८ वैशाख २०८१ शनिबार
अर्थ

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

पुरुषोत्तम सुवेदी
नवलपरासी – भगवान गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु १ अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ।

पर्यटन प्रवद्र्धनको क्षेत्रमा चीनले गर्न लागेको लगानी नेपालका सबै स्थानीय तहमध्ये यहाँ सबैभन्दा बढी रहेको रामग्राम नगरपालिकाले जनाएको छ । भगवान् गौतमबुद्धको सातवटा स्थानमा अष्टधातु रहेकामध्ये रामग्राम स्तूप मात्र सिंगो अष्टधातु रहेको स्थल मानिन्छ।

चीनले ठूलो आर्थिक लगानी गरेर निर्माणको काम अघि बढाएपछि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ । रामग्राम स्तूप आसपासमा चिनियाँ सरकारबाट आर्थिक लगानी गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भइसकेको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए।

“सम्पूर्ण लगानी चीन सरकारले गर्नेछ, भौतिक संरचना निमार्णका लागि रामग्राम नगरपालिकाले रामग्राम स्तूप आसपासका क्षेत्रमा जग्गा उपलब्ध गराउने छ । नगरपालिकाले पर्यटन गुरुयोजना तयार गर्ने काम शुरु गरिसकेको छ,” उनले भने । चीनको सरकारी स्वामित्वमा रहेको चीन–नेपाल सांस्कृतिक केन्द्र र रामग्राम नगपालिकाबीच दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षरसँगै काम शुरु गरिएको गुप्ताले बताए।

चीनको बेइजिङस्थित बाउची शहरको समन्वयमा तथा रामग्राम नगरपालिकाको सहकार्यमा रामग्राम स्तूपको सेरोफेरोमा पर्यटकीयस्थल निर्माणका लागि सहमति भएको हो । रामग्राम स्तूपको मुख्यबाहेक अन्य क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना निर्माण अघि बढाइएको नगरपालिकाकी उपप्रमुख रम्भा कुँवरले बताइन । सो क्षेत्रमा पर्यटकीय संरचना तयार भएपछि आगामी सम्झौताअनुसार सो पर्यटकीय क्षेत्रको आम्दानीलाई रामग्राम नगरपालिका र चीन– नेपाल सांस्कृतिक केन्द्रको संस्थागत पर्यटकीय क्षेत्रको विकासमा लगानी गरिनेछ।

स्तूपको मुख्यवाहेक अन्य आसपासका क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न पार्क, भ्यू टावर, वाटर फाउण्डेसन तथा मल्टिप्रयोगका संरचना निर्माण गर्ने योजना रहेको नगरपालिकाका इञ्जिनियर शतिसकुमार गुप्ताले जानकारी दिए । भ्रमणका क्रममा एक साताअघि चीन पुगेको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता नेतृत्वको टोलीसँग बाउची शहरका प्रमुख मिस्टर माँ र अन्तर्रा्ष्ट्रिय विभाग प्रमुख वाङ कोनले पर्यटकीयस्थल निर्माणका विषयमा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

“चिनियाँ सरकारले नेपालमा पर्यटकीय क्षेत्रमा यस्तो ठूलो लगानी गर्नु सकारात्मक कुरा हो,”यस क्षेत्रबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले बताए । चीन सरकारले नेपालको पर्यटन प्रवद्र्धनमा आगामी दिनमा थप लगानी गर्ने उनले विश्वास व्यक्त गरे।  (रासस)

प्रकाशित: २७ माघ २०७४ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App