८ वैशाख २०८१ शनिबार
अर्थ

उपत्यकामा संयुक्त आवास विकास गर्ने योजना

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका र बहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल नेतृत्वमा बुधबार बसेको प्राधिकरण, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायत प्रतिनिधिको बैठकले भूकम्पपछि उपत्यकामा क्षतिग्रस्त घरहरु पुनर्निर्माण हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै हाउस पुलिङ प्रणालीबाट बस्ती विकास गर्ने निर्णय गरेको हो ।

‘पछिल्लो भूकम्पले उपत्यकामा एक लाखभन्दा बढी घर भत्किए पनि करिब ८० प्रतिशत घर पुनर्निर्माण सुरु नभएको सन्दर्भमा संयुक्त आवास सम्बन्धमा के गर्न सकिन्छ भन्नेबारे काठमाडौं र ललितपुर महानगरपालिका प्रमुखसहितको बैठकबाट हाउस पुलिङ प्रणालीमा जाने निर्णय गरिएको हो,’ प्रमुख कार्यकारी अधिकृत भुसालले भने ।

बैठकले त्यससम्बन्धमा अध्ययन गर्न प्राधिकरणका सहसचिव राजुमान मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदललाई काठमाडौं उपत्यकाको घना बस्तीमा संयुक्त आवास प्रणालीको अवधारणालाई कसरी विकास गर्न सकिन्छ भन्नेबारे अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । कार्यदलले उपत्यकाभित्र हाउस पुलिङको माध्यमबाट कुन–कुन ठाउँमा नमुना बस्ती बसाल्न सकिन्छ भन्नेबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने भुसालले बताए ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र सहरी विकास मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदललाई परामर्शदाताका रुपमा भवन विभागका पूर्वमहानिर्देशक सुर्यभक्त साङगाक्षेले सहयोग गर्नेछन् । बैठकमा साङगाक्षले हाउस पुलिङ प्रणालीबाट बस्ती विकास गर्नेबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
 

प्रकाशित: २५ माघ २०७४ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App