७ वैशाख २०८१ शुक्रबार
खेल

शिवरामको अग्रता

काठमाडौं– शीर्ष वरीयताका व्यावसायिक खेलाडी शिवराम श्रेष्ठले बिहीबार ६८ पारको रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा ४ अन्डर ६८ खेल्दै गल्फर पाइलट्स एनपिजिए क्लासिक गल्फ प्रतियोगिताको दोस्रो दिन एकल अग्रता लिएका छन् ।

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको छैटौं प्रतियोगितामा शुक्रबार तेस्रो तथा अन्तिम दिनको खेलअघि शिवराम समग्रमा ७ अन्डर १ सय २९ स्कोरका साथ शीर्ष स्थानमा रहँदा बिहीबार १ ओभर ६९ को खराब प्रदर्शन गरेका भुवन नगरकोटी २ अन्डर १ सय ३४ स्कोरका साथ दोस्रो स्थानमा छन् । रामे मगरले पनि दोस्रो दिन १ ओभर ६९ खेले । उनी १ अन्डर १ सय ३५ स्कोरका साथ तेस्रो स्थानमा छन् ।

दोस्रो दिन २ ओभर ७० खेलेका धनबहादुर थापा १ ओभर १ सय ३७ स्कोरका साथ चौथो स्थानमा हुँदा सञ्जय लामा (६८) २ ओभर १ सय ३८ स्कोरका साथ पाँचौं स्थानमा छन् । यसै गरी भुवनकुमार रोक्का (६९), रवि खड्का (७१) र सूर्यप्रसाद शर्मा (७१) समान ३ ओभर १ सय ३९ स्कोरका साथ संयुक्त रूपमा छैटौं स्थानमा छन् । यसै गरी ४ ओभर ७२ खेलेका जयराम श्रेष्ठ नवौं स्थानमा रहँदा ३ ओभर ७१ स्कोर गरेका प्रदीपकुमार लामा (१४४) १०औं स्थानमा छन् ।

एमेच्योरतर्फ विनोद तामाङ र सुवास घिसिङ समान ५ ओभर १ सय ४१ स्कोरका साथ संयुक्त रूपमा शीर्ष स्थानमा छन् । विनोदले बिहीबार इभन पार ६८ खेलेका थिए भने सुवासले २ ओभर ७० को प्रदर्शन गरेका थिए । यसै गरी नवराज चौलागाईं (७३) १२ ओभर १ सय ४८ स्कोरका साथ तेस्रो स्थानमा छन् । महिलातर्फ बिहीबार १४ ओभर ८२ को प्रदर्शन गरेकी महिला गल्फर प्रतिमा शेर्पाले १२औं होलमा होल इन वान गरेकी थिइन् ।

३१ व्यावसायिक तथा १३ एमेच्योर खेलाडीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम दिन शुक्रबार १८ होलको खेल गोकर्ण गल्फ क्लबमा हुनेछ । तेस्रो चरणका लागि कट नहुने प्रतियोगिताका शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार पाउनेछन् ।विमान चालक गल्फरहरूको प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेताले ५५ हजार रुपैयाँ पाउनेछन् भने उपविजेताले ३७ तथा तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।

 

प्रकाशित: २६ माघ २०७४ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App