८ वैशाख २०८१ शनिबार
राजनीति

तीन ठूलाे पार्टीले छाने संसदीय नेता

सुर्खेत – प्रदेश ६ मा प्रमख तीन राजनीतिक दलले संसदीय दलको नेता चयन गरेका छन् । एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले बिहीबार संसदीय दलको नेता छानेका हुन्। 

एमाले संसदीय दलको नेतामा यामलाल कँडेल र माओवादी केन्द्र संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही र नेपाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन भएका छन्।

एमाले संसदीय दलको बैठकमा सांसद प्रकाश ज्वालाले कँडेललाई दलको नेता बनाउन प्रस्ताव गरेका थिए । सो प्रस्तावमा सबै सांसदले समर्थन जनाएका थिए । कँडेल सुर्खेत क्षेत्र नम्बर २ (क) बाट निर्वाचित सदस्य हुन् । 
ज्येष्ठ सदस्य पदम रोकायको अध्यक्षता एवं पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आथित्यमा बसेको बैठकले कँडेललाई सर्वसम्मतिले दलको नेता छानेको ज्वालाले बताए । ४० सदस्यीय यो प्रदेशसभामा २० सदस्य छन् । ठूलो पार्टीको संसदीय दलको नेता छानिए पनि कँडेलले मुख्यमन्त्री भने पाउने छैनन् । एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार यो प्रदेशको मुख्यमन्त्री माओवादीले पाउने छ।

मूख्यमन्त्री बन्ने बाटो खुल्यो
संसदीय दलको नेता चयन भएसँगै माओवादी केन्द्रका शाहीलाई ६ नम्बर प्रदेशको  मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । बैठकमा पार्टी ६ नम्बर प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले संसदीय दलको नेतामा शाहीको नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सबैले समर्थन जनाएका थिए । प्रदेशसभामा माओवादी केन्द्रका १३ सदस्य छन् । केन्द्रमा एमालेसँग भएको सहमतिअनुसार ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ । ‘प्रदेश इन्चार्जको प्रस्तावमा हामी सबै सांसदले समर्थन जनायौं’ माओवादी केन्द्रका सांसद विमला केसीले भनिन्, ‘अब सरकार गठन प्रक्रियामा लाग्छौं।’

पूर्व ऊर्जामन्त्रीसमेत रहेका शाही कालिकोट (ख) बाट निर्वाचित सदस्य हुन् । उनले विगतका कमजोरी सच्याउँदै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताए । ‘हामी स्रोतको हिसाबले असाध्यै धनी भए पनि गरिब छौं’, उनले भने, ‘यहाँको प्राकृतिक स्रोत–साधन उपयोग गर्दै पाँच वर्षभित्र समृद्ध र विकासशील प्रदेश बनाउँछौं ।’  
नेपाली कांग्रेसले पनि संसदीय दलको नेता टुंगो लगाएको छ । कांग्रेसले हुम्ला (ख) बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको हो । सांसद दिनबन्धु श्रेष्ठले संसदीय दलको नेतामा महेन्द्रबहादुर शाहीलाई प्रस्ताव गरेका थिए । प्रदेशसभामा कांग्रेसका ६ सदस्य छन् । संसदीय दलको नेतामा चयन भएपछि उनले कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘सरकारले गर्ने राम्रा र रचनात्मक कामको समर्थन गर्छौं, सरकारले बाटो बिराएका बेला सचेत गराउँछौं’, उनले भने, ‘प्रदेशको समृद्धि र विकासका लागि सशक्त प्रतिपक्षको भूमिकामा काग्रेस रहन्छ।’ 

प्रकाशित: २६ माघ २०७४ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App