८ वैशाख २०८१ शनिबार
समाज

ह्यारीको त्यो सन्देश

व्यासीस्थित शिविरमा राजकुमार ह्यारीलगायत । तस्बिर : उपेन्द्र

‘भविष्यको भ्रमणमा मैले उनलाई प्रधानमन्त्रीका रूपमा देखे भने अचम्भित हुनेछैन,’ करिब दुई वर्षअघि बेलायती राजकुमार ह्यारीले राजधानीको एक कार्यक्रममा भनेका थिए, ‘किप एन आई आउट फर हिम ।’ 

नेपालमा प्रधानमन्त्री बनाउने र हटाउने खेलमा विदेशी हस्तक्षेप देख्ने धेरै नेपालीले बेलायती राजकुमारको त्यो अभिव्यक्तिलाई भने वास्तै गरेनन् । न सञ्चारमाध्यमले नै त्यसलाई पछ्याए। 

ह्यारीको अभिव्यक्तिलाई नेपालीले खासै महत्त्व नदिनुको कारण थियो, उनले कुनै चर्चित नेतालाई भविष्यको प्रधानमन्त्रीका रूपमा चित्रण गरिरहेका थिएनन् । ह्यारीले भविष्यको प्रधानमन्त्री देखेका थिए, भक्तपुर व्यासीका किशोर पुरुषोत्तम सुवाल (१६) लाई।

नेपालमा प्रधानमन्त्री बनाउने र हटाउने खेलमा विदेशी हस्तक्षेप देख्ने धेरै नेपालीले बेलायती राजकुमारको त्यो अभिव्यक्तिलाई भने वास्तै गरेनन् । न सञ्चारमाध्यमले नै त्यसलाई पछ्याए। 

नेपाल–बेलायत दौत्य सम्बन्ध दुई सय वर्ष पुगेको अवसरमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा ह्यारीले उनीप्रति प्रशंसाका शब्द खर्चेका थिए। 

नेपाल भ्रमणका बेला विभिन्न स्थानका भूकम्पपीडितलाई भेट्न पुगेका ह्यारीसँग पुरुषोत्तमको भेट पनि संयोगले नै भएको थियो । तर, त्यतिबेला १४ वर्ष मात्र भएका सुवालसँग ह्यारी यति प्रभावित भए कि उनले तिनलाई भविष्यमा नेपालको प्रधानमन्त्री नै देख्न पुगे । र, बेलायत फर्कनुअघि दूतावासले गरेको कार्यक्रममा सुवालको प्रशंसा गर्न चुकेनन्। 

नेपाल आएका ह्यारी भक्तपुरका भूकम्पपीडितको शिविर पुगेका थिए । त्यसै क्रममा व्यासीस्थित शिविर पुग्दा सुवालसँग उनको भेट भएको हो । सुवाल ८० घर–परिवार रहेको त्यस शिविर समितिका अध्यक्ष थिए । अध्यक्ष भएकै नाताले उनीसँग ह्यारीको भेट भएको हो। 

दुई वर्षअघि आफूसँग भेट भएका बेलायती राजकुमार ह्यारी र अमेरिकी सेलिब्रेटी मेगन मार्कलबीच विवाह हुन लागेको छ । ह्यारीको बिहे हुन लागेका बेला उनकै प्रशंसा पाएका पुरुषोत्तम भने अहिले त्यही टहरोमा बसिरहेका छन्, जहाँ दुई वर्षअघि उनले ह्यारीलाई भेटेका थिए। 

भूकम्पपछि टहरोबाट घरमा सर्न नसकेका उनी आमा र दिदीसँगै अस्थायी शिविरमा बसेर अध्ययन गरिरहेका छन् । एसइई परीक्षाको तयारीमा रहेका उनलाई ह्यारी आफ्नो टहरोमा छिरेको र उनीसँग बिताएका पलको याद भने आइरहन्छ । त्यति मात्र होइन, ह्यारीले गरेको लिखित भाषण, उनीसँग घुम्दाका तस्बिर र विदेशी सहायतासम्बन्धी बेलायती एजेन्सीले ह्यारीलाई घुमाइदिएकामा पठाएको धन्यवाद–पत्र पनि सुवालसँग छन्। 

ह्यारीको सम्झना गराउने ती पत्र र तस्बिरको सुरक्षा गर्न भने सुवाललाई कम्ता सकस छैन । भूकम्पले लडेको घर नबनेकाले ती पत्र र तस्बिरलाई वर्षा र शीतबाट जोगाउन उनलाई मुस्किल परिरहेको छ । ‘पानी र शीतबाट जोगाउनकै लागि मैले सबैमा लेमिनेसन गरेर राखेको छु,’ सुवाल भन्छन्, ‘हाम्रो घरमा पनि राजकुमार आएका थिए भन्ने झझल्को यी तस्बिर र पत्रले दिन्छन्।’ 

कसैको याद र सम्झनाले मात्र जीवन चल्दैन, न त लडेको घर नै उठ्न सक्छ । त्यसैले त सुवालको परिवारले भूकम्पले ढालेको घर बनाउन पुख्र्यौली जमिन नै बेचेको छ । त्यत्ति गर्दा पनि अझै उनीहरू नयाँ घरमा सर्न पाएका छैनन् । ‘कसैले चासो नदेखाएपछि पुख्र्यौली जग्गा बेचेर घर बनाउँदै छाँै,’ उनले भने, ‘त्योभन्दा अर्को उपाय हामीसँग थिएन ।’ 
नेपाल भ्रमणमा रहेका ह्यारी अचानक आफ्नो शिविर प्रवेश गरेपछि पुरुषोत्तम सुरुमा त हडबडाए । लगत्तै उनी ‘नमस्ते सर’ भन्दै स्वागत गर्न पुगे । राजकुमारले उनलाई मित्रका रूपमा लिए÷नलिएको उनलाई पत्तो छैन । तर, उनलाई त्यसबेला राजकुमार आफ्नै साथीजस्तै लाग्यो। 

त्यसैले हुन सक्छ, एसइई परीक्षाको तयारीमा जुटेका उनलाई ह्यारीको विवाहसम्बन्धी खबरले पनि उत्सुकता जगाएको छ । हुन त उनलाई राजकुमारले बिहेको निम्तो दिऊन् वा नदिऊन्, त्यसमा कुनै चिन्ता छैन । निम्ता आउला भन्ने आस पनि गरेका छैनन् । छिमेकी र साथीभाइले भने ‘निम्तो आयो होला नि’ भन्दै उनलाई सोध्ने गरेका छन् । ‘उनको बिहे हुन लागेकामा म खुसी छु,’ उनले भने, ‘तर, निम्ताको प्रतीक्षामा छैन ।’ आफ्ना लागि आगामी परीक्षा नै महŒवपूर्ण भएको उनी बताउँछन्। 

नेपाल आएका बेला उनले करिब आधा घन्टा मात्र ह्यारीलाई भक्तपुर घुमाएका थिए । त्यसबेला ह्यारीले स–साना कुराबारे पनि उनीसँग चाख मानेर सोधेका थिए । उनले जवाफ दिएपछि भने ह्यारी मुस्कुराउँथेँ । ‘त्यसबेला मलाई राजकुमारलाई होइन, कुनै साथीलाई घुमाउँदै छु जस्तो लागेको थियो,’ सुवाल भन्छन्, ‘अझै पनि मलाई त्यस्तै लाग्छ।’ 

ह्यारीले भूकम्पपीडितप्रति चासो देखाएर सोधेका कुराले भने उनलाई उनी आफ्नै पारिवारिक सदस्य हुन् कि जस्तो समेत लागेको थियो । राजकुमारसँगको छोटो भेटको सम्झना आउँदा पनि उनले त्यसलाई दबाउने गरेका छन्। 

‘उनीसँगको भेट मेरो जीवनमा खुसीको क्षण थियो,’ उनी भन्छन्, ‘ती याद ताजै भए पनि म बाहिर देखाउँदै हिँड्दिनँ, मलाई ‘ग्रिडी’ हुनु छैन।’ 

ह्यारीसँग भेटेपछि निकट हुन मन नलागेको होइन उनलाई, तर त्यस्तो गरेनन् । ‘मित्रताका हिसाबले उनीसँग नजिक हुने रहर त थियो,’ सुवालले भने, ‘राजकुमारसँग लोभिएको ठानिने डरले आफूलाई रोकेँ।’

ह्यारीलाई घुमाउँदा उनी भक्तपुरकै प्रभात उच्च मावि कक्षा ८ मा अध्ययनरत थिए । ‘उहाँले यो शिविरमा कहिलेसम्म बस्ने ? कहिले घर बनाउने ? भनेर सोध्नुभएको थियो,’ उनी भन्छन्, ‘आफूहरूले घर बनाउन नसक्ने भएकाले अझै एक वर्ष यहीँ बसिएला भनेको थिएँ।’ 

राजकुमारलाई बताएझैँ एक वर्षभित्र शिविर छाड्न नसक्दा भने उनलाई साह्रै दुःख लागेको छ । भूकम्पपछि तीनवटा जाडो शिविरमा काटेका उनी अर्को जाडो भने घरमा काटिन्छ कि भन्ने आसमा छन्। 

नेपाल छाड्ने बेला राजकुमारले गरेको प्रशंसाले उनलाई मेहनत गर्न थप ऊर्जा मिलेको छ । उनले प्रधानमन्त्री नै बन्ने उद्देश्य भने राखेका छैनन् । ‘प्रधानमन्त्री त खै, केही उद्यम गरेर अघि बढ्न सक्छु भन्ने आसचाहिँ छ,’ उनी भन्छन्, ‘त्योभन्दा ठूलो सपना अहिले देखेकै छैन।’ 

ह्यारीसँग हिँड्दा दर्जनौँ पत्रकारले खिचेका तस्बिरभन्दा सुवाललाई राजकुमारसँग खिचेको सेल्फी सबैभन्दा प्यारो लाग्छ । बिदाइका बेला राजकुमारलाई ‘नमस्ते’ गरेका उनले त्यसपछि कुनै पनि माध्यमबाट उनीसम्म सम्पर्क राख्ने कोसिस गरेका छैनन् । ‘त्यसपछि हाम्रो  प्रत्यक्ष सम्पर्क भएको छैन,’ उनले भने, ‘याद भने आइरहन्छ।’

सुवाल भविष्यमा राजनीतिमा लाग्लान् वा नलाग्लान् निश्चित छैन । राजनीतिमा लागेर प्रधानमन्त्री बन्ने/नबन्ने त अझ धेरै टाढाको कुरो हो । सुवाललाई ह्यारीका प्रशंसाका शब्दले भने जीवनमा केही गर्नुपर्छ भन्ने ऊर्जा दिइरहेका छन्। 

प्रकाशित: २६ माघ २०७४ ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App