७ वैशाख २०८१ शुक्रबार
अर्थ

महँगो अमेरिका सपना

म्याग्दी- म्याग्दीको ताकम–५ का पृथ्वी केसी तेजबहादुर र दिलमाया केसीका एक्ला छोरा थिए। विद्यालय उमेरमै विवाह गरेका केसीको एउटा छोरा र श्रीमती पनि छन्। विनाजोखिम, सजिलो माध्यमबाट अमेरिका पुगिन्छ भन्ने हल्ला गाउँमा चलेपछि साथीसँगै केसीपनि मोटो रकम दलाललाई बुझाएर भारत हुँदै अवैध बाटोबाट अमेरिका लागे। परिवारका सदस्यले लामो यात्रा जोखिमपूर्ण हुन सक्ने भन्दै रोक्न खोजे पनि विश्वकै आकर्षक गन्तव्यका रुपमा चिनिएको अमेरिकामा राम्रो कमाइ हुने र परिवारको भविष्य बन्ने भन्दै उनले परिवारलाई आश्वस्त पारे।

भारत, ब्राजिल, इथियोपिया, बोलिभिया, पेरू, इक्वेडर, पानामा हुँदै करिब १२ देशका समुद्र र जंगलको कठोर यात्रापछि उनी मेक्सिको पुगे। ०७० माघमा अमेरिका हिँडेका केसी केसीले मेक्सिकोको समुद्रमा ज्यान गुमाए। नेपालीसहित विभिन्न देशका आप्रवासी चढेको डुंगा दुर्घटनामा पर्दा उनले ज्यान गुमाएका हुन्। एकैपटक धेरै नेपालीले ज्यान गुमाएको घटना निकै लामो समयपछि मात्रै परिवारले थाहा पाए। करिब १९ लाख रुपैयाँ नेपाली दलाललाई बुझाएका केसीको न शव परिवारले पाए न पैसा।अमेरिकाको सपनाले परिवारलाई नै तहसनहस बनायो।

'सुखी परिवारमा कालो बादल लाग्यो,' ताकमका स्थानीय युवा गोपाल आचार्यले भने।उनले घटनाबारे फरक–फरक जानकारी आएको बताए। एकैपटक धेरै नेपालीले ज्यान गुमाएपनि अवैध माध्यमबाट गएकाले परिवारले कानुनी प्रक्रियामा सहभागी हुन नपाएको पनि उनले बताए। मेक्सिको प्रहरीले नियन्त्रणप्रयास गर्दा नियन्त्रण गुमाएर ढुंगा समुद्रमा पल्टिएको उनीसँगै गएको अर्को समूहले जानकारी गराएको समेत उनले बताए। मृतक केसीका बुबा वैदेशिक रोजगारीका सिलसिलामा बराइनमा छन्।

छोराले अमेरिका जान लिएको ऋण बुबाले लामो समय लगाएर तिरेका थिए। 'न धन रह्यो न छोराको ज्यान।अमेरिकाको सपनाले सधैं आँशुमा डुबायो,' केसीको आमालाई उद्धृत गर्दै आचार्यले भने। मृतकका परिवारले छोरालाई अवैध माध्यमबाट पठाउनेहरूको खोजी गरेपनि पहिचान गर्न सकेनन्। हरेक वर्ष म्याग्दीबाट ५० लाखसम्म दलाललाई बुझाएर अमेरिका जानेको भिड नै देखिन्छ। काठमाडौंका दलालले जिल्लासम्म सञ्जाल विस्तार गरेको छ। अमेरिका जाने व्यक्ति खोजेबापत निश्चित रकमसमेत उपलब्ध गराउने, जाने रुट सहित फोटो र सञ्चार माध्यममा नदिनेलाई २–४ लाख सस्तो गर्ने गरेको समेत युवाको भनाइ छ।

सरकारी जागिरेसमेत अवैध बाटोबाट अमेरिका जान थालेका छन्। आर्थिक अवस्था कमजोर भएका बेरोजगारले चर्को ब्याज तिर्ने सर्तमा ऋण लिन्छन्। पुरुषसँगै महिलाले समेत यो बाटो रोज्न थालेपछि समस्या जटिल बनेको छ। बेनी नगरपालिका सहित ३५ गाविसबाट युवाहरू अवैध रुपमा अमेरिका जाने गरेका छन्। अमेरिका पुगेका व्यक्तिले मध्यरातमा समुद्र र जंगलमा यात्रा गर्ने क्रममा धेरै बाटोमै हराउने भएपनि दलालले त्यसबारे बोले अमेरिकाले कानुनी प्रक्रियामा असहयोग गर्ने धम्की दिने गरेकाले पनि धेरै तथ्य गुमनाम हुने गरेको बताइन्छ।

प्रकाशित: ३१ श्रावण २०७३ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App