coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादीले दलको नेता छान्यो, एमालेमा चुनाव तयारी, विधान नहुँदा कांग्रेस अलमलमा

विराटनगर – प्रदेश नम्बर १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू यतिबेला  संसदीय दलको नेता चयन गृहकार्यमा व्यस्त छन् । एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका स्थानीय तथा केन्द्रीय नेताहरू संसदीय दलको नेता चयन गृहकार्यमा जुटेका हुन्।  

करिब एक साताको रस्साकस्सीपछि माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गरेको छ । माओवादी केन्द्रले प्रदेश १ मा टंक आङबुहाङलाई संसदीय दलको नेतामा छानेको हो । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले संसदीय दलको नेता सर्वसम्मत चयन गरिएको जानकारी दिएको हो । यसैगरी माओवादीले प्रदेश सरकारमा इन्द्र आङबोको नेतृत्वमा सहभागी हुने  निर्णय गरेको छ।  

यसअघि संसदीय दलको नेता चयनलाई लिएर माओवादीभित्र विवाद तीव्र बनेको थियो । संसदीय दलको नेता छनोट विषयमा सचिवालय सदस्य गोपाल किराँतीले एकलौटी रुपमा सिफारिस गरेको भन्दै १९ जना पोलिटब्युरो सदस्यले विरोध गरेका थिए । बिहीबार विराटनगरमा बसेको संसदीय दल र प्रदेश कार्यालयको विस्तारित बैठकले संसदीय दलको नेता र सरकारमा पार्टीबाट नेतृत्व गर्ने नेता तोकेको हो।

यसैगरी प्रदेश १ को सबैभन्दा ठूलो दल एमालेले भने निर्वाचनबाट संसदीय दलको नेता छनोट गर्ने तयारी गरेको छ । सहमति हुन नसकेपछि अन्तिम विकल्पका रुपमा एमालेले निर्वाचन रोजेको हो । प्रदेश १ मा संसदीय दलको नेताका लागि एमाले सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेले दाबी गरेका छन् ।  घिमिरे र आचार्य माधव नेपाल पक्ष तथा राई पार्टी अध्यक्ष केपी ओली पक्षका हुन् । नेपाल पक्षले घिमिरेलाई पछि हट्न लगाएर आचार्यलाई निर्वाचित गराउने योजना बनाएको एमाले स्रोतको दाबी छ । घिमिरेले भने दलको नेतामा आफ्नो दाबी कायमै रहेको बताएका छन् । उनले सहमति प्रयास भइरहेको र शुक्रबार ११ बजेसम्म निकास नआए उम्मेदवारी दिने बताए। 

आचार्य, राई र घिमिरेले  आ–आफ्नो दाबेदारी नछाडेपछि एमाले निर्वाचनबाट दलको नेता टुंगो लगाउने निर्णयमा  पुुगेको हो । एमाले सचिव योगेश भट्टराईले सहमति प्रयास सफल हुननसके लोकतान्त्रिक रुपमा  निर्वाचनबाट दलको नेता टुंगो लगाइने बताए । एमालेले शुुक्रबार संसदीय दलको नेता छान्न निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । भट्टराईले  कार्यतालिका सार्वजनिक भए पनि सहमति प्रयास जारी नै रहेको जानकारी दिए । १ नम्बर प्रदेशसभामा नेता नेपाल पक्षका सदस्य धेरै छन् । ओली पक्ष अल्पमतमा छ । यस कारण ओली पक्षका राईले निर्वाचित हुन नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा तान्नुपर्ने देखिन्छ।  ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ जना छन्  । विगतमा जस्तै समूहगत आधारमा मतदान भए आचार्य संसदीय दलको नेता र मुख्यमन्त्री बन्ने निश्चित छ । तर घिमिरेले पनि उमेदवारी दिए भने परिणाम राईको पक्षमा जाने देखिन्छ। 

राईले प्रदेशसभामा जनजाति सांसद धेरै भएका कारण आफूले नै चुनाव जित्ने दाबी गर्दै आएका छन् । आचार्यको पक्षमा लबिङ गर्न यहाँ आएका एमाले सचिव भट्टराई झापा, मोरङ र सुनसरीका सांसद फकाउन लागिपरेका छन् ।  राईको पक्षमा प्रदेश सदस्यलाई ल्याउन  मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भानुभक्त ढकाललगायत ओली पक्षका नेता सक्रिय छन्। 

 प्रदेश  १ मा दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले भने अझैसम्म संसदीय दलको नेताबारे कुनै निर्णय गर्न सकेको छैन । कांग्रेस संसदीय दलको नेताका लागि  दुईजनाको नाम चर्चामा छ । मोरङका केदार कार्की र  सुनसरीका राजीव कोइरालाले दलको नेताका लागि आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका  छन् । संसदीय दलको नेताका विषयमा कांग्रेसमा चर्चा सुरु भए पनि चयन प्रक्रियाबारे पार्टी विधानमा कुनै व्यवस्था  छैन । संसदीय दलको नेताबारे निर्णय गर्नुभन्दा पहिले विधान निर्माणलाई कांग्रेसले प्राथमिकतामा राखेको छ । विधान नै नभएका कारण संसदीय दलको नेताबारे कांग्रेस अन्योलमा परेको  छ । यो प्रदेशसभामा कांग्रेसका २१ सदस्य छन्।

प्रकाशित: २६ माघ २०७४ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App