coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

संघर्षपूर्ण खेलमा नेपाल विजयी

बलिङ गरेर फर्किने क्रममा चार विकेट लिएका बलर सन्दीप लामिछाने । तस्बिर सौजन्य : रमन शिवाकोटी

काठमाडौं– स्पिनरद्वय वसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले बिहीबार आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा घरेलु टोली नामिबियामाथि १ विकेटको विजय हासिल गरेको छ ।
हारको संघारमा रहेको नेपाललाई वसन्तको धैर्यपूर्ण ब्याटिङले जोगाउँदा नामिबियाका ब्याट्सम्यानलाई रोक्न सन्दीपले ४ विकेट लिएका थिए । वसन्तले पनि १ विकेट आफ्नो नाममा लेखाएका थिए ।

विन्डहोकस्थित अफिज पार्कमा नेपालका कप्तान पारस खड्काले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएपछि घरेलु टोलीले ३४.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रनको योगफल खडा गरेको थियो । जितका लागि नेपालले १ सय ३९ रनको लक्ष्य पाएको थियो । नेपालले ४३ ओभरमा ८ विकेट गुमाएर १ सय ११ बनाउँदा वर्षाले खेल अवरुद्ध बन्यो । झन्डै ४० मिनेट अवरुद्ध बनेपछि खेल पुनः सुचारु भएको थियो । क्रिजमा सोमपाल कामी र वसन्त रेग्मी थिए ।

सोमपाल १३ रन बनाएर आउट हुँदा नेपाललाई जितका लागि थप १८ रन चाहिएको थियो । अन्तिम ब्याट्सम्यानका रुपमा आएका सन्दीपले वसन्तलाई साथ दिएपछि नेपालले ४ बल बाँकी रहँदा लक्ष्य पूरा गरेको थियो । २४ बलमा २ चौका र १ छक्का प्रहार गरेका वसन्तले अविजित २४ रन बनाए । अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन आवश्यक थियो । पहिलो बलमा २ रन लिएका वसन्तले दोस्रो बलमा चौका प्रहार गरेपछि नेपालको जित सुनिश्चित बनेको थियो ।

नामिबियामाथि नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले कीर्तिपुरमा भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ३ र ५ विकेटले जितेको थियो भने २ वर्षअघि नामिबियामै भएको डिभिजन–२ मा ३ विकेटले विजयी भएको थियो ।अनुभवी खेलाडी कप्तान पारस खड्का (१९) र ज्ञानेन्द्र मल्ल (१५) ले लामो इनिङ खेल्न नसकेको दिन युवा खेलाडीले पनि आशातीत प्रदर्शन गर्न सकेनन् । ओपनर दिलीप नाथ र मध्यक्रममा मौका पाएका आरिफ शेख शून्यमा पवेलियन फर्किंदा दीपेन्द्रसिंह ऐरी पनि ६ रन बनाएर आउट भए ।

२३.६ ओभरमा ५६ रन जोड्दा ६ विकेट गुमाएको नेपाललाई शरद र रोहितकुमार पौडेले सातौं विकेटका लागि ३७ रनको साझेदारी गर्दै जितको आशा कायम राखेका थिए । टान्जेनी लुङ्गामेनीले शरदलाई विलियम्समार्फत क्याच गरे लगत्तै रोहितकुमार पनि बर्नान्ड स्कोल्जको बलमा एलबिडब्लु आउट भएपछि नेपालको सम्भावना लगभग कमजोर बनेको थियो । तथापि वसन्त रेग्मीको धैर्यपूर्ण ब्याटिङले नेपाललाई जिततर्फ डोर्यायो । शरदले २९ रन बनाउँदा रोहितले १७ रनको योगदान गरे ।

त्यसअघि बलिङमा युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको नामिबियाले ३४.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।सन्दीप लामिछानेले ८.२ ओभरमा २ मेडन राख्दै १८ रन दिएर ४ विकेट लिँदा मध्यम गतिका बलर सोमपालले ७ ओभरमा १ मेडनसहित ३५ रन दिएर ३ विकेट लिए ।

सोमपालले ओपनरद्वयलाई पवेलियनको बाटो देखाएका थिए । पहिलो ओभरको पाँचौं बलमा ओपनर लुइस भान डे वेसथुइजेन (१) लाई बोल्ड गरेका सोमपालले आफ्नो तेस्रो स्पेलमा अर्का ओपनर स्टेफन वार्ड (१८) लाई विकेटकिपर दिलीप नाथमार्फत क्याच गरेका थिए । त्यसपछि जेन ग्रिन र क्रिग विलियम्सले घरेलु टोलीको इनिङ सम्हालेका थिए । ६४ रनको स्थितिमा ग्रिन घाइते भएपछि विलियम्सलाई जिन पिइरे कोट्जेले साथ दिएका थिए । नामिबियाले ११.४ ओभरमा ७५ रन बनाउँदा कोट्जे (९)लाई वसन्त रेग्मीले आरिफ शेखमार्फत क्याच गरे । त्यसपछि थप ६ रन जोड्दा नामिबियाले ३ विकेट गुमायो ।

इन्डियन प्रिमियर लिग (आइपिएल)को दिल्ली डियरडेभिल्ससँग अनुबन्धित भएका सन्दीप लामिछानेले विलयम्स (४१) र सरेल बर्गर (०) एलबिडब्लु आउट गर्दा गेरहार्ड इरसमसलाई कप्तान पारस खड्काले बोल्ड गरेका थिए । ८१ रन जोड्दा ६ विकेट गुमाएको नामिबियालाई जान फ्रेलिङ्क (२२) र योहानेस जोनाथन स्मित (१८) ले १ सय १६ रनसम्म डोर्याएका थिए । फ्रेलिङ्कलाई शरद भेषावकरले आउट गरे भने स्मितलाई सन्दीपले पारसमार्फत क्याच गरे ।

बिहीबारै क्यानडाले ओमानलाई ८ विकेटले पराजित गर्यो । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लबको मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको ओमानले २७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । नीतिश कुमारले अर्धशतक बनाएपछि क्यानडाले १ सय ७ रनको लक्ष्य २ विकेट गुमाएर १५.४ ओभरमा पूरा गरेको थियो । नीतिश कुमारले अविजित ५३ रन बनाउँदा क्यानडाका लागि रुविन्दु गुनसेकराले ४६ रन जोडे ।

युनाइटेड अरब इमिरेट्स (युएई) ले केन्यालाई २ सय १८ रनले पराजित गरेको छ । वान्डेरर क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९ रन बनाएको थियो । ३ सय १० रनको लक्ष्य पछ्याएको केन्याले ३२.४ ओभरमा ९१ रन बनाउँदा सबै विकेट गुमायो । युएईका रोहन मुस्तफा र अस्फाक अहमदले समान ७३ रन बनाउँदा रामिज शहजादले ६३ रन बनाए ।अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन आवश्यक थियो । पहिलो बलमा २ रन लिएका वसन्तले दोस्रो बलमा चौका प्रहार गरेपछि नेपालको जित सुनिश्चित बनेको थियो ।

 

प्रकाशित: २६ माघ २०७४ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App