कास्की – राष्ट्रियसभा निर्वाचनमा माओवादीले खाता खोलेको छ। बुधबार पोखरास्थित लोकसेवा आयोगको क्षेत्रीय निर्देशनालयमा भएको प्रदेश नं. ४ को निर्वाचनमा माओवादीका दलिततर्फका उम्मेदवार खिम कुमार विक विजयी भएका हुन्। उनले कुल ३ हजार ३ सय ९६ मतभार ल्याएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीत बहादुर नेपालीले भने २ हजार २ सय ९८ मतभार ल्याएका थिए। यस्तै ६ मत बदर भएका छन्।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचनमा एकजना दलित अनिवार्य गरिएको छ। दलिततर्फका उम्मेदवारको हकमा भने एकल संक्रमणीय विधी लागु हुँदैन्। उनी बहुमतीय विधि अनुसार विजयी भएका हुन्।
क्षेत्रीय निर्वाचन कार्यालयले मतदान पश्चात सुरुमा दलिततर्फका उम्मेदवारको मतगणना गरि नजिता सार्वजनिक गरेको हो। विकसँगै प्रदेश ४ मा दलित र अपाङ्गतर्फका उम्मेदवारको मतपरिणाम आइसकेको छ । अपाङ्गतर्फ कांग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध भईसकेका छन्।
दलितपछि महिलातर्फको मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुुवेदीले जनाए। महिला र खुलातर्फको हकमा भने एकल संक्रमणीय विधीबाट मतगणना हुनेछ। यो विधिमा १ हजार ४ सय ८६ मतभार ल्याउने विजयी हुनेछन्।
विजयी उम्मेदवारहरुलाई बिहीबार प्रमाणपत्र वितरण गरिनेछ।
प्रकाशित: २४ माघ २०७४ १२:१५ बुधबार