८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश २ का विजयी सांसदलाई प्रमाणपत्र वितरण

जनकपुरधाम– प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका सदस्यहरुलाई बुधवार प्रमाणपत्र वितरण गरियो।प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली कांग्रेसका  मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका छन् ।  

त्यस्तै, खुलातर्फ काँग्रेसका जीतेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव र नेकपा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन्।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्दै कानून र संविधानलाई न्यायपूर्ण बनाउनुपर्ने धारणा राखे ।अब संघर्षको साटो समाधानको बाटो रोज्नुपर्नेमा उनले बताए ।

निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्य देवले जिम्मेवारीलाई सुविधाका रूपमा नलिई सेवाका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । संस्कृति मन्त्रीसमेत रहेका उनले संघीयताका माध्यमले विद्यमान गरिबी, पछौटेपनलाई हटाई देशको मुहार फेर्न अग्रसर हुनु जरूरी रहेको बताए ।(रासस)

प्रकाशित: २४ माघ २०७४ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App