८ वैशाख २०८१ शनिबार
खेल

नेपाली युवाको चुनौती समाप्त

काठमाडौं – नेपाल आइटिएफ यु–१८ सर्किट वान टेनिस प्रतियोगितामा बुधबार नेपाली युवा खेलाडीहरूको चुनौती अन्तिम १६ मा समाप्त भएको छ ।

सातदोबाटो टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा पुरुष एकलतर्फ नेपालका प्रणव खनाल तथा महिलामा माहिका राणा, इरा मेहअ‍ेरनिसा रावत, एनी माथेमा र प्रेरणा कोइराला पराजित भएपछि एकलतर्फ नेपालको चुनौती समाप्त भएको हो ।पुरुष एकलमा प्रणवले भारतका जैसभिन सिदानालाई ६–३, ६–० को स्कोरमा नतिजा सुम्पेका थिए । सिदानाले जितसँगै क्वार्टरफाइनलमा स्थान पक्का गर्दा अन्य खेलमा जित हासिल गर्दै भारतका वंश भागतानी, प्रसन्न प्रवीण बागाडे, अनुराग अग्रवाल र नैथाओलिन काल्भिन गाल्मेईले अन्तिम आठको टिकट काटे ।

वंशले लाओसका पाथिकोने कान्याफानमाथि ६–२, ६–१ को नतिजामा जित हासिल गर्दा बागाडेले थाइल्यान्डका तानापाट निरुन्ड्रोनलाई ६–४, ६–२ तथा गोल्मेईले पाकिस्तानमा मोहम्मद नौमान अफ्ताबलाई ६–२, ६–२ को नतिजामा हराए । ताइपेईका विपक्षी केई सियाङ याङ तेस्रो सेटमा रिटायर्ड हर्ट भएपछि भारतका अर्का खेलाडी अनुरागको क्वार्टरफाइनल यात्रा पक्का भएको थियो । याङ रिटायर्ड हुनुअघि पहिलो सेटमा अनुराग ३–६ ले पछि परेका थिए भने दोस्रो सेटमा पुनरागमन जनाउँदै उनले ७–५ ले नतिजा आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेटमा अनुराग २–० ले अघि रहेको अवस्थामा याङ रिटायर्ड भएका थिए ।

यसै गरी जापानका ताइयो अहरानोले भारतका ऋषभ अग्रवाललाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा पक्का गर्दा अर्का जापानी ताइसी कागेयामाले चीनका ग्वाङग्लिन वेनलाई ६–१, २–६, ६–१ को नतिजामा हराए । ताइपेईका चिया फान टिसाओले चीनका ग्वाङसेन वेनलाई ६–४, ६–१ को नतिजामा हराउँदै क्वार्टरफाइनल स्थान सुरक्षित गरे ।

महिलातर्फ अन्तिम १६ को खेलमा नेपालकी माहिका यिमिङ डाङसँग ६–०, ६–२ को नतिजामा पराजित हुँदा इरालाई हङकङकी चुई केई लियुङले ६–३, ६–० को सोझो सेटमा पराजित गरिन् । यसै गरी एनी भारतकी श्रीनिधि श्रीधरसँग ७–६(७÷५), ६–३ को नतिजामा निराश हुँदा प्रेरणा अमेरिकाकी रुतुजा चाफाल्करसँग ६–२, ६–३ को नतिजामा पराजित भइन ।

युगल स्पर्धामा पनि नेपाली खेलाडीको यात्रा बुधबार टुंगिएको छ । बुधबार सातदोबाटोमा सम्पन्न महिला युगलको क्वार्टरफाइनलमा राणा दिदीबहिनी माहिका र मायंकाको जोडी भारतका अशप्रीत कौर बाज्वा र पुण्यतोया मोहापात्राको जोडीसँग ६–३, ६–३ को सोझो सेटमा निराश भयो । यसै गरी अमेरिकाकी रुतुजासँग जोडी बनेर खेलेकी पे्ररणाको जोडी हङकङकी चुई केई लियुङ र भारतकी सान्या सिंहको जोडीसँग ६–३, ६–२ को सोझो सेटमा पराजित भयो । भारतकी श्रीनिधि श्रीधर र नेपालकी प्रकृति श्रेष्ठको जोडी भारतका स्मृति भासिन र हृदया शाहको जोडीसँग ६–४, ६–३ को नतिजामा पराजित भए ।

बुधबारको खेलमा पुरुष एकलतर्फ नेपालका प्रणव खनाल तथा महिलामा माहिका राणा, इरा मेहअ‍ेरनिसा रावत, एनी माथेमा र प्रेरणा कोइराला पराजित भएपछि एकलतर्फ नेपालको चुनौती समाप्त भएको हो ।

प्रकाशित: २५ माघ २०७४ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App