coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

युवापिँढीमा राजनीतिक वितृष्णा

भर्खरै प्रवेशिका परीक्षा उत्तीर्ण गरेका किशोर–किशोरीको सबैभन्दा अरूचिको विषय ‘राजनीति’ रहेको देखिएको छ । अब्बल नतिजा ल्याउन सक्ने प्रतिभाशाली वर्ग नै राजनीतिमा लाग्न नचाहनुले देशको राजनीतिक भविष्य अन्धकारतर्फ लम्किरहेको प्रतीत हुन्छ । सफलता प्राप्त गर्ने हरेक विद्यार्थीले कुनै न कुनै रूपमा आफ्नो भविष्यप्रति केही सोच बनाएका हुन्छन् । कसरी हुन्छ सुरक्षित भविष्य बनाउने तिनको चाहना हुन्छ । उच्च नतिजा ल्याउने टिनएजर यी विद्यार्थीमध्ये अधिकांशको रोजाइमा डाक्टर, इन्जिनियर, पाइलट, वकिल, बैंकर, शिक्षक वा अन्य कमाउन सकिने विषय परेका छन् । तर, कोही पनि राजनीतिमा लाग्छु भन्ने भेटिँदैनन् । यसले देशको राजनीतिप्रति युवावर्गको चरम वितृष्णा रहेको बुझाउँछ । देशमा आजका मितिसम्म कुनै पनि दल वा निर्दलबाटै पनि ‘रोलमोडल’ नेता बन्न नसक्नु दुर्भाग्य नै मान्नुपर्छ । यो देशमा अहिले सवा सयभन्दा बढी राजनीतिक दल छन्, त्यसमा आवद्ध हजारौँ नेता सक्रिय राजनीतिमा गरिरहेका छन् । वर्तमान सरकारमा चार दर्जनजति मन्त्री छन् । दोस्रो जनआन्दोलनपछि जनताका छोरा–छोरी नै राष्ट्रपति–उपराष्ट्रपति बन्न पाएका छन्, तर पनि जनप्रिय एक जना नदेखिनुले देशको राजनीतिले पक्रेको दिशा गलत रहेको बुझ्न सकिन्छ । केन्द्रीय तहमा मात्र होइन गाउँतहमा पनि रोलमोडल नेता नदेखिनु उदेकलाग्दो तथ्य हुन पुगेको छ ।
वास्तवमा राजनीतिले जोकोहीलाई पनि छोटो समयमै ‘नेम’ र ‘फेम’ दिन सक्छ । तर पनि युवालाई यो क्षेत्रमा चासो छैन, किन ? किनकि, तिनले कलिलो उमेरदेखि नै सबैतिर राजनीतिकर्मी, दल तथा मन्त्रीहरूको आलोचनामात्रै सुन्दै आएका छन् । नेता भन्नेबित्तिकै तिनका दिमागमा भ्रष्ट, खराब, अनपढ, मुर्ख, हुल्याहा–छुल्याहा, नियम–कानुन मिच्ने व्यक्तिको तस्बिर उत्पन्न हुन्छ । यसकारण पनि तिनले राजनीतिकर्मीप्रति आदरभाव राख्दैनन् । आफ्नै मनमा आदरभाव नहुने क्षेत्रमा लाग्न नचाहनु अस्वाभाविक पनि भएन । देशले राजनीतिक प्रणाली सुधारेर जनमुखी बनाउनकै निम्ति विभिन्नखालको आन्दोलन पटक पटक बेहोरिसकेको छ । संसारमा आन्दोलनले नै नेता जन्माउने हो । नेपालमा पनि विभिन्न आन्दोलनले आशालाग्दा नेता नजन्माएको होइन । २००७ साल, २०३६, २०४६ तथा २०६३ सालको आन्दोलनले कतिपय नेता जन्माएको छ । तर, ती नेता जब सत्ताको सिँढी चढेर उचाईंमा पुगे, तिनको लोकप्रियतामा क्रमशः गिरावट आउन थाल्यो । र, अन्त्यमा ती पुरानै तथा काम नलाग्ने राजनीतिक जमातमा मिसिन पुगे । यो देशले आजसम्म पनि ‘राजनेता’ पाउन सकेन । यस्सो झुक्किएर एक–दुई जना ‘राजनीतिज्ञ’को तहसम्म पुगे पनि ती पछि गएर राजनीतिकर्मीमा खुम्चिन पुगे । संसार हल्लाउने र आफ्नो मुलुकलाई समृद्धिको बाटोमा डो¥याउने हैसियत राजनेतामा मात्र हुन्छ । हाम्रो देशमा हज्जारौँ राजनीतिकर्मी त जन्मिए, तर तिनले आफूलाई उचालेर राजनीतिज्ञको तहमा पनि पु¥याउन सकेनन् । परिणाम, देश प्रशस्त साधन–स्रोत हुँदाहुँदै पनि गरिबतम मुलुक बन्न पुग्यो ।  
पछिल्लो समय जनतामा राजनीतिक चासो भने निकै बढेको छ । हरेकखालका निर्वाचनमा खस्ने ८० प्रतिशत हाराहारीको मतले पनि यसलाई पुष्टि गर्छ । घरघरमा–टोलटोलमा राजनीतिक विषयमा चर्चा हुन्छ । मान्छेहरू आफ्ना कामै छाडेर राजनीतिक गफमा समय बिताउन मन पराउँछन् । तर, यस्ता चर्चा अधिकांशतः नकारात्मक मात्रै हुन्छन् । समग्र राजनीतिमा भ्रष्टाचार तथा विकृति मौलाएकाले यसप्रति युवावर्गको अरूचि बढेको हो । तथापि, यो देशलाई समृद्ध पार्न सक्ने क्षेत्र भनेको राजनीति नै हो । राजनीतिक इच्छाशक्तिबिना जनताको जीवनस्तर सुध्रन सक्दैन न त देशले नै कोल्टे फेर्न सक्छ । यस्तो इच्छाशक्ति भएको नेता नहुनु दुर्भाग्य नै हो । पुराना वा स्थापित नेताले देशलाई अग्रगामी विकासको दिशामा लैजान सकेनन् । तिनले आफ्नो सत्ता टिकाउने वा कुर्सीमा टाँस्सिरहने जुक्तिमात्र खोजे । देश र जनतालाई समृद्ध पार्ने योजनामा तिनले बिल्कुलै ध्यान दिएनन् । यस्तो परिस्थितिमा नयाँ पुस्ता अगाडि नआउने हो भने यो देश असफल राष्ट्र बन्ने खतरा पनि उत्तिकै छ । यसकारण पनि युवापिँढीले राजनीतिलाई गालीमात्र गर्ने र त्यसबाट आफू टाढा भाग्ने काम गर्नु हुँदैन । राजनीतिलाई सङ्लो पार्न र देशको मुहार फेर्न अब युवावर्ग अगाडि नबढी धरै छैन । राजनीतिलाई आलोचना गरेरमात्र युवापिँढीको दायित्व पूरा हुँदैन, त्यसलाई कसरी सपार्ने भन्ने कुरामा पनि समयले तिनको प्रत्यक्ष सहभागिता खोजिरहेको छ ।    

 

प्रकाशित: ७ असार २०७३ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App