७ वैशाख २०८१ शुक्रबार
खेल

रौतहटको रोमाञ्चक जित

काठमाडौं – रौतहट राइजिङ–११ ले खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बुधबार टीकापुर क्रिकेट क्लबमाथि ८ रनको रोमाञ्चक जित हात पारेको छ ।मूलपानी क्रिकेट मैदानमा रौतहटले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य पछ्याएको  टीकापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र जोड्न सक्यो ।

ओपनर सुशान्त सिंह थापा र रवीन्द्रजंग शाहीले पहिलो विकेटका लागि १ सय ५ रनको महत्वपूर्ण साझेदारी गर्दै टीकापुरको इनिङ उकासे पनि टोलीले प्रतिस्पर्धात्मक खेलमा जित भने दर्ता गर्न सकेन ।
५९ बल खेलेका रवीन्द्रजंगले ५ चौकाको मदतमा ८१ रन जोड्दा ३७ बलको सामना गरेका सुशान्तले ४ चौका र ४ छक्काको मद्दतमा ५४ रन जोडे ।यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको रौतहटले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।

रौतहटका ओपनर अंशु कन्दोईले अविजित ७६ रन जोडे । ६५ बल खेलेका अंशुले ११ चौका र २ छक्का प्रहार गरे ।बुधबार सम्पन्न अर्को खेलमा मकवानपुर क्रिकेट क्लबले बुटवल क्रिकेट ब्वाइजलाई ७ विकेटले पराजित गर्यो ।बुटवलले  प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य मकवानपुरले १८.३ ओभरमा ३ विकेट गुमाउदै पूरा गरेको थियो ।

मकवानपुका लागि हसिम अन्सारीले अविजित ७२ तथा ओपनर रवि थापाले ३६ रन जोडे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको बुटवलले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५७ रनको योगफल तयार पारेको थियो ।बुटवलका लागि  विशाल भण्डारीले ५२ र तुलबहादुर थापाले  अविजित ४० रन जोडे ।

 

 

प्रकाशित: २५ माघ २०७४ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App