६ वैशाख २०८१ बिहीबार
राजनीति

७ नम्बर प्रदेशमा राजपा सांसद बाहेक सबै मत खस्यो

राष्ट्रिय सभामा मतदान गर्दै एक स्थानीय जनप्रतिनिधि। तस्बिरः अरूण बम

डोटी- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टीका दुईजना सांसद बाहेक सबै मत खसेको छ। राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सांसद कृष्ण बहादुर चौधरी र मालमती राना थारुले मतदान गरेका छैनन्।

दुबै जनाले आफ्नो पार्टीको उम्मेदवार पनि नरहेको र अन्य पार्टीका उम्मेदवारहरुले भोट पनि नमागेका कारण मतदान गर्न नआएको बताएका छन्। ‘हामीसंग कसैले भोट पनि मागेनन्। अनि मतदान गर्न आएका होईनौ,’ सांसद मालमतीले भनीन्।

७ नम्बर प्रदेशमा ८८ स्थानीय तहका एक सय ७६ जना नगरप्रमूख/उपप्रमूख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र ५३ जना प्रदेश सभाका सांसद गरी कुल दुई सय २९ जना मतदाता रहेका छन्। जसमध्ये एकबजेभित्रै दुई सय २७ मत खसेको छ।

बाँकी मत नखस्ने भएपनि मतदान केन्द्र भने निर्धारित समय तीन बजेसम्म संचालनमा रहनेछ। त्यसअघि नै निर्वाचन अधिकृतको कार्यालयले सर्बपक्षिय बैठकको आह्वान गरिसकेको छ । बैठक पछि सम्भवतः ४ बजेबाट मतगणना शुरु गरिने निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

७ नम्बर प्रदेशमा कुल ८ जनामध्ये दुईजना सांसदका लागि मतदान भएको हो । जसमा दलित कोटामा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका चक्रप्रसाद स्नेही र नेपाली कांग्रेसका शेरीराम पार्की प्रतिस्पर्धामा छन भने, अल्पसंख्यक/अपांग कोटामा बामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महेश कुमार महरा र नेपाली कांग्रेसका छत्रराज जोशी प्रतिस्पर्धामा छन्।

६ जना उम्मेदवार भने निर्विरोध निर्वाचित भैसकेका छन् । खुल्ला र महिला कोटामा तीन/तीन जना उम्मेदवार निर्वाचित भएका हुन्।

खुल्ला तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे, नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवर र नेकपा माओबादी केन्द्रका हरेराम चौधरी तथा महिला तर्फ नेकपा एमालेका कमला ओली, एमालेकै ईन्दु कडरिया र नेपाली कांग्रेसकी तारादेबी भट्ट निर्वाचित भएका हुन्। 

मतदान भएका बाँकी समूहमा पनि वाम गठन्धनकै उम्मेदबारहरु जित्ने सम्भावना छ। वाम गठबन्धनका पक्षमा फराकिलो मतभार छ। नेकपा एमालेसंग एक्लै दुई हजार ६ सय ९४ मतभार छ भने, जसमा माओबादी केन्द्रको नौ सय ९४ मतभार जोडेर तीन हजार ६ सय ९० मतभार रहदा नेपाली कांग्रेससंग एक हजार आठ सय ७२ मतभार मात्रै छ।

 

प्रकाशित: २४ माघ २०७४ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App