१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोलम्बियामाथि नेइमारको जित

रियो दी जेनेरियो- ब्राजिलका कप्तान नेइमारले जारी ओलम्पिकमा पहिलो गोल गरेपछि आयोजक टोलीले कोलम्बियामाथि २–० को जितका साथ लगातार तेस्रो पटक ओलम्पिक सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

विश्वकपमा कीर्तिमानी पाँच पटक उपाधि जिते पनि ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्ने लक्ष्यमा घरेलु मैदानमा उत्रिएको ब्राजिलका लागि आइतबार विहान क्वार्टरफाइनलमा नेइमार र लुआनले गोल गरेका थिए। नेइमारले १२ औं मिनेटमा दिलाएको अग्रतामा समय सकिन सात मिनेट बाँकी रहँदा लुआनले दोस्रो गोल गरे।

बार्सिलोनाका स्टार नेइमारले १२ औं मिनेटमा फ्रि–किकलाई गोलको दिशा दिन सफल भए। तर आन्द्रियास रोआलाई फाउल गरे पनि मैदानमै रहन पाउनु उनको भाग्य थियो। दुई टोलीका खेलाडी तथा प्रशिक्षकहरु समेत विवादमा उत्रिने खालको घटनामा पनि रेफ्रीले नेइमारलाई कुनै कार्वाही गरेनन्।

खेल तनावपूर्ण भए पनि ब्राजिलले धैर्य कायम राख्दा जारी रियो ओलम्पिकको चौथो खेलमा लगातार पोस्ट सुरक्षित गर्न सफल भयो। जितपछि टोलीले बुधबार रियोमा हुने सेमिफाइनलमा हन्डुरससँगको भेट पक्का गरेको छ।

ब्राजिलसँगको सम्भावित 'रिम्याच' का लागि जर्मनी पनि सही बाटोमा छ। दुई वर्षअघि ब्राजिलमै भएको विश्वकपको सेमिफाइनलमा जर्मनीले ब्राजिलमाथि ७–१ को रवाफिलो जित निकालेको थियो। टोलीले अन्तर्राष्ट्रिय फुटबलको फरक मञ्चमा ब्राजिलसँगको अर्को रोमाञ्चक भिडन्तको सम्भावना कायम राख्ने क्रममा आइतबार ब्रासिलियामा पोर्चुगललाई ४–० को नतिजामा निराश पार्‍यो। दुवै टोलीले आ–आफ्नो सेमिफाइनल खेलमा विजय हालिस गरे ब्राजिल र जर्मनीबीच शनिबार फाइनलमा भेट हुनेछ।

नेइमार राम्रो र नराम्रो दुवै कारणले खेलको केन्द्रमा रहँदा ब्राजिलले साओ पाउलोमा खराव व्यवहारका लागि चिनिने दक्षिण अमेरिकाको विपक्षीलाई पाखा लगाएको थियो। दुई वर्षअघि नेइमारले जर्मनीविरुद्धको सेमिफाइनल खेल्न सकेका थिएनन्। क्वार्टरफाइनलमा उनले स्ट्रेचारमा बसेर रुदै भाचिएधो खुट्टासहित मैदान छोड्नु परेको थियो। हामेस रोडरिग्वेजप्रेरित कोलम्बियालाई ब्राजिलले क्वार्टरफाइनलबाटै घर फर्काएको थियो, त्यसको बदला ५४ फाउल भएको खेलमा नेइमारलाई प्रतियोगिताबाटै वाहिर बनाएर कोलम्बियाले लियो। गतवर्षको कोपा अमेरिकामा पनि यी दुई टिमबीचको खेल त्यस्तै तनावपूर्ण भयो। १–० को पराजय भोगेको खेलको अन्त्यतिर नेइमारले धैर्य गुमाए। अत्यन्तै आक्रोषका साथ खेलेका उनले जेसन मुरिल्लोलाई हेडबट गरेका कारण फेरी पूरा प्रतियोगिता प्रतिवन्धमा गुमाउनुपर्‍यो।

त्यसैले आइतबारको खेल नेइमार र ब्राजिल दुवैका लागि निकै महत्वपूर्ण थियो। कोलम्बियासँगका शृंखलावद्ध खराव घटनाहरुको पृष्ठभुमिमा नेइमारले ओलम्पिकमार्फत एउटा सुनौलो मौका पाएका थिए। जसमा २५ यार्डबाट फ्रि–किकमा गोल गर्दै विगतका वदला लिन उनी सफल भए। तथापि कोलम्बियनसँग तनाव भइरहने उनको परम्पराले भने यहाँँ पनि निरन्तरता पायो। मध्यान्तर हुनै लाग्दा उनले रोवालाई खतरनाक फाउल गरे। जसले पूरै रंगशालाको माहोल केहीवेरका लागि तनावग्रस्त बननायो। तर उनले पहेलो कार्डमै उन्मुक्ति पाए।

हन्डुरसले दक्षिण कोरियालाई स्तव्ध पार्दै ब्राजिलविरुद्धको सेमिफाइनल भिडन्त पक्का गरेको थियो। बेलो होरिजोन्टेमा अल्बर्थ इलिसले ५८ औं मिनेटमा एकल प्रयासमा गरेको गोल एसियाली महारथीलाई स्तव्ध पार्न हन्डुरसलाई पर्याप्त भयो।

आर्सनलका सेर्गे जिनाब्री ओलम्पिकको उच्च गोलकर्ता बन्दा जर्मनीले उच्च फर्मलाई निरन्तरता दियो। जुलाईमा फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिप जितेको पोर्चुगल यो वर्षलाई नै गौरवमय बनाउन चाहन्थ्यो। तर जिनाब्री, माथियास गिन्टर, डेभी सेल्के र फिलिप म्याक्सले गोल गरेपछि जर्मनीसँग ४–० को पराजय भोग्दै टोली प्रतियोगिाबाट वाहिरियो। गतवर्ष यु–२१ युरोपियन च्याम्पियनसिपमा पोर्चुगलसँग ५–० को हार भोगेको जर्मनीका लागि यो मिठो बदला थियो।

'मलाई यो नतिजाबाट आश्चर्य लागेको छैन। किनकी प्रत्येक पछिल्लो खेलमा हामी सुधारिएको प्रदर्शन गर्नेछौं भनेर मैले पहिल्यै भनेको थिएँ,' २१ वर्षे जिनाब्रीले भने।

पछिल्ला दुई वर्ष चोटबाट लगातार सताइएका जिनाब्रीले आर्सनलको टोलीमा पनि पहिलो रोजाईबाट खेल्ने मौका पाइरहेका थिएनन्। ब्राजिलमा खेलाडीका रुपमा पूर्नजन्म लिएका जिनाब्रीले जारी ओलम्पिकका चार खेलमा ६ गोल गरिसकेका छन्। आइतबार जुलियन ब्रान्ड्टको पासलाई पहिलो हाफको इन्जुरी समयमा उत्कृष्ट पारामा गोल गर्दै उनले जर्मनीलाई अग्रता दिलाएका थिए। 

बुधबार साल्भाडोरमा हुने सेमिफाइनलमा जर्मनीले नाइजेरियासँग खेल्नेछ। क्वार्टरफाइनलमा चेल्सीका जोन ओबी मिकेल र अमिनु उमारको गोलमा अफ्रिकी टोली नाइजेरियाले डेनमार्कमाथि २–० को विजय हासिल गरेको थियो।

१९९६ को स्वर्ण पदक विजेता नाइजेरिया मैदानवाहिरका तमाम समस्याका बीच सेमिफाइनल पुग्न सफल भयो। खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै क्वार्टरफाइनल नखेल्ने चेतावनी दिएका थिए भने प्रशिक्षक साम्सन सियासियाले पनि पाँच महिनादेखि तलव नपाएको भन्दै राजीनामा दिने बताएका थिए।

'सबै पक्षबाट हामीलाई अपमानजनक व्यवहार गरिएको छ। खेलकुद मन्त्रालय, नाइजेरियाली फुटबल संघ कसैले पनि हाम्रो सही सम्मान गरेका छैनन। हामी सडक वालक होइनौं, आफ्नै वच्चालाई गर्ने यस्तो व्यवहार हुन्छ,?' सियासियाले फुटबल संघ र खेलकुद मन्त्रालयलाई प्रश्न गरेका थिए।

गतसाता पहिलो खेलमा जापानमाथि ५–४ को विजय हासिल गरेको खेलभन्दा केही घन्टाअघिमात्र नाइजेरिया एटलान्टाको अभ्यासस्थलबाट ब्राजिल आइपुगेको थियो। नाइजेरियाली फुटबल संघले समयमै हवाई टिकटको व्यवस्था नगरेका कारण टोली अन्तिम समयमा उडन बाध्य भएको थियो।

'यति धेरै समस्याका बीचमा पनि ओलम्पिकको सेमिफाइनल पुग्नु भनेको अत्यन्तै ठूलो उपलब्धी हो। हामीले यो उपलब्धीलाई निरन्तरता दिनुपर्छ,' मिकेलले भने।

प्रकाशित: ३१ श्रावण २०७३ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App