४ वैशाख २०८१ मंगलबार
राजनीति

सबै मन्त्रालय स्थापना, सभामुख कक्ष तयार हुँदै (फोटो फिचर)

मकवानपुर – माघको चिसोको पर्वाह नगरी प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आन्तरिक ब्यवस्थापनका कामहरु तिब्र गतिमा भइरहेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै ७ मन्त्रालय स्थापनाले बुधबार पूर्णता पाएसँगै थप तयारीहरु थालिएका छन्। श्रम कार्यालयको निर्माणाधिन ६ तले नयाँ भवनमा भौतिक पुर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापनासँगै आन्तरिक ब्यवस्थापन र कर्मचारी परिचालनमा ध्यान दिइने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव रमेशप्रसाद शिवाकोटीले बताए।

उता, प्रदेश सभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा पनि धमाधम काम भइरहेको छ। प्रदेश सभाको शनिबार बस्ने बैठकले सभामुखको चयन गर्ने र आइतबार उपसभामुख चयन गर्ने भएकाले तयारी तिब्र रुपमा भइरहेका हुन्। मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको सामग्रीहरु किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको दोश्रो तलामा सार्ने क्रम बुधबार अन्तिम चरणमा पुगेको थियो।

बुधबार साँढे ३ बजे प्रदेश सभा सचिवालयका सचिव रोजराज पाण्डे कार्यालय प्रयोजनका लागि ८ लाईन टेलिफोनका लागि टेलिकमलाई लेखिएको पत्रमा हस्ताक्षर गर्दै थिए। ‘प्रदेश सभा बैठक अघि नै धेरै कुरा ब्यवस्थित बनाउन हामी खटिरहेका छौं, उनले नागरिकलाई भने– ‘शुक्रबारसम्म सभामुख, उपसभामुखको कार्यकक्ष तयार पारी सचिवालयका शाखाहरु पनि तयार गर्ने सुरमा छौं।’

२० कोठा रहेको २ तले सचिवालय भवनको पहिलो तलामा १३ कोठा मध्ये तत्कालिन क्षेत्रीय शिक्षा निर्देशकको कार्यकक्षलाई सभामुखको कार्यकक्ष बनाईएको छ। नेपालको झण्डा, टेबुल, कुर्सी र आकर्षक शोफाले सजाईएको कार्यकक्षसँगै बैठक कक्ष बनाउने तयारी भईरहेको छ। सभामुखको कार्यकक्षको सामुन्नेको १० नम्बर कोठालाई उपसभामुखको कार्यकक्ष बनाईने प्रदेश सभा सचिवालयका सचिव रोजराज पाण्डेले बताए। उपसभामुखको कार्यकक्षसँगै सचिवालयका सचिवको कक्ष तयार गरिंदैछ। पहिलो तलामै लेखा, प्रमुख दलहरुको कार्यालय, स्टोर रहने भन्दै उनले भुई तलामा सभाहलसहित ७ कोठा रहेकोमा कार्यब्यवस्था शाखा, प्रशासनिक इकाई, स्वास्थ्य इकाई, मर्यादापालक कक्ष लगायत रहने बताए।

हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरसँगै रहेको बासुदेव सभागृहमा पर्याप्त पार्किङ्ग क्षेत्र, उपयुक्त स्थान र सुरक्षित रहेपनि ब्यवस्थित गर्न ३ महिना लाग्न सक्ने भएकाले तत्कालका लागि क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहललाई नै तयार पारिएको उनले बताए। बासुदेव सभागृहलाई प्रदेश सभा सभाहल र क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेश सभा सचिवालय सञ्चालन गर्न सके सहजता हुने भन्दै उनले अहिले बैठक बस्न प्रयोग गरिरहेको हललाई कन्फ्रेन्स हलको रुपमा प्रयोग गर्न सकिने बताए।

प्रदेश सभाको पहिलो बैठकमा सभाषदहरु बसेका भाडाको कुर्सी हटाएर नयाँ कुर्सी राख्ने तयारी भईरहेकाले सभाहल बुधबार प्रायः खाली थियो। तर बैठक हलमा पुराना हटाएर सिलिङ्गमा ठुल्ठूला बत्ती, फ्यान राख्ने काम बुधबारपनि भइरहेको थियो। टेलिफोन, जेनेरेटरको ब्यवस्थाका लागि पहल भईरहेको भन्दै उनले भने– ‘प्रदेश सभाको अबको बैठकलाई पनि भव्य र ब्यवस्थित बनाउने तयारी भईरहेको बताए।’ प्रदेश सभा सचिवालयमा २ अतिथी गृह, क्यान्टीन, गार्ड घर र पर्याप्त खाली जग्गा समेत रहेको छ।

आइतबार उपसभामुख चयन गरेपछि सोमबार प्रदेश सभाषदहरुका लागि संघीय संसद सचिवालयले अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। प्रदेश सभा सञ्चालन, बिधी, ब्यवस्थापन, नियम, ऐन कानुन बनाउने तरिका लगाएतका बिषयमा बिज्ञहरुले तालिम दिने बताईएको छ। त्यस्तै, संघीय संसद सचिवालयले प्रदेश सभा सचिवालयका कर्मचारीहरुका लागि मंगलबार अभिमुखीकरण गर्ने कार्यक्रम छ।

प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय डिभिजन सहकारी कार्यालयको भवनमा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा र सामाजिक बिकास मन्त्रालय क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा आइतबार स्थापना गरिएको थियो। त्यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जिल्ला समन्वय समितिको नयाँ भवनमा र आन्तरिक मामिला तथा कानून मन्त्रालय जिल्ला शिक्षा कार्यालयको भवनमा शुक्रबार स्थापना गरिएको थियो।

यस्तो छ शनिबारको कार्यसूची

प्रदेश नम्बर ३ को पहिलो बैठकले माघ २७ गते शनिबार बस्ने बैठकले सभामुख चयन गर्ने निर्णय गरेको थियो। त्यसरी चुनिने ३ नम्बर प्रदेशको सभामुख ७ प्रदेश रहेको नेपालकै पहिलो प्रदेश सभामुख हुनेछन्। त्यसैअनुसार प्रदेश सभा सचिवालय तयारीमा जुटेको प्रदेश सभा सचिवालयका सचिव रोजराज पाण्डेले बताए। उनका अनुसार शनिबार बिहान १० बजेदेखि साँढे ११ बजेसम्म सभामुखको उम्मेद्वारी मनोनयन दर्ता गर्ने तालिका छ। दिउँसो १ बजे सभामुखको उम्मेद्वारको नामावली प्रकाशित गर्ने र दिउँसो ३ बजे प्रदेश सभाको बैठक बसेर मतदान गर्नुपर्ने, नपर्नेबारे निर्णय हुनेछ। मतदान गर्नुपर्ने भए दर्ता नम्बर अनुसार पालैपालो मत बिभाजन गरी स्वीकृत÷अस्वीकृत प्रक्रिया अघि बढाई सभामुख चयन गरिनेछ। मतदान भए करिब साँढे १ घण्टा र नभए अझ कम समयमै शनिबारको बैठक सकिने सचिव पाण्डेले बताए।

प्रदेश सभा सचिवालयमै कर्मचारीको अभाव

प्रदेश सभा बैठक नजिकिएपनि प्रदेश सभा सचिवालयमै कर्मचारीको अभाव छ। २८ कर्मचारी रहने सचिवालयमा ७ जना मात्र कर्मचारी आएका छन्। सचिवालयमा खटाएको ७ जना कर्मचारी मध्येपनि ३ जना मात्र आएको प्रदेश सभा सचिवालयका सचिव पाण्डेले बताए। उनका अनुसार १ उपसचिव, ३ शाखा अधिकृत, २ नायब सुव्बा र १ जना कार्यालय सहयोगी कार्यरत रहेपनि १ उपसचिव, २ अधिकृत र १ नायबसुव्बा सम्पर्कमा आएका छैनन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App