रपति मुनका प्रवक्ता किम इउइ कीओनले जानकारी दिएका छन्। सर्वोच्च नेता किमले जाति सक्दो चाँडो राष्ट्रपति मुनलाई भेट्ने चाहना राखेको किमकी बहिनी जोङले सो अवसरमा जानकारी गराएकी थिइन्।

शीतकालीन ओलम्पिकका लागि दक्षिण कोरिया गएको उत्तर कोरियाको प्रतिनिधि मण्डलमा रहेकी जोङ सत्तारुढ दल वर्कर्स पार्टी कोरियाको केन्द्रीय समितिकी प्रथम उपनिर्देशक हुन्।

यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो। यस भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको यस भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको बताइएको यहाँका स्थनीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमले जनाएका छन्।

सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट यो स्तरका प्रतिनिधि दक्षिण कोरिया पुगेका समाचारमा जनाइएको छ।

उक्त प्रतिनिधिमण्डल दक्षिण कोरियामा सुरु भएको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुगेको हो। टोली आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

उत्तर भ्रमणबारे अमेरिकासँग परामर्श गर्ने

निम्तालाई राष्ट्रपति मुनले तत्कालै स्वीकार भने गरेका छैनन्। उत्तरको निम्तालाई दक्षिणले लामो समयदेखि सैन्य सहयोग दिँदै आएको अमेरिकाको राय नबुझिकन स्वीकार्नेस्थिति नै छैन।

गत बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा नेता किमबीच चेतावनीपूर्ण तथा एक आपसमा अनादर झल्काउने खालका श्रृङ्खलावद्ध भनाईहरू आएका थिए।

प्रकाशित: २७ माघ २०७४ १४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App