coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मन्दिरमा फुल्छ प्रेम

मन्दिर पूजापाठ गर्ने ठाउँ हो, माया साट्ने होइन भन्ने मान्यता छ । तर, कतिपय मन्दिरमा कुँदिएका प्रेम र यौन झल्कने कला देख्दा लाग्छ– मन्दिर परिसरमा प्रेमी–प्रेमिकालाई घुम्न छुट छ। 

यसैले होला, उपत्यकाका सबै मन्दिरतिर जोडीहरूको हुल देख्न पाइन्छ । साँझपख कतिपय मन्दिर पुग्दा जोडीहरू अँगालोमा बाँधिएर प्रेम साटिरहेका देखिन्छन् । कसैले डिस्टर्ब नगर्ने एकान्त ठाउँ खोज्दै प्रेमालाप गर्न हिँडेका जोडीको प्रेम फुलाउने ठाउँ बनिदिन्छ, मन्दिर। 

बाटोमा उभिएर गफिनुभन्दा अँगालोमा बेरिएर गफिँदा छुट्टै आनन्द आउने अनुभव सुन्दरको छ। ‘मन्दिर परिसरमा गएर धेरै आनन्द लिन पनि खोज्नु हुँदैन,’ उनले सुनाए, ‘मामा (पुलिस)को डर हुन्छ।’

‘उपत्यकामा आफ्नी प्रेमिकासँग रमाउने ठाउँ नै छैन,’ जोरपाटीका सुन्दर श्रेष्ठ अनुभव सुनाउँछन्, ‘बाटोमा हिँड्दै जाँदा मन्दिर भेटिन्छ, त्यही ठाउँ पे्रमका कुरा गर्ने विकल्प बनिदिन्छ ।’ उनी धेरैपटक जोरपाटीको चामुण्डा मन्दिर परिसर गलफ्रेन्डसँग प्रेमालाप गर्न पुगेका छन् । मन्दिर परिसरको कुनै कुनामा बसेर खुलेर प्रेमालाप त गर्न पाउँदैनन् । बाटोमा उभिएर गफिनुभन्दा अँगालोमा बेरिएर गफिँदा छुट्टै आनन्द आउने अनुभव सुन्दरको छ । ‘मन्दिर परिसरमा गएर धेरै आनन्द लिन पनि खोज्नु हुँदैन,’ उनले सुनाए, ‘मामा (पुलिस)को डर हुन्छ।’

उनी मात्रै होइन, आजकाल धेरै प्रेमिल जोडीका लागि प्रेम फुलाउने ठाउँ मन्दिर नै बनेको छ । भनिन्छ, प्रेमको सीमा हुँदैन । माया गर्नलाई उमेरले छेक्दैन, जातले रोक्दैन, सुन्दरताले असर पार्दैन। तर, ठाउँले भने पक्कै असर गर्छ । त्यसैले त जोडीहरू प्रेमालाप गर्ने ठाउँ खोज्दै मन्दिर परिसर पुग्छन्।

‘विवाह गर्दा पनि त भगवान्लाई साक्षी राखेर गरिन्छ नि,’ नाम नबताउने सर्तमा पशुपतिनाथमा भेटिएकी एक युवतीले भनिन्, ‘त्यही भएर प्रेमका कुरा गर्न पनि मन्दिर परिसर आएका हौँ ।’ अविवाहित जोडीहरू मन्दिरमा सँगै जानु हुँदैन भन्ने मिथक छ । यसैले उनीहरू पशुपतिनाथमा माया साट्न आउँदै मन्दिरको दर्शन गर्न जाँदैनन् । ‘सँगै मन्दिर जाँदा छुट्छ रे,’ ती युवतीले सुनाइन्, ‘सँगै जिउने कसम खाएर माया साट्न आएका छौँ, छुट्छ भन्ने सुन्दासुन्दै दर्शनचाहिँ किन गर्नुपर्‍यो र ?’

प्रेम साट्न मन्दिर परिसर ठीकै लाग्छ, रमेश कार्कीलाई पनि । ‘प्रेममा अनेकौँ वाचा गर्नुपर्छ,’ कार्कीले अनुभव सुनाए, ‘मन्दिर परिसरमा हुँदा भगवान्को नाम जप्दै वाचा गरे मायामा विश्वास बढाउँछ ।’ तर, जोडीहरू विश्वास बढाउन मात्रै मन्दिरमा प्रेमालाप गर्न जाँदैनन् । यो उनीहरूको बाध्यता पनि हो । उपत्यकामा पे्रम गर्ने ठाउँ छैनन्। रेस्टुरेन्टमा गएर घन्टौैँ गफिन आर्थिक हैसियतले सम्भव नहुन सक्छ । बाटोमा बसेर गफ गर्दा समाजको डर। यी यावत समस्याले गर्दा मन्दिर उपयुक्त हुने प्रेम गर्ने जोडीहरू नै बताउँछन्।

‘मन्दिरतिर जाँदा गल्फ्रेन्डलाई पनि सहज वातावरण हुन्छ,’ अफेअरमा रहेका कार्कीले भने, ‘विवाहअघि शारीरिक सम्बन्ध राख्न नचाहनेले मन्दिर परिसर सुरक्षित हुने ठान्छन् ।’ उनका अनुसार त्यसैले भर्खर प्रेमको फूल फुलाउनेका लागि मन्दिर उपयुक्त हुने गर्छ। 

मन्दिरमा डेट जानुको अर्को कारणचाहिँ घरनजिकै हुनु पनि हो । ‘प्रेमालाप गर्ने थोरै समय हुन्छ,’ पशुपतिनाथमा भेटिएकी ती युवतीले भनिन्, ‘नजिकै अन्यन्त्र जाने ठाउँ हुँदैन, कता जाउँभन्दा मन्दिर विकल्प बनिदिन्छ ।’ उनका अनुसार मन्दिर जाने बहाना बनाएर घरबाट निस्कन पनि सजिलो हुने र फोटो खिचेर फेसबुकमा हालेपछि घरमा पनि पत्याउने कारण मन्दिर उपयुक्त हुन्छ।

फेब्रुअरीलाई जोडीले प्रेमिल महिनाका रूपमा लिन्छन् । भ्यालेन्टाइन डे पनि यही महिनामा पर्ने हुनाले प्रेमले चर्चा पाउने गर्छ । एक साता अघिदेखि नै रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे मनाउँदै फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । ‘प्रणय दिवस मनाउन त जोडी चाहिन्छ,’ विमला दंगाल (नाम परिवर्तन) भन्छिन्, ‘तर, खै र जोडी बनाउने वातावरण ।’ समाजमा प्रेमिल वातावरण र ठाउँहरू नभएको चिन्ता लाग्छ, विमलालाई । कतै पार्क वा मन्दिरतिर ठुल्ठूला अक्षरमा ‘प्रेम गर्न मनाही छ’ लेखिएका बोर्ड देख्दा होस् वा कतै पुलिसले गरेका कडा निगरानी केही मनपर्दैन उनलाई । ‘यो संस्कार ठीक भएन,’ उनले भनिन्, ‘प्रेम गर्ने ठाउँ पनि नहुने, अनि जोडीहरूले ठाउँ खोजेर प्रेम गर्दा पनि डाह किन ?’ बाटोमा हात समातेर हिँड्दा, अंकमाल वा चुम्बन गर्दा सामाजिक संस्कार बिगारेको ठहरिन्छ । यो समाज ढोंगी र परम्परावादी नै रहिरहनुको परिणाम रहेको विमलाको अनुमान छ । उनको विचारमा प्रेम दबाउने चिज होइन । ‘प्रेम त देखाएर गर्ने चिज हो,’ विमलाले आक्रोश पोखिन्, ‘समाजले देख्न चाहँदैन, भगवान्ले केही भन्दैनन्, त्यसैले मान्छेहरू प्रेम साट्न मन्दिर धाउँछन्।’ 

समाजमा प्रेम गर्नेलाई चरित्रसँग जोडेर बदनाम गरिन्छ । ‘समाजमा चोखो बन्न पनि प्रेम गर्नेहरू मन्दिर धाउँछन्,’ विमलाले सुनाइन्, ‘मन्दिरमा कसैसँग हिँडेको देख्दा केही भन्दैनन्, बाटोमा कसैसँग देख्यो भने फलानी छोरी त केटासँग लठारिँदै थिई भनेर कुरा काट्छन् ।’ प्रेमविनाको संसार कुरूप, दुःखी र उजाड हुने हुँदा भगवान्ले जसरी नै समाजले प्रेमलाई स्वीकार गर्नुपर्ने उनको बुझाइ छ । सरकारले समेत प्रेम गर्नेलाई वातावरण बनाइदिनुपर्ने उनी बताउँछिन् ।

प्रकाशित: २७ माघ २०७४ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App