८ वैशाख २०८१ शनिबार
खेल

विश्व क्रिकेट लिग : नामिबियामाथि नेपालको संघर्षपूर्ण जित

काठमाडौं – नामिबियालाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु मा विजयी सुरुवात गरेको छ। एफिज पार्क मैदानमा सम्पन्न उदघाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिबियालाई १ विकेटले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो।

टस जितेर नामिबियालाई ब्याटिङमा उतारेको नेपालले १३९ रनको विजयी लक्ष्य पाएको थियो। ३४.२ ओभरमा सबै विकेट गुमाउँदै नामिबियाले १३८ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४ बल बाँकी छँदै ९ विकेट गुमाएर लक्ष्य भेट्टायो।

नेपालका लागि शरद भेष्वाकरले सर्वाधिक २९ रन बनाए भने अन्तिममा बसन्त रेग्मीले २४ रन बनाएर विजय गराए। शरदले तीन चौका प्रहार गरेका थिए भने बसन्तले एक छक्का प्रहार गरे। 

कप्तान पारस खड्काले १९, रोहित कुमार पौडेलले १७, उपकप्तान ज्ञानेन्द्र मल्लले १५, सोमपाल कामीले १३ रन जोडे। दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने करण केसीले ३ रन बनाए। शुरुआती ब्याट्सम्यान दिलीप नाथ र आरिफ शेख शून्य रनमा बाहिरिए। 

खेलमा सन्दिप लामिछाने म्यान अफ दी म्याच घोषित भए।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो। नामिबियाका लागि क्रेग विलियम्सले ४१ तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२–२२ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ४, कामीले ३ तथा भेषवाकर, खड्का र रेग्मीले एक–एक विकेट लिए। 

विहीबारै सम्पन्न अर्को खेलमा क्यानडाले ओमनलाई पराजित गरेको थियो भने संयुक्त अरब इमिरेट्सले केन्यालाई पराजित गरेको थियो। नेपालले शुक्रबार आफ्नो दोस्रो खेल ओमनसँग खेल्नेछ। 

प्रकाशित: २५ माघ २०७४ १५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App