५ वैशाख २०८१ बुधबार
समाज

हल्देकालिका सर्दैछन् लच्याङका विस्थापित

भूकम्पका कारण विस्थापित नुवाकोटको उर्लेनीवासीका लागि बुदुनेमा खरिद गरिएको जग्गा । तस्बिर : नागरिक

नुवाकोट – भूकम्पले जमिन चिरा परेर विस्तापित लच्याङका पीडित अहिले हल्देकालिकामा घर बनाउन जुटेका छन् । लच्याङका विस्थापितलाई हल्देकालिकामा सार्ने सरकारी निर्णयसँगै उनीहरु नयाँ ठाउँमा घर बनाउन जुटेका हुन् । ‘जमिन जताततै चिरा परेको छ, बस्तीमाथि अहिले नै खस्छ झैं लाग्ने ठूलो पहरो छ’, सूर्यगढी गाउँपालिका १ लच्याङका सुपलाल तामाङले भने, ‘सरकारले जग्गा किनिदिएकै ठाउँमा घर बनाउने तयारी गर्दैछु।’ 

भूकम्पका कारण विस्थापित लच्याङका १४ घरधुरीलाई हल्देकालिकामा स्थानान्तरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिले हल्देकालिकामा जग्गा किनिदिएको हो। 

जिल्लाको ३ सय २१ घरपरिवारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ । भूकम्प गएको ३४ महिना बित्दा ६५ घरपरिवारका लागि मात्र आवास निर्माण गर्न सुरक्षित ठाउँ छनोट गरिएको छ। 

तामाङजस्तै लच्याङमा १४ घरधुरी विस्थापित छन् । विस्थापित १४ घरधुरीले नै सूर्यगढी गाउँपालिका ४ हल्देकालिकाको गोठडाँडामा घर बनाउने भएका छन् । ‘बस्ती सुरक्षित नभएकाले भूगर्भविद्ले घर बनाउन हुँदैन भने । जसोतसो टहरोमा दैनिकी कटाइरहेका छौं,’ तामाङले भने, ‘अब भने सरकारको सहयोगमा सुरक्षित ठाउँमा जग्गा खरिद गरेर आफ्नो नाममा ल्याएका छौं । प्राविधिककोे सल्लाहअनुसार घर बनाउँछु।’

भूकम्पले आफ्नो गाउँमा बस्न नमिलेपछि बालबालिकाको पठनपाठनमा समस्या आएको लच्याङकै माया तामाङको गुनासो छ । ‘घर बनाउन बल्ल जग्गा भेटियो। छोराछोरीको पढाइलाई निरन्तरता दिन पाउँछु भन्ने आशा छ,’ तामाङले भनिन्, ‘आफ्नो ठाउँमा भूकम्पले बस्न नदिए पनि सुखदुःख घर बनाएर अरुको ठाउँलाई पनि आफ्नै बनाउनेछु।’
जिल्लाको ३ सय २१ घरपरिवारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ। भूकम्प गएको ३४ महिना बित्दा ६५ घरपरिवारका लागि मात्र आवास निर्माण गर्न सुरक्षित ठाउँ छनोट गरिएको छ। तादी गाउँपालिका वडा नम्बर १ उर्लेनीमा रहेका ७२ विस्थापितमध्ये ५१ परिवारले मात्र सुरक्षित ठाउँमा जग्गा खरिद गरेका छन्। उर्लेनीका ५१ परिवार विस्थापितले खरानीटारको बुदुनेमा जग्गा खरिद गरी घर बनाउन थालिसकेका छन्। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटका निमित्त प्रमुख वेदप्रसाद गौडेलका अनुसार विनाशकारी भूकम्पका कारण नुवाकोटमा करिब दुई हजार घरधुरी बासिन्दा विस्थापित भएको प्रारम्भिक तथ्यांक भए पनि भूगर्भविद्को अध्ययन प्रतिवेदनअनुसार दुई चरणमा गरी ३ सय २१ धरधुरीमात्र जोखिममा रहेको तथ्यांक सार्वजनिक गरिएको छ। 

‘पहिलो चरणमा सार्वजनिक भएको विवरणअनुसार २ सय ७८ घरधुरीमध्ये लच्याङमा १४, उर्लेनीमा ७२, घ्याङफेदीमा ७४, महाकालीमा ५०, किम्ताङमा ६५ र साल्मेमा ३ घरपरिवार जोखिममा छन्,’ गौडेलले भने, ‘विस्थापित ६५ घरपरिवारका लागि जग्गा खरिद गरिसकेका छौं । खरानीटारमा विस्थापित सामूहिक आवास निर्माण जुटिसकेका छन् भने हल्देकालिकामा पनि सुरु हुँदैछ । बाँकी २ सय १३ परिवारका लागि सुरक्षित स्थान खोजी भइरहेको छ ।’ सरकारले विस्थापितलाई जग्गा खरिद गर्न २ लाख रुपैयाँ उपलब्ध गराउँछ।

प्रकाशित: २५ माघ २०७४ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App