coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नयाँ संरचनामा नेपाली टोली

काठमाडौं – नेपाली क्रिकेट टोलीका लागि नामिबिया नौलो नाम होइन । दुई वर्षअघि नामिबियामा युगान्डासँग २ रनले पराजित हुँदा इन्टरकन्टिनेन्टल कप खेल्ने मौका गुमाएको नेपालले नेदरल्यान्डमाथि २ विकेटको विजय हासिल गर्दा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाएको थियो ।

दुई वर्षको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप यात्रापछि पुनः डिभिजन २ मा झरेको नेपालले बिहीबारबाट नामिबियामै त्यही प्रतियोगिता खेल्दै छ, जुन २ वर्षअघि खेलेको थियो । नेपालले बिहीबार घरेलु टोली नामिबियाविरुद्धको खेलबाट आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिताको सुरुआत गर्नेछ । नामिबिया नेपालका लागि नौलो प्रतिद्वन्द्वी भने होइन ।

यद्यपि नेपालीको संरचनामा भने परिवर्तन भएको छ । गत संकरणमा नेपालबाट सबैभन्दा धेरै रन बनाएका ज्ञानेन्द्र मल्ल अहिले ओपनिङमा आउनेछन् । ज्ञानेन्द्रलाई नयाँ सदस्य विकेटकिपर ब्याट्सम्यान दिलीप नाथले साथ दिनेछन् । मध्यक्रममा अनुभबी ब्याट्सम्यान पारस खड्का र शरद भेषवाकर हुनेछन् । पारस र शरदलाई घरेलु प्रतियोगितामा राम्रो गरेका आरिफ शेख र यु–१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन् । फिनिसरका रूपमा युवा खेलाडी रोहितकुमार पौडेल वा अनिलकुमार शाहको युवा जोससँगै धैर्यता पनि परीक्षण हुनेछ ।

अनुभवी स्पिनर वसन्त रेग्मीले नेपालको स्पिन बलिङको नेतृत्व गर्नेछन् । भर्खरै इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्ससँग अनुबन्धन भएका सन्दीप लामिछानेले साथ दिनेछन् । तीव्र गतिमा सोमपाल कामी, पारस खड्का हुनेछन् ।यसअघि भएको पाँच भिडन्त (एक अभ्यास खेलसहित)मा नेपालले तीन खेल जितेको छ । पछिल्लो तीन खेल नेपालले आफ्नो पक्षमा पारेको छ । २ वर्षअघि नामिबियामै डिभिजन २ मा ३ विकेटको विजय हासिल गरेको नेपालले कीर्तिपुरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेल ४ विकेट तथा दोस्रो खेल ३ विकेटले जितेको थियो ।

प्रतियोगिताको तयारीस्वरूप नेपालले दुबईमा तीन अभ्यास खेल खेलेर अफ्रिकन देश नामिबिया गएको हो । तीन दिनअघि त्यहाँ पुगेको नेपाली टोलीका कप्तान पारस खड्का नामिबियाको कन्डिसनबारे भन्छन्, ‘घरेलु टोलीबाहेक अन्य टोलीका लागि यहाँको कन्डिसन नयाँ नै हुन्छ । हामीले यहाँ भिजेर राम्रो प्रदर्शन गर्नुपर्छ । अब यहाँ खेलेपछि अझ बढी थाहा होला ।’

प्रतियोगिताबारे कप्तान खड्काले थपे, ‘हामी जित्न चाहन्छौं । अहिले हामीले त्योबाहेक अरू सोचेका छैनौं । त्यहीअनुसार हामी हाम्रो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं ।’
२००३ मा विश्वकप खेलिसकेको नाबिमियालाई घरेलु मैदानको फाइदा हुन सक्छ । अघिल्लो संकरणमा नेदरल्यान्डपछि दोस्रो हुँदै डिभिजन १ मा उक्लिएको नामिबिया विश्व क्रिकेट लिग च्याम्पियनसिपको पुछारमा रहेर पुनः डिभिजन  २ मा झरेको हो ।

१८ खेल हुने प्रतियोगितामा नामिबियाको तीन स्थान विन्डहोक, वान्डरर्स  र ट्रस्टको युनाइटेडमा खेल हुनेछन् । नेपालले नामिबियाविरुद्ध ट्रस्टको युनाइटेडमा खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ । जिम्बाब्वेमा हुने छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले इङ्ल्यान्डमा हुने विश्वकपमा स्थान बनाउनेछन् । त्यसबाहेकका तीन एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछ ।

‘विश्वकप छनोट प्रतियोगितामा छनोट हुनु हाम्रो पहिलो लक्ष्य हो । तर दुई वर्षअघिबाट नै हामी छनोट प्रक्रियामा छौं । त्यसमा छनोट हुन सके नामिबियाका लागि ठूलो फाइदा हुनेछ,’ नामिबियाका कप्तान सरेल बर्गरले भने, ‘हाम्रो तयारी पनि राम्रो भएको छ । दक्षिण अफ्रिकामा हामीले अभ्यास खेल खेलका थियौं । जुन राम्रो पनि भयो । उक्त लयलाई हामी यो प्रतियोगितामा पनि निरन्तरता दिन चाहन्छौं । खेलाडीले पनि आफ्नो जिम्मेवारी बुझेका छन् र हामी यस प्रतियोगिताका लािग उत्साहित छौं ।’

 

 

प्रकाशित: २५ माघ २०७४ ००:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App