७ वैशाख २०८१ शुक्रबार
विचार

'मसिने' गंगामाया

अन्ततः यही साउन २७ गते दिनको २ बजे वीर अस्पतालको क्याबिन नम्बर ७ बाट आमरण अनशनमा बस्ने घोषणा पुनः गरिन् गोर्खा फुजेलकी गंगामाया अधिकारीले। केही सिप नलागेपछि भारी मनले न्याय नपाएको पीडामा उनले यस्तो घोषणा गरिकी हुन्। पानी र औषधिसमेत त्याग्ने निर्णय गरेको पत्रकारबीच उनले भनिन्। यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन होस् भनेर सरकारलाई बारम्बार झक्झकाइरहेकी थिइन् उनले। यसै महिनाको २२ गते सरकारलाई अन्तिम पटक माग पूरा गर्न ५ दिनेे 'अल्टिमेटम' समेत उनले दिएकी थिइन् तर सरकार भने यसप्रति बेखबर भएजस्तो गर्‍यो। उनको याचिका सुनेन। उसका कुनै प्रतिनिधि पनि यसबीच उनलाई भेट्न गएनन्।

यसरी अनशनमा बस्नुपर्ने उनको बाध्यता थियो– 'छोराको हत्याका प्रमुख आरोपित छविलाल पौडेललाई पुर्पक्षका लागि हिरासतमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना होस्' भन्ने। किनभने सरकारले यस आदेशलाई साँढे सात महिना (२०७२ पुस ६ गतेको आदेश) बितिसक्दा पनि पालना गरेन। बरु यसको विपरित तत्कालीन गृह मन्त्री एवं माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले पौडेललाई संरक्षण दिएको शंका गरिएको छ।

१२ वर्षदेखि अन्यायविरुद्धको निरन्तर संघर्षलाई जीवनको एक 'मिसन' बनाइन् गंगामायाले। करिब दुई वर्षअघिसम्म पति नन्दप्रसादको साथ थियो। तर सत्याग्रहकै क्रममा पतिको मृत्यु भएपछि यस लडाइँमा अब उनी एक्लै परेकी छन्। विडम्बना के छ भने राजनीतिक आडमा उनको निर्दोष छोराका हत्याराले उन्मुक्ति पाएका छन्। यसैबीच मुलुकमा ९ पटक प्रधान मन्त्री फेरिए तर उनको पीडा कसैले बुझेन। तथापि उनले हरेस खाएकी छैनन्। उनको जीवनको एकमात्र उदेश्य छ– आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादका हत्यारालाई न्यायको दायरामा ल्याउने।

यस न्यायको कठोर लडाइँमा साथ दिन न उनीसँग शारीरिक तागत छ न त उनका पछाडि राजनीतिक समूह अथवा शक्ति नै। तथापि न्याय प्राप्तिका लागि उनको आत्मविश्वास भने डगमगाएको छैन। उनको शरीरिक अवस्था धेरै कमजोर छ तर लक्ष्य हासिल गर्न उनी थाकेकी छैनन्। नैतिक बल अझ पनि उच्च छ उनको। पछिल्लो पाँचौं पटकको सत्याग्रहमा सरकारबाट न्याय पाउने आश्वासनमा तरल पदार्थमात्र लिने गरी ३५९औं दिनमा उनले अनशन तोडिन्। यति लामो समयसम्म कठोर अनशन बस्ने संसारकी उनी दोस्रो व्यक्ति हुन्। तर अधिकारी दम्पतीले न्यायका लागि गरेको यति लामो अनशन विश्व इतिहासमा पहिलो हो।

२०६१ साल जेठ २४ गते चितवन टाँढीको बकुलौर चोकमा भएको आफ्नो छोराको निर्मम हत्यामा कुनै सम्झौता गर्न तयार छैनन् गंगामाया। यसले गर्दा यस पटकको अनशनबाट उनको ज्यानसमेत जान सक्छ। स्मरण रहोस्, उनका पति नन्दप्रसादको यसै सन्दर्भमा ३३४औं दिन २०७१ साल असोज ६ गते काठमाडौंको वीर अस्पतालमा निधन भयो। उनको पार्थिव शरीरको अन्त्येष्टि भएको छैन। त्यसलाई त्रिभुवन विश्वविद्यालयको टिचिङ हस्पिटल महाराजगन्जको शवगृहमा राखिएको छ। उनको निर्जीव शरीरसमेत न्यायको पर्खाईमा रहेको गंगामायाको बुझाई छ। हेक्का रहोस्, नन्दप्रसादको निधन तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्व सरकारको पालामा भएको हो।

नेपालको नयाँ संविधान जारी भएपछि सुशील कोइराला सरकारको अवसान भयो। नेकपा एमालेको नेतृत्वमा तत्कालीन एमाओवादीसमेतको गठबन्धनमा नयाँ सरकार बन्यो। केपी शर्मा ओली देशको प्रधान मन्त्री बने। गंगामायाले न्यायालयको आदेश पालना गर्न 'भिडियो रेकर्ड सन्देश' अधिकारकर्मीमार्फत ओलीसमक्ष पठाइन् बालुवाटारमा। त्यसमा छोराको हत्याका प्रमुख आरोपितलाई सर्वोच्चले पुर्पक्षका लागि हिरासतमा लिन गरेको आदेश पालना होस् भन्ने अपिल थियो। उनले ओली र उनकी श्रीमती राधिका शाक्यसमेत वीर अस्पतालमा भेट्न आएको र उनको संघर्षमा ऐक्यबद्धता जनाएको स्मरण गराएकी थिइन्। त्यस भिडियो सुनेर बडो गम्भीर र भावुक भए ओली। यसको प्रतिक्रियामा अदालतकोे आदेश पालना गर्नु सरकारको कर्तव्य हो र त्यसको विकल्प पनि छैन भनेका थिए उनले तर सरकारले आजसम्म त्यसको पालना भने गरेको छैन।

आफ्नै गठबन्धनको सरकारलाई हटाएर पुष्पकमल दाहाल दोस्रो पटक मुलुकको प्रधान मन्त्री बने। उनले शीतल निवासमा 'जनता र राष्ट्र' का नाममा राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ यही साउन २० गते लिए। उनले प्रचलित कानुनका अधीनमा रही बिनापूर्वाग्रह, पक्षपात र इमानदारीका साथ काम गर्ने कसम राष्ट्रका सामु खाए। यसपछि दाहाल माओवादी केन्द्र पार्टीका मात्र होइन, राष्ट्रको प्रधान मन्त्री भएका छन्। उनको ९ महिने कार्यकाल यही सपथको कसीमा जाँचिनेछ। उनले खाएको सपथ देखावटी हो वा वास्तविकता? भन्ने गंगामायाको मागको सन्दर्भबाट खुल्नेछ। किनभने उनले पनि सार्वजनिकरूपमा भनेकी छन्–  प्रचण्ड राष्ट्रका प्रधान मन्त्री हुन् भने मलाई उनले न्याय अवश्य दिलाउनेछन्।' त्यसैले दाहाल अब माओवादी केन्द्रको मात्र होइन, राष्ट्रको नै प्रधान मन्त्री बन्नेछन्। आशा गरौं, गंगामायाको अनशनले नन्दप्रसादको नियत भोग्नुपर्ने छैन।

आमरण अनशनबाट सत्याग्रहको थालनी २०औं शताब्दीमा बेलायतबाट भएको पाइन्छ। अधिकारकर्मी मारियोन डनलप 'महिलाले मतदान गर्न पाउने अधिकार' का लागि चलाएको आन्दोलनमा सन् १९०९ मा जेल परिन्। त्यसैबेला ९१ घण्टासम्म अन्न पानी उनले लिइनन्। स्थिति नाजुक भएपछि उनी 'सहीद' बन्ने भयबाट सरकारले उनलाई जेलमुक्त गर्‍यो। यही अधिकारको माग राख्ने अन्य अधिकारकर्मी इमिलिन प्यांकहुस्टा (२०औं शताब्दीको १०० मध्येकी उत्कृष्ट व्यक्ति) की बहिनी म्यारी क्लार्कको 'फोेर्स फिडिङ' बाट जेलमै मृत्यु भयो। त्यसपछिको घटनामा सन् १९१७ मा संयुक्त राज्य अमेरिकामा पनि 'महिलाको मतदान अधिकार' का लागि संघर्षरत् अधिकारकर्मी एलिसा पाउल जेलमा अनशन बसिन्। सोही साल आयरल्यान्डका थोमस प्याटि्रक आसेलाई २० सेप्टेम्बरमा ५ दिनको अनशनमा अस्पताल लगेर 'फोर्स फिडिङ' गराउँदा निधन भयो। पछिल्ला घटनाहरुलाई केलाउँदा ५ मे १९८१ म्ाा ६६ दिनको आमरण अनशनपछि आयरल्यान्डका राष्ट्रवादी नेता एवं सांसद २७ वर्षीय बबी स्यान्सको निधन भयो। यस घटनाले विश्वव्यापी बहस एवं चर्चा पायो।

हिन्दुस्तानका २४ वर्षीय स्वतन्त्र सेनानी जीतेन्द्रनाथ दासको मृत्यु ६३औं दिनको अनशनपछि भयो। उनको मृत्यु १३ सेप्टेम्बर १९२९ लाहोर जेलमा भएको हो। अर्का स्वतन्त्र सेनानी भगत सिं ११६ दिन अनशन बसेको इतिहास छ। महात्मा गान्धीले जम्मा १७ पटक आमरण अनशन बसेका रहेछन्। सबैभन्दा बढी ३ पटक हिन्दु मुस्लिम एकता, छुवाछूत अन्त्य र साम्प्रदायिक दंगा रोक्न २१/२१ दिनको अनशन बसे। भारतको पछिल्लो इतिहासमा मनिपुरकी इरोम शर्मिलाको अनशनलाई लिइन्छ। हिरासतमा १६ वर्षसम्म राखेर 'फोर्स फिडिङ' बाट उनलाई सरकारले बचायो। यति लामो समयसम्म अनशन बस्ने उनी विश्वको पहिलो व्यक्ति हुन्। हालसालै अगस्ट ९ मा अर्को उपायबाट संघर्ष गर्ने निर्णय गरेर उनले अनशन तोडेकी छन्।

नेपालको इतिहासमा अनशनका क्रममा मृत्यु भएका पहिलो व्यक्ति नन्दप्रसाद अधिकारी हुन्। ३३४औं दिनमा अनशनका क्रममा उनको ज्यान गयो। अस्पतालले नसाबाट टोटल प्रोटिन इन्जेक्सन दिएर त्यतिका दिन बचाएको हो उनलाई। अन्य उल्लेखनीय अदाहरणमा जननेता बिपी कोइराला २७ दिन अनशन बसेका थिए। उनको ज्यान जोखिममा परेपछि राणा सरकारले उनलाई जेलमुक्त गर्‍यो। २०४६ सालपछि मानव अधिकारका सवाललाई लिएर कृष्ण पहाडी ३ पटक अनशन बसे। सुकुमबासी मुद्दाको समाधानका लागि डिबी धौलाकोटे समूह पटक–पटक अनशनमा बस्यो। गोविन्द केसी स्वास्थ्य क्षेत्र र अख्तियार प्रमुखको स्वेच्छचारी प्रवृत्तिविरुद्ध आठौं पटक अनशन बसिसकेका छन्।

 'मसिने' उपनामले फुजेलमा चिनिएकी गंगामायाको यो छैटौं अनशन हो। भद्र, सुशील एवं नरम व्यवहारका कारणले मसिने भनिए पनि न्यायको लडाइँमा उनी दृढ एवं कठोर छिन्। कसैका उक्साहट अथवा बहकाउमा पर्दिनन् उनी। 'न्याय–योद्धा' की प्रतिमूर्तिका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित छन् उनी। त्यति सहज ढंगबाट हार खाने सत्याग्रही होइनन् गंगामाया। न्याय खोज्दाखोज्दै उनको नियति नन्दप्रसादको जस्तो नहोला भन्न भने सकिन्न। त्यसो भएमा यो मुलुकमा दोस्रो पटक 'न्यायको हत्या' हुनेछ। यसका लागि सम्बन्धित सरकार र राष्ट्रले नै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ भविष्यमा।

प्रकाशित: ३१ श्रावण २०७३ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App