६ वैशाख २०८१ बिहीबार
खेल

आयोजक न्यु डाइमन्डलाई उपाधि

उपाधिसाथ न्यु डायमन्ड खेलाडी

काठमाडौं – शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक शिवम् न्यु डायमन्ड एकेडेमीले जितेको छ । विभागीय क्लब एपिएफलाई ३–१ सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधिमाथि कब्जा गरेको हो ।
 
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न फाइनल खेलको पहिलो सेट भने न्यु डायमन्डले २६–२४ ले गुमाएको थियो । तर त्यसपछि उत्कृष्ट पुनरागमन गरी लगातार तीन सेट जित्दै उपाधि कब्जा गरेको हो । न्यु डायमन्डले दोस्रो, तेस्रो र चौथो सेटमा २५–२३, २८–२६, २५–२३ ले एपिएफ क्लबलाई पराजित गर्न सफल भयो ।
 
न्यु डायमन्डको जितमा प्रतिभा मालीले स्पाइकबाट ४४, सर्भिसबाट ५ र ब्लकबाट ३ अंक जोडिन् । त्यस्तै, कृपा अधिकारीले सर्भिसबाट ६ अंक जोडिन् । त्यस्तै, ललिता नाथले स्पाइकबाट १०, सर्भिस र ब्लकबाट समान १÷१ अंक जोड्न सफल भइन् ।
एपिएफकी सरस्वती चौधरीले टिमका लागि उत्कृष्ट प्रदर्शन गर्दै स्पाइकबाट २१, सर्भिसबाट ३ र ब्लकबाट २ अंक प्राप्त गरिन् । एपिएफकै रेश्मा भण्डारीले स्पाइकबाट १२, ब्लकबाट १ र सर्भिसबाट १ अंकको योगदान गर्दा नेमिका चौधरीले स्पाइकबाट ११, ब्लकबाट २ र सर्भिसबाट १ अंक अंकको योगदान गरेकी थिइन् ।
 
शिवम् सिमेन्टको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको उपाधि जितेको न्यु डायमन्डले १ लाख ५१ हजार नगदसहित ट्रफी प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको एपिएफले १ लाख १ हजार नगदसहित ट्रफी हात पारेको छ । मंगलबार नै तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले पश्चिमाञ्चलको टप्स उच्च माविलाई २५–१६, २६–२४ र २५–२१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ । आर्मीले ५१ हजार र चौथो भएको टप्सले २१ हजार नगद प्राप्त गरेका छन् ।
 
प्रतियोगिताका  उत्कृष्ट खेलाडी प्रतिभा माली घोषित भएकी छिन् । उनले शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गरेको नगद १० हजार प्राप्त गरिन् । त्यस्तै, स्पाइकर एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट ब्लकर आर्मीकी संगम महतो, उत्कृष्ट क्विकर न्यु डायमन्डकी ललिता नाथ, उत्कृष्ट सर्भर न्यु डायमन्डकै पनामिका राई, उत्कृष्ट लिबरो न्यु डायमन्डकी सविना श्रेष्ठ, उत्कृष्ट सेटर न्यु डायमन्डकै कृपा अधिकारी घोषित भए । उनीहरूले जनही ५ हजार नगद प्राप्त गर्दा उत्कृष्ट प्रशिक्षकमा न्यु डायमन्डका कुमार राई घोषित भए । नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेसरी मालीबाट सौजन्य गरिएको नगद १५ हजार प्राप्त गरे ।


 

 

प्रकाशित: २४ माघ २०७४ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App