८ वैशाख २०८१ शनिबार
अन्य

‘ग्रिटिङ्स’ कार्डबाट पोखिन्छ माया

काठमाडौंको नयाँ बानेश्वरस्थित युकिज गिफ्ट पसलमा भेटिएकी बसुन्धरा पौडेलको हातमा आर्कषक ग्रिटिङ्स कार्ड थियो । बुट्टाले भरिएको सो रंगिन कार्डको मूल्य पाँच सय रूपैयाँ थियो । कार्डको दायाँपट्टि रातो र ठूला अक्षरमा लेखिएको थियो, ‘विल यु वी माइन फरएफर’। 

आफ्नो नजिकको मान्छेलाई भ्यालेन्टाइन डेको शुभकामना दिन कार्ड किनेको उनले सुनाइन्। ‘यसरी कार्ड दिएर शुभकामना दिने जमाना हराउन थाले,’ उनले भनिन्, ‘मलाई सोलस मिडियामा शुभकामना दिनुभन्दा ग्रिटिङ्स कार्ड दिनु नै राम्रो लाग्छ।’ 

कसैलाई शुभकामना दिनुपर्‍यो भने यसरी नै कार्डमार्फत दिने गरेको उनी बताउँछिन्। ‘यसरी कार्ड नै किनेर दिनुको मज्जा नै बेग्लै हुन्छ,’ उनले थपिन्, ‘फिका अक्षरभन्दा रंगिन कार्ड नै राम्रो मानिन्छ, यसरी दिँदा त्यसको भ्यालु पनि फरक हुन्छ।’

आफूलाई मनपर्ने प्रेमी–प्रेमिकाका निम्ति प्रेमको लाली भरिएका मायारूपी र अनेकौं सन्देश भरिएका ग्रिटिङ कार्ड र विसिङ कार्ड किन्नेहरूको चहलपहल उस्तै छ । उपत्यकाका धेरैजसो पसलहरूमा माया पोख्ने ग्रिटिङ कार्ड किन्नेहरूको बाक्लो उपस्थिति देखिन्छ।

काठमाडौंको दरबारमार्गस्थित न्यु आर्किज गिफ्ट पसलमा भेटिएकी आशिका शिवाकोटीको हातमा पनि त्यस्तैखाले  ग्रिटिङ्स कार्ड समाइकी थिइन् । उनले समातेको कार्डमा लेखिएको थियो, ‘ह्वेन आइएम विथ यु आइ फिल वी आर द लक्की पर्सन’। 

उनी कसैलाई शुभकामना र चिनो दिनुप¥यो भने प्रायः यस्तैखाले सन्देश लेखिएका कार्डहरू किन्ने गर्छिन् । यसरी कार्ड किनेर शुभकामना दिँदा रमाइलो र इज्जत रहने उनको अनुभव छ । ‘कार्ड भन्दा पनि कार्डमा लेखिएका शब्द गहिरा हुन्छन्,’ उनले भनिन्, ‘बुट्टा भरिएको सेतो र रातो रङको कार्ड मैले रोजेकी छु ।’ उनले भ्यालेन्टाइनमा आफ्नो नजिकको साथीलाई शुभकामना दिन कार्ड किनेको सुनाइन् । ‘हामीले कसैलाई सम्झनु र शुभकामना दिनु छ भने त्यसको भाव पनि गहिरो रहोस् न !,’ उनले भनिन्, ‘अहिले त सामाजिक सञ्जालले माया सजिलो र सस्तो बनाएको छ।’ 

कुनै लामो पर्व वा उत्सव जस्तै मायाका विभिन्न रङहरू छर्दै आइपुगेको भ्यालेनटाइन डेलाई पछ्याउँदै नयाँ पुस्ता सेलिबे्रटमा मस्त देखिन्छन् । सहरका कफी क्याफे, पार्लर, गिफ्ट पसल, रेस्टुराँ, आइसक्रिम सप, पार्क, सपिङ मल, फुड भिलेजलगायत ठाउँमा देखिएको दृश्य र माहोलले पनि भ्यालेन्टाइन डेलाई पर्खिरहेको अनुमान गर्न सकिन्छ । 
रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे पार गरेर आइपुग्ने भ्यालेनटाइन डे उनीहरूको निम्ति माया साट्ने उत्सव पनि हो । यो उत्सवमा आफूलाई मनपर्ने प्रेमी–प्रेमिकाको निम्ति प्रेमको लाली भरिएका मायारूपी र अनेकौं सन्देश भरिएका ग्रिटिङ कार्ड र विसिङ कार्ड किन्नेहरूको चहलपहल उस्तै छ । उपत्यकाका धेरैजसो पसलहरूमा माया पोख्ने ग्रिटिङ कार्ड किन्नेहरूको बाक्लो उपस्थिति देखिन्छ । अरुबेला खासै बिक्री नहुने विसिङ र ग्रिटिङ्स कार्ड यो सिजनमा खोसाखोस हुने व्यवसायीहरू बताउँछन् । अरु समयभन्दा भ्यालेनटाइन्सको बेला सबैभन्दा बढी ग्रिटिङ्स कार्ड बिक्री हुने गरेको नयाँ बानेश्वरमा ग्यालरी गिफ्ट सञ्चालन गर्दै आएका उत्तमराज खड्का बताउँछन् । उनका अनुसार बजारमा अहिले ५० रूपैयाँदैखि १५ सयसम्मका विसिङ र ग्रिटिङ्स कार्डहरू पाइन्छ । ती कार्डको साइज र कलर पनि फरक हुन्छ । भ्यालेन्टाइनको बेला ‘आइ ल यु’, ‘आइ वान्ट अस टु लास्ट’, ‘विल यु वी माइन फरएभर’, ‘ह्वेन आइएम विथ यु आइ फिल वी आर द लक्की पर्सन’जस्ता वाक्य कोरिएका कार्डहरू बढी बिक्री हुने गरेको खड्काको भनाई छ । ‘अहिले बजारमा ५० रूपैयाँदेखि १२ सयसम्मका ग्रिटिङ्स र विसिङ कार्ड पाइन्छ,’ उनले भने, ‘कतिपयले थाङकाका रूपमा महँगा कार्डहरू पनि पेन्टिङ गर्न दिन्छन्।’ 

उनले सामाजिक सञ्जालले गर्दा पहिलेजस्तो कार्ड किनेर शुभकामना दिने चलन हराउँदै गएको बताए । ‘पछिल्लो दुई वर्षयता कार्ड किनेर शुभकामना दिनेहरू बढी छन्,’ उनले सुनाए, ‘पहिले कतिपयले सुनले बनाइएका कार्डहरू पनि दिने गर्थे, अहिले यस्तो परम्परा हटेको छ । जसलाई जे सजिलो लाग्छ त्यही उपहार दिन्छन्।’ 

दरबारमार्गमा गिफ्ट पसल सञ्चालन गर्दै आएका सुदर्शन थापाले पनि भ्यालेन्टाइनको बेला विभिन्न मायारूपी शुभकामना लेखिएका ग्रिटिङ्स कार्डहरू बढी बिक्री हुने गरेको बताए । ‘कलेज पढ्नेहरूलाई कार्डबाटै शुभकामना दिन रहर हुँदो रहेछ,’ उनले सुनाए, ‘अहिलेका नयाँ पुस्ताले भ्यालेनटाइन्सलाई धेरै मान्न थालेका छन् ।’ उनका अनुसार हिजोआज मायारूपी शब्द र शुभकामना लेखिएका दैनिक सयभन्दा बढी कार्डहरू बिक्री हुने गरेका छन् । ‘कार्ड किनेर आफ्नो मान्छेलाई सम्झनेहरूको संख्या बढेको छ,’ थापाले भने, ‘नयाँ पिँढीहरू त झन् महँगा गिफ्ट उपहार दिएर भ्यालेन्टाइन मनाउँछन्।’ 

अनलाइनबाट मगाइन्छ गिफ्ट
प्रविधिको फड्कोसँगै अनलाई सपिङ गर्ने परम्परा बढेको छ । छिटो र सजिलो हुने हुँदा अनलाइन सपिङ गर्ने परम्परा बढेको हो। अनलाइनमार्फत् आफन्त वा आफ्नो पे्रमी–पे्रमिकालाई गिफ्ट वा अन्य सामान पठाउन सकिने व्यवसायी खड्काले बताए। उनले भ्यालेन्टाइनका बेला प्रेमी–प्रेमिकाहरूले अनलाइनबाटै गिफ्ट आदान–प्रदान गर्ने बताए । ‘अनलाइन सपिङले धेरै सजिलो बनाएको छ,’ उनले भने, ‘आफू पुग्न सम्भव नभएको ठाउँको सामान चाहिएमा धेरैले अनलाइन सपिङको बाटो नै अपनाउँछन्।’ 

प्रकाशित: २७ माघ २०७४ ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App