coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा सदस्यका लागि मतदान (फाेटाे फिचर)

काठमाडौँ – राष्ट्रियसभा सदस्यकाे निर्वाचन शुरु भएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बुधबार विहान १० बजेबाट मतदान शुरु भएको हो। 

२ नम्बर प्रदेशमा आठै सिटमा निर्विरोध मनोनयन भैसकेकाे कारण बाँकी १,३,५,६ र ७ नम्बर प्रदेशमा निर्वाचन भएको हो। 

संविधानअनुसार एकल संक्रमणीय मत प्रणालीअनुसार प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । ५६ पदमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेकाले ३२ पदका लागि निर्वाचन हुन लागेको छ । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना हुनेछन्।
महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि  राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन्।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्य गरी कुल २ हजार ५६ मतदाता छन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख गरी १५ सय ६ जना र ५ सय ५० जना प्रदेशसभाका सदस्य छन्। निर्वाचनमा गाउँपालिका नगरपालिकाका प्रमुख उपप्रमुखको मतभार १८ र प्रदेशभा सदस्यको मतभार ४८ रहने व्यवस्था छ।

प्रदेश २ का ८ जना सदस्य निर्विरोध निर्वाचित भइसकेकाले अब बाँकी ६ प्रदेशका स्थानीय तहका १ हजार २ सय ३४ र प्रदेश सभाका ४ सय ४३ गरी कुल १६ सय ७७ जना मतदाताले बुधबार मतदान गर्नेछन्।

तस्बिर सबै दिपेश श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App