८ वैशाख २०८१ शनिबार
खेल

नीराजनको ह्याट्रिकले थ्री स्टार सेमिफाइनलमा

रुस्लान थ्र्री स्टार (नीलो) र सिजी सुदूरपश्चिम ११ का खेलाडीहरू मैदानमा भिड्दै । तस्बिर - रोहित राई

धरान – नीराजन खड्काको ह्याट्रिकप्रेरित रुस्लान थ्री स्टार क्लब धरानमा जारी २०औं बुढासुब्बा रेडबुल गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान १६ स्थित प्रादेशिक धरान रंगशालामा मंगलबार सिजि सुदूरपश्चिम ११ विरुद्ध ४–० को सहज जित दर्ता गराउँदै थ्री स्टारले सेमिफाइनल यात्रा तय गरेको हो । बुढासुब्बा गोल्डकपमा चार पटकको उपाधि विजेता थ्री स्टारका लागि नीराजन खड्काले ३ गोल गरे भने सुनील बलले एक गोल गरेका थिए । थ्री स्टारले बिहीबार दोस्रो सेमिफाइनलमा भारत कोलकाताको पिएसआर दुर्गापुर स्टिलसँग प्रतिस्पर्धा गर्नेछ । दुर्गापुर स्टिलले आइतबार आयोजक धरान फुटबल क्लबलाई सडन डेथमा निराश बनाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

प्रतिस्पर्धात्मक खेलको सातौं मिनेटमा पहिलो गोल गरेका नीराजनले ५३औं र इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने सुनीलले पहिलो हाफको ३७औं मिनेटमा एक गोल गरेका थिए । नीराजनको ह्याट्रिक जारी प्रतियोगितामा पहिलो हो ।

सुनिल बलको क्रस पासमा गोलको खाता खेलेका खड्काले रञ्जित धिमालको क्रस पासमा हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरेका थिए । इन्जुरी समयमा रञ्जितको क्रसमा डी बक्सभित्र सुदूरपश्चिमका कप्तान चेतन थारूको ह्यान्डबल भएपछि रेफ्री विक्रम कार्कीले थ्री स्टारलाई पेनाल्टी अवसर दिए । पेनाल्टीमा गोल गर्दै नीराजनले ह्याट्रिक पूरा गरे । ३७औं मिनेटमा नीराजनको पासमा सुनीलले डी बक्सबाट गरेको कडा प्रहारले जाली चुमेका थिए । खेलको म्यान अफ दी म्याच थ्री स्टारका ह्याट्रिककर्ता नीराजन घोषित भए । उनले नगद १० हजार थापे ।राष्ट्रिय खेलाडीले भरिएको थ्री स्टारले थुप्रै अवसर पाए पनि सदुपयोग हुन नसक्दा धेरै फराकिलो अन्तर हुन सकेन ।

पहिलो हाफको १३औं मिनेटमा सुनील बलको क्रसलाई सुदूरका नरेन्द्र चौधरीले हेड गरेर फर्काइदिए भने पहिलो हाफको इन्जुरी समयमा विश्वास श्रेष्ठको क्रस पासमा अजय मार्टिनले वान भर्सेस वानमा गोल गर्न चुके । यस्तै, ४९औं मिनेटमा विजय धिमालको पासमा विश्वास श्रेष्ठले पनि डी बक्सभित्र वान भर्सेस वानमा गरेको प्रहार बाहिरिएको थियो भने ६५औं मिनेटमा बुद्ध लामाको प्रहारलाई सुदूरका गोलकिपर अमन्त सेखले रोकेका थिए । फराकिलो गोलअन्तरले पराजित भए पनि सुदूरपश्चिमले खेलअवधिभर थुप्रै पटक गोल गर्ने प्रयास गरेको थियो । गोलपोस्टमा थुप्रै आक्रमण बुन्ने प्रयत्न गरे पनि सुदूरपश्चिमले विपक्षीको रक्षापंक्तिलाई तोड्न सकेन ।

पहिलो हाफको २१औं मिनेटमा चेतन थारूको फ्रिकिक गोलपोस्टमाथिबाट बाहिरियो भने २७आै मिनेटमा जीवन चौधरीको पासलाई अफ्रिकन अरोन डोनमहले नभेट्दा मौका गुमेको थियो । यस्तै, ३४औं मिनेटमा मणिराम चौधरीको सशक्त प्रहार पोलनजिकबाट बाहिरिएको थियो भने ६१औं मिनेटमा धनबहादुर थापाको क्रसमा हेड गर्नुअघि नै अरोन डोनमह लडेपछि गोल गर्ने अवसर खेर गएको थियो । यसै गरी, ६७औं मिनेटमा जीवन चौधरीको पासमा अरोनको कडा प्रहार थ्री स्टारका डिफेन्सले रोकेर बाहिर फालेका थिए ।थ्री स्टारका प्रशिक्षक मेघराज केसीले सुदूरपश्चिमले पनि राम्रो खेलेको प्रतिक्रिया दिँदै विपक्षीमा अनुभव कम भएको फाइदा आफ्नो टिमले पाएको बताए । ‘सुदूरपश्चिम राष्ट्रिय लिग खेलेको टिम हो, उसले पनि लामो तयारी गरेकाले राम्रो खेल्यो ।

तर, हामीले स्कोर गर्यौं,’ केसीले भने, ‘उनीहरूमा अनुभवको कमी थियो, हाम्रा अनुभवी खेलाडी भएकाले बाजी मर्यौं ।’ सुदूरपश्चिम क्लबका अध्यक्ष एवं कोच सुरेश हमालले पहिलो गोल खाएर तालमेल बिग्रिनुका साथै २ विदेशी खेलाडी र डिफेन्सले अपेक्षाअनुरूप नखेल्दा हार भएको बताए । ‘पहिलो गोल खाएपछि तालमेल नै बिग्रियो । डिफेन्स र विदेशी आशा गरेजस्तो चलेनन्,’ उनले भने, ‘विदेशीबाहेक अरू सबै लोकल खेलाडी हुन्, थ्री स्टारमा त ८ जना राष्ट्रिय खेलाडी छन् । अनुभवले पनि खेलमा प्रभाव प¥यो ।’ प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल खेल साबिक विजेता नेपाल पुलिस क्लब र साबिक उपविजेता संकटा क्लबबीच हुनेछ ।


 

प्रकाशित: २४ माघ २०७४ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App