coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘मुस्लिम छात्राका लागि महिला विश्वविद्यालय आवश्यक’

नेपालगन्जको सरस्वती माविका छात्रा विद्यालय कक्षा कोठाबाट बाहिरिँदै । तस्बिरः विशाल रानामगर

बाँके –नेपालगन्जको पुरानो विद्यालय हो सरस्वती मावि । महिलाले मात्र अध्ययन गर्ने भएकाले मधेसी, मुस्लिम विद्यार्थीको पहिलो रोजाइमा पर्छ यो विद्यालय । सरस्वती माविमा कक्षा १ देखि १० सम्म ६ सय ९४ विद्यार्थी पढने गरेका छन् । त्यसमा १ सय ९९ जना अर्थात् २८ प्रतिशत विद्यार्थी मुस्लिम छन् । १० कक्षामा अध्ययनरत ७८ मध्ये १६ मुस्लिम छात्रा छन् । माध्यमिकस्तरको शिक्षामा मुस्लिम छात्राको आकर्षण छ । तर, त्यो आर्कषण उच्च शिक्षामा पुगेर ह्वात्तै घट्छ, करिब शून्य अवस्थामा पुग्छ । त्यसको मुख्य कारण हो महिलाका लागि छुट्टै क्याम्पस नहुनु र सामाजिक अन्धविश्वास ।
सामाजिक मान्यताले मुस्लिम महिलालाई उच्च शिक्षा अध्ययन गर्न अवरोध पुर्‍याइरहेको छ । १० कक्षा उतीर्ण गरेपछि अधिकांश छात्राले उच्च शिक्षा हासिल गर्ने अवसर पाउँदैनन् । घरमै बस्ने गर्छन् उनीहरू ।  छोरीलाई छोराहरू पढ्ने विद्यालयमा पढाउनु हँुदैन भन्ने अन्धविश्वास अझै व्याप्त छ मुस्लिम समुदायमा । जसले गर्दा मुस्लिम महिला विद्यार्थी उच्च शिक्षा हासिल गर्न वञ्चित भैरहेको बताउँछन् मुस्लिम अधिकारकर्मी प्रवेश सिद्धिकी। 

जिल्लाका हरेक विद्यालयले जिल्ला शिक्षा कार्यालयलाई विद्यार्थीको पूर्ण विवरण पठाउने गर्छ । त्यसका लागि विद्यालयले (आइइआइएस) एजुकेसनल म्यानेजमेन्ट इन्फरमेसन सिस्टमको प्रयोग गर्ने गर्छन् । तर, बाँकेमा कति मुस्लिम छात्राले उच्च शिक्षा प्राप्त गरे भन्ने विवरण छैन । बाँकेमा उच्च शिक्षा हासिल गर्ने मुस्लिम छात्रा कति छन् भन्ने यकिन छैन ।  बाँकेमा हरेक वर्ष कति मुस्लिम छात्रा उतीर्ण हुन्छन् भन्ने विवरण नभएको बताउँछन् जिल्ला शिक्षा कार्यालय बाँकेका शाखा अधिकृत लोकबहादुर शाही। 

नेपालगन्ज मुस्लिम समुदायको बाहुल्यता भएको सहर हो । मुस्लिम समुदायमा धेरैले सुरुमा छोरीलाई मद्रसामा पढ्न पठाउने गरेका छन् । मद्रसामा छात्रभन्दा छात्राको संख्या धेरै छ ।  मद्रसापछि महिलाले मात्र पढ्ने विद्यालय रोजाइमा पर्नेगर्छ । नेपालगन्जमा १ सय १८ मद्रसा छन् । १० कक्षासम्म पढाइ हुने विद्यालय एकमात्र छ दारुल उलम बरकातीया । जहाँ उर्दु, अरबीसँगै नेपाल सरकारले निर्धारण गरेको अन्य पाठ्यक्रमअनुसार पढाइ हुनेगर्छ । तर, पछिल्लो समय सबै धर्मका विद्यार्थीले पढ्ने विद्यालयमा मुस्लिम छात्राको आकर्षण बढ्दो छ । तर, उच्च शिक्षाको व्यवस्था नहुँदा पढ्न पाउने अधिकारबाट उनीहरू वञ्चित भैरहेको बताउँछन् मुस्लिम पत्रकार सिराज खान।

‘नेपालगन्जमा महिला विश्वविद्यालयको आवश्यकता छ । केही धार्मिक मान्यताले समस्या पारेको छ । तर, त्यो विस्तारै घट्दै गएको छ,’ खानले भने, ‘मुस्लिम समुदाय छोरीलाई छात्रा पढ्ने विद्यालयमा पढाउन चाहन्छ । मुस्लिम समुदायमा धेरैजसो समुदाय आर्थिक रूपमा कमजोर छन् । सम्पन्नले छोरीलाई डाक्टरसम्म बनाएका छन् । केही राजनीतिक क्षेत्रमा नेतृत्वदायी पदमा छन् । तर, त्यो संख्या धेरै छैन । विपन्न मुस्लिम समुदायलाई सरकारले शिक्षामा विशेष सहयोग गर्नु जरुरी छ।’  

पछिल्लो समय पर्दामा बसेका मुस्लिम महिला बाहिर आउन खोजेका छन् । जसका कारण उनीहरूमा छोरीलाई पढाउनुपर्छ भन्ने धारणाको विकास भैरहेको बताउँछन् सरस्वती माविका प्रधानाध्यापक सुरेशकुमार परसैला । उनी भन्छन्, ‘मुस्लिम समुदायमा छोरीलाई शिक्षा दिनुपर्छ भन्नेको संख्या बढिरहेको छ । छोरी शिक्षित हुँदा उनीहरूलाई मात्र होइन, समाजलाई फाइदा पुग्छ । अन्धविश्वासलाई पूरै घटाउन सकिन्न । तर, नेपालगन्जमा मुस्लिम विश्वविद्यालयको आवश्यकता छ।’

कक्षा १० उतीर्ण गर्ने अधिकांश मुस्लिम विद्यार्थीको पढाइ राम्रो छ । धेरै कक्षामा मुस्लिम छात्रा नै शीर्ष स्थानमा आउने गरेका छन् । तर, १० कक्षा पास गरेपछि धेरैजसो घरमै बस्न बाध्य छन् । परसैला भन्छन्, ‘उनीहरू विद्यालयमा आएर हामीलाई क्याम्पस सञ्चालन गर्न अनुरोध गर्छन् । तर, हामीसँग यो गर्न सक्ने पूर्वाधार छैन।’ 

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले आफ्नो चुनावी प्रतिबद्धतामा मुस्लिम कलेज निर्माणलाई प्राथमिकता दिएका थिए । आठ महिनाअघि मेयर पदको जिम्मेवारी सम्हालेका उनले महिला कलेज निर्माणका लागि योजना बनाइरहेको बताउँछन् । उनी भन्छन्, ‘वैशाखदेखि काम सुरु गर्ने योजना छ । अहिले महिलामात्र पढ्ने विद्यालय अर्को थप्ने निर्णय भैसकेको छ । त्यो छिट्टै सुरु गर्ने तयारी गरिरहेका छौं ।’ तर, नेपालगन्जमा महिला विश्वविद्यालय अति आवश्यक भएको बताउँछन् मुस्लिम अधिकारकर्मी गुलान गौसा । उनी भन्छन्, ‘मेयर आफ्नो प्रतिबद्धतामा मुस्लिम विश्वविद्यालयको कुरा गर्नुभएको थियो । तर, त्यो कुरा अहिलेसम्म जहाँको त्यहीँ छ । नेपालगन्जमा महिला विश्वविद्यालय खोल्न सकिन्छ । त्यसका लागि नगरपालिकाले पहल गर्नुपर्छ।’

कुरानमा के छ 
इस्लामिक धार्मिक ग्रन्थ कुरानमा महिला शिक्षाका बारेमा प्रस्ट लेखिएको छ । कुरानका अनुसार शिक्षामा महिला र पुरुषलाई समान अधिकार छ । अझ छोरीलाई शिक्षालयमा पठाउने अभिभावकले स्वर्गमा बास पाउने, पुण्य कमाउनेजस्ता कुरा लेखिएका छन् । अल्लाहका दूत मोहम्मदले शिक्षाका बारेमा कुरानमा उल्लेख गरेका छन् । अल्लाहको सन्देश दिन आएका दूत अर्थात् पैगम्बरले हदिसमा शिक्षाका बारेमा चर्चा गरेका छन् । हदिसमा शिक्षा आर्जनका लागि अरबदेखि चीनसम्म गए पनि जाऊ भनिएको छ । हदिसले आफनो पौराणिक शिक्षामात्र होइन, नयाँ कुरा पनि सिक्नुपर्छ भन्ने सन्देश दिएको छ । अरबमा उर्दु र अरबी शिक्षा छ । तर, चीनसम्म जानु भन्नुको अर्थ विश्वका नयाँ भाषा र शिक्षा आर्जन गर्नुपर्छ भन्न खोजिएको बताउँछन् मुस्लिम अधिकारकर्मी गौसा।

यसैगरी हदिसमा महिला शिक्षाबारे राखिएका जिज्ञासाको उत्तर स्पस्ट उल्लेख गरिएको छ । मुस्लिम अनुयायीले एकपटक स्वर्गमा जाने बाटोबारेमा सोध्दा मोहम्मदले भनेका छन्, ’जसले तीनवटा छोरीलाई शिक्षा दिन्छ, विवाह गरिदिन्छ त्यो मानिस स्वर्गमा जान्छ ।’ फेरि अर्को व्यक्तिले प्रश्न गर्छ, ‘मेरो त दुईवटामात्र छोरी छन् । कसरी स्वर्गमा जाने । दुईवटालाई नै शिक्षा र विवाह गरे पुग्छ । एउटामात्र छोरी हुनेले एउटा छोरीलाई शिक्षा दिए पुग्छ । तर, छोरी नै नहुनेले के गर्ने भन्ने प्रश्नमा मोहम्मदले अरूका छोरीलाई शिक्षा दिए पनि स्वर्ण जान सकिन्छ भनेर भनेका छन् । छोरीलाई शिक्षा दिनुपर्छ भन्ने पौराणिक कथनकै कारण मुस्लिम धर्ममा मद्रसालाई धेरै मुस्लिम धर्मावलम्बीले आर्थिक सहयोग गर्ने गरेका छन् । नेपालगन्जमा पनि सञ्चालन भैरहेको १ सयभन्दा बढी मदरसा यस्तै सहयोगबाट चलिरहेका छन् । त्यस्तै ५२ तोलाबराबरको चाँदी हुनेले समाजका लागि आफ्नो सम्पत्तिको अढाइ प्रतिशत सहयोग गर्नुपर्छ भन्ने मान्यता छ। 

प्रकाशित: २४ माघ २०७४ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App