coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीको ‘हिडौं साथ–साथ’ कार्यक्रम (फोटो/भिडियो)

काठमाडौं – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको २६ औं वार्षिकोत्सवको अवसरमा ‘हिडौं साथ–साथ’ कार्यक्रम आयोजना गरिएको छ। पुनर्मिलन, भातृत्व र सहकार्यको भावसहित आयोजित ‘हिडौं साथ–साथ’ कार्यक्रम प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो।

कार्यक्रमको शुभारम्भ आइजीपी अर्याल र पूर्व आइजीपी तथा प्रतिष्ठानका पूर्व समादेशक हेमबहादुर सिंहद्वारा बेलुनमा बाँधिएको ‘हिडौं साथ साथ’ लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर गरिएको थियो।

सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी देबेन्द्र सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरीको विगत, वर्तमान र भविष्य सक्रिय बनाउन सबैले साथसाथ हिँड्नुपर्ने बताए।

पूर्व प्रहरी महानिरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी, प्रतिष्ठानका कर्मचारीहरु, तथा उन्नत तालिमका प्रशिक्षार्थीहरुको सहभागितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सुरु भएको ‘हिडौं साथ–साथ’ कार्यक्रम बालुवाटार, नक्साल, नागपोखरी, नारायणहिटी संग्रहालय उत्तरढोका, लाजिम्पाट हुँदै पुनः प्रतिष्ठान पुगेर समापन भयो।

कार्यक्रम समापन गर्दै प्रतिष्ठानका पूर्व समादेशक सिंहले प्रहरी अधिकृतहरुमा सामूहिक तथा भाइचाराको भावना विकास गर्ने यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागीमध्ये जेष्ठ सदस्य समेत रहेका सिंहलाई प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी सुवेदीले मायाको चिनो प्रदान गरे। साथै सहभागीलाई धन्यवाद समेत ज्ञापन गरे।

उक्त प्रतिष्ठानबाट पेशागत तालिम प्राप्त गरी विभिन्न समयमा दीक्षित भई व्यावसायिक जीवनको विभिन्न तह र तप्कामा पुगेका प्रहरी अधिकृतहरु र सेवानिवृत्त प्रहरी अधिकृतहरु बीचमा बन्धुत्वभाव जगाउँदै समन्वय र सहकार्य सदैव कायम राखी ‘हामी सँगै थियौं, छौं र रहनेछौं’ भन्ने भावना प्रगाढ बनाउन उक्त कार्यक्रमको आयोजना गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

फोटो/भिडियो : दिपेन्द्र रोक्का

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App