७ वैशाख २०८१ शुक्रबार
समाज

तयार हुँदै गद्दी बैठक

काष्ठमण्डप– भूकम्पले क्षति पुर्‍याएको वसन्तपुरस्थित गद्दी बैठक भवनको प्रबलीकरण भइरहेको छ। हालसम्म प्रबलीकरणको ६० प्रतिशत काम सम्पन भइसकेको छ। 

वसन्तपुर क्षेत्रका काष्ठमण्डप, माजुदेगललगायत ऐतिहासिक सम्पदाको पुनर्निर्माण सुरु हुन सकेको छैन। तर, गद्दी बैककको प्रबलीकरण भने धमाधम भइरहेको छ।

२०औँ शताब्दीको सुरुमा निर्मित गद्दी बैठक अमेरिकी परियोजना ‘मियामोटो ग्लोबल डिजास्टर रिलिफ’ अन्तर्गतको ‘मियामोटो फाउन्डेसन’ले प्रबलीकरण गरिरहेको छ । फाउन्डेसनका परियोजना प्रमुख मुकुन्द विष्टका अनुसार गद्दी बैठक प्रबलीकरण चाँडै सम्पन्न हुनेछ। 

‘हामीले आवश्यक दक्ष कामदार खटाएर काम गरिरहेका छौँ,’ उनले भने, ‘आउँदो जुनमा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’ उनका अनुसार सुरुमा अध्ययन, अनुसन्धानमा धेरै समय खर्च भयो । कार्य क्षेत्रमा काम थालेपछि भने धमाधम काम भइरहेको छ । हाल कार्य क्षेत्रमा पाँच इन्जिनियर, १० दक्ष र १४ अन्य कामदार खटिएका छन्। 

‘हामीले पहिलेको जस्तै स्वरूपमा मात्रै नभएर भूकम्पीय जोखिमलाई पनि मध्यनजर गरी प्रबलीकरण गरिरहेका छौँ,’ विष्टले भने, ‘सम्पदा क्षेत्र भएकाले पुराताŒिवक सामग्रीबाट प्रबलीकरण गर्न धेरै चुनौती हुँदोरहेछ ।’ गद्दी बैठक पुरातत्त्व विभागको प्रत्यक्ष निगरानीमा प्रबलीकरण भइरहेको विभागका प्रवक्त राम कुँवरले जानकारी दिए।

गद्दी बैठक विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको महत्त्वपूर्ण सम्पदा मानिन्छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको बेलायत भ्रमणपछि बेलायती वास्तुशैलीमा सन् १९०८ मा यसको निर्माण गरिएको थियो । यहाँ पञ्चायतकालसम्म राजकीय कूटनीतिक भेटघाट गर्ने चलन थियो। 

राजपरिवार हनुमानढोकामा रहँदा ओहोदाको प्रमाणपत्र दिन र विशेष समारोहका लागि बैठकलाई प्रयोग गरिन्थ्यो। राजपरिवार नारायणहिटी बस्न थालेपछि इन्द्रजात्राका अवसरमा तत्कालीन राजाबाट जीवितदेवी कुमारीलाई रथमा दर्शन गर्ने, प्रधानमन्त्रीदेखि कूटनीतिक नियोगका प्रमुखलाई भेट गर्ने कक्षका रूपमा पनि यो बैठक प्रयोग हुन्थ्यो। 

भूकम्पमा क्षति पुगेपछि अमेरिकाको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी सहायक विदेशमन्त्री एभन रायनले सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसिपी) कार्यक्रमअन्तर्गत गद्दी बैठक जीर्णोद्धार गर्न सात लाख अमेरिकी डलर सहयोगको घोषणा गरेकी थिइन् । सोही रकमबाट आउँदो जुनसम्म तयार हुने गरी प्रबलीकरण सुरु गरिएको थियो। 

प्रकाशित: २६ माघ २०७४ ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App