१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बर्खास्तीको जोखिमबाट चिन्तित छैन : कोन्टे

लन्डन – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले इङ्लिस प्रिमियर लिगमा सोमबार वाटफोर्डसँग ४–१ ले पराजित भएपछि लिग उपाधि जितेको १ वर्ष बित्न नपाउँदै प्रशिक्षकबाट बर्खास्त हुन सक्ने जोखिमबाट आफू चिन्तित नभएको बताएका छन् ।

साबिक विजेता चेल्सीले पछिल्लो दुई खेलमा ७ गोल खाइसकेको छ । गत हप्ता चेल्सी घरेलु मैदानमा बर्नमाउथसँग ३–० ले पराजित भएको थियो । यससँगै चेल्सीको च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि कमजोर बन्दै गएको छ ।

‘भोलि अर्कै दिन हो । म चेल्सीको प्रशिक्षक हुन्छु वा हुदिनँ त्यो चिन्ताको विषय होइन,’ चेल्सीका प्रशिक्षक कोन्टेले भने, ‘म बिनाचिन्ता निदाउन सक्छु । मैले मेरो पक्षबाट सक्दो गरिरहेको छु । यही पर्याप्त छैन भने क्लबले फरक निर्णय गर्न सक्छ ।’हारका बावजुद चेल्सी चौथो स्थानमा रहन सफल भएको छ । २६ खेलबाट चेल्सीले ५० अंक जोडेको छ । जुन तेस्रो स्थानको लिभरपुलभन्दा १ अंकले कम हो भने पाँचांै स्थानको टोटेनह्याम भन्दा १ अंकले बढी हो । शीर्ष स्थानको म्यानचेस्टर सिटीले ६९ अंक जोडेको छ भने ५६ अंकका साथ म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।

कोन्टेले नयाँ खेलाडी अनुबन्धित गर्ने रणनीतिप्रति बारम्बार गुनासो गर्दै आएका छन् । भिकारेज रोडमा इटालियन प्रशिक्षक कोन्टेले पुनः एक पटक स्ट्राइकरबिनाको टोली उतारेका थिए । अल्भेरो मोराटा चोटका कारण मैदान बाहिर छन् भने नयाँ अनुबन्धित ओलिभर जिरौड पूर्ण रूपमा टोलीसँग घुलमिल भइसकेका छैनन् ।

प्रशिक्षक कोन्टेले खेलाडीको प्रदर्शनमा पनि गुनासो पोखेका थिए । उनले थपे, ‘म फरक ढंगले सुधारका लागि निरन्तर प्रयास गरिरहेको छु । तर, आज खेलाडीले धेरै खराब प्रदर्शन गरे । यसको जिम्मेवारी मैले लिनुपर्छ किनकि पहिलो रोजाइका ११ खेलाडी छनोटमा म चुकेको हुन सक्छु ।’टिमोउइ बाकायोकोले ३०औं मिनेटमा दोहोरो पहेंलो कार्डको सामना गरेर बाहिएपछि चेल्सी १० खेलाडीमा सीमित बनेको थियो । ४२औं मिनेटमा ट्रोए डिनेले पेनाल्टीमा गोल गर्दै घरेलु टोली वाटफोर्डलाई अग्रता दिएका थिए ।

८२औं मिनेटमा इडेन हाजार्डले बराबरी गोल फर्काए पनि अन्तिम सात मिनेटको अन्तरमा तीन गोल खाएपछि भ्रमणकारी चेल्सी ४–१ ले पराजित बनेको थियो । डारेल जनमतले ८४औं मिनेटमा गोल गरेका थिए भने त्यसको चार मिनेट बित्न नपाउँदै जेरार्ड डेउलोफुले वाटफोर्डका लागि अर्को गोल थपेका थिए । इन्जुरीमा समय रोबर्टो पेरेयाले चौथो गोल थपे ।‘दोस्रो हाफमा मैले दृढ चाहना देखेको थिएँ तर धेरै अन्योल थियो । हामीले बराबरी गरेका थियौं र त्यो अवस्थामा हामीले राम्रो गर्न सक्नुपथ्र्यो । राम्रो टोलीले त्यो गर्न सक्नुपर्छ । तर दश मिनेटमा तीन गोल खायौं ।’
लाजियो पराजित
रोम– उरुग्वेका डिएगो लाजल्टले इन्जुरी समयमा गरेको गोलमा जिरोनाले सोमबार लाजियोलाई २–१ ले पराजित गरेको छ ।भ्रमणकारी जिरोनाले गोरान पाण्डवको गोलबाट ५५औं मिनेटमा अग्रता लिएको थियो । त्यसको चार मिनेट बित्न नपाउँदै मार्को पारोलोले बराबरी गोल फर्काए पनि अन्तिम मिनेटमा सम्हालिन नसक्दा लाजियो अंक बाँड्नबाट चुक्यो । घरेलु मैदानमा भोगेको हारका बाबजुद लाजियो इटालियन सिरी ‘ए’ को तेस्रो स्थानमा छ । लाजियोले २३ खेलबाट ४६ अंक जोडेको छ, जुन दोस्रो स्थानको युभेन्ट्सभन्दा १३ अंकले कम हो । शीर्ष स्थानको नेपालीले समान २३ खेलबाट ६० अंक जोडेको छ ।

 

 

 

 

प्रकाशित: २४ माघ २०७४ ०४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App