coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकप : पुलिस उपाधि नजिक

धरान – युवा खेलाडी प्रेरित नेपाल पुलिस क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनल पुगेको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा बुधबार पहिलो सेमीफाइनल खेलमा चीरप्रतिद्धन्दी संकटा क्लब काठमाण्डौंलाई २–१ को झिनो गोलअन्तरले हराउदै पुलिस उपाधि नजिक पुगेको हो।

पुलिसलाई निर्धारित समयको ५४ औं मिनेटमा रेजिन सुब्बा र अतिरिक्त समयको ११ औं मिनेटमा बुद्ध लामाले गोल गर्दै फाइनल पुर्याए। चर्चित खेलाडी प्रकाश बुढाथोकीले ६४ औं मिनेटमा बराबरी गोल फर्काएपनि संकटाको हार टार्न सकेनन्। जितसँगै पुलिसले तीन महिनाअघि चन्द्रगिरी गोल्डकपमा संकटासँग २–० हारको बदला पनि लिएको छ। संकटाले भने बुढासुब्बामै गत सँस्करणको फाइनलमा पुलिससँगको हारको बदला लिने मौका गुमायो।

बुढासुब्बा गोल्डकपको सर्वाधिक उपाधि विजेता पुलिस फाइनल पुगेको यो ९ औं पटक हो। बुढासुब्बाको दोस्रो, चौथौ, पाँचौं, १० औं र १९ औं सँस्करणको विजेता पुलिसले तेस्रो, छैटौं, १२ औं र १८ औं सँस्करणमा फाइनल खेले पनि उपविजेतामा सिमित भएको थियो। पुलिसले अब बिहिबार रुस्लान थ्री स्टार र भारत कलकत्ताको दुर्गापुर स्टिलबीचको विजेतासँग माघ २७ गते फाइनल खेल्नेछ। 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि मध्यान्तरपछिको ५४ औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। बुद्ध लामाले दिएको पासमा उनले संकटामा ३ जना खेलाडीलाई छक्याउदै लगेर आकर्षक गोल गरेका थिए। तर, पुलिसको अग्रता धेरै लामो समय टिक्न सकेन। ६४ औं मिनेटमा सेडरिक अबाको क्रसमा प्रकाश बुढाथोकीले वान टच प्रहारमा दर्शनीय गोल गर्दै संकटाको आशा जिवित राखे। निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि १५ मिनेट अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयको ११ औं मिनेटमा पुलिसका बुद्ध लामाले हेडमार्फत निर्णायक गोल गर्दै संकटालाई स्तब्ध बनाए। रेजिन सुब्बाको क्रसमा उनको हेड बारमा ठोक्किदै जाली चुमेको थियो। खेलको म्यान अफ दि म्याच घोषित हुदै संकटाका प्रकाश बुढाथोकीले नगद १० हजार हात पारे। 

खेलअवधिभर पुलिस र संकटा दुवैले आक्रमकरुपमा प्रस्तुत भएको थियो। यद्यपी, दुवै टिमले गोलपोष्टमा भने कम आक्रमण बुन्न सक्यो। पहिलो हाफको ४ मिनेटमा पुलिसका रवि पासवानको पासमा सुमन लामाको प्रहार डिबक्सबाट बाहिरिएको थियो भने १६ औं मिनेटमा सुमनको प्रहारलाई संकटाका भुषण सुब्बाले हेडमार्फत क्लियर गरिदिए। यस्तै, ५० औं मिनेटमा डिफेन्सले क्लियर गर्न नसकेको वलमा तेज तामाङको प्रहार आकासिएको थियो भने अतिरिक्त समयको ६ मिनेटमा रवि पासवानले पोष्टको नजिक वल पुर्याए पनि प्रहार गर्न सकेनन्। संकटाको तर्फबाट ११ औं मिनेटमा प्रकाश बुढाथोकीको क्रस पासमा राज पौडेल हेड गर्न चुक्दा मौका गुमेको थियो भने १४ औं मिनेटममा हेमन्त थापा मगरको फ्रिकिक पुलिसका गोलकिपर सत्रुघन चौधरीले पञ्च गरेका थिए। २५ औं मिनेटमा प्रकाशको पासलाई सेडरिक अबाले पोष्टको दिसा दिएपनि गोललाइन छुनुअघि नै पुलिसका दिनेश राजवंशीले क्लियर गरिदिएका थिए। यस्तै, ७८ आंै मिनेटमा रुपेश केसीको कर्नरमा प्रकाश बुढाथोकीको हेड बाहिरियो भने ८७ औं मिनेटमा प्रकाशको क्रसलाई गोलकिपरले समातेका थिए।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले युवा खेलाडीहरुको प्रदर्शन दिनप्रतिदिन सुधार हुदै गएकोमा खुशी व्यक्त गर्दै रणनीतिअनुसार खेलेर जितेको बताए। आफ्नो टिम टोटल फुटबल पस्कने लक्ष्यमा रहेको पनि उनले बताए। ‘हाम्रोमा युवा खेलाडी छन्, उनीहरुको खेल दिन प्रतिदिन लय समाउदैछ, टोटल फुटबल खेल्न प्रयासमा छौं,’ उनले भने, ‘३ अफ्रिकन खेलाडी र शारीरिकरुपमा वलियो संकटालाई पनि जित्दा खुशी छुँ।’ 
संकटाका प्रशिक्षक सल्याण खड्गीले प्रतिस्पर्धात्मक खेलमा अन्तिम समय खेलाडी सम्हालिन नसक्दा हार भएको प्रतिक्रिया दिए। खेलाडीले क्लियर गर्नुपर्ने वललाई कर्नर दिएपछि खेलाडीले रेजिन सुब्बालाई मार्क नगर्दा उनको पासमा बुद्धले गोल गरेको खड्गीले बताए। उनले भने, ‘खेल राम्रो थियो, तर क्लियर गर्नुपर्ने वल कर्नर भएर हार्यौं, चित्त नबुझ्दो हार भयो। लास्टमा ह्याण्ड वल पनि पेनाल्टी दिएन।’ प्रतियोगितामा बिहीबार दोस्रो तथा अन्तिम सेमीफाइनल खेल थ्री स्टार क्लब र भारत कलकत्ताको दुर्गापुर स्टिल बीच हुनेछ।

प्रकाशित: २४ माघ २०७४ १५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App