coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चिनियाँ भाषा सिक्दै स्कुले विद्यार्थी

काठमाडौं – काठमाडौंको संगम चोकमा रहेको काठमाडौं प्रज्ञाकुञ्ज स्कुलका कक्षा चारका विद्यार्थीहरू कक्षामा चिनियाँ भाषा बोल्छन् । उनीहरूलाई चिनियाँ शिक्षिका अमबट रुले चिनियाँ भाषा मात्रै होइन चिनियाँ संस्कृति, खानपिन समेत सिकाउँछिन्।

मंगलबार दिँउसो स्कुल प्रांगणमा शिक्षिका अमबटले विद्यार्थीहरूलाई अभिनय गराउँदै चिनियाँ स्प्रिंग महोत्सवबारे सिकाइरहेकी थिइन् । विद्यार्थीहरू पनि उत्साहित हुँदै विदेशी शिक्षकासँग चिनियाँ संस्कृति सिकिरहेका थिए।

भाषा सिकाउने क्रममा उनले स्कुले नानीहरूलाई राक्षस र भगवानको कथा समेत पनि सुनाइन् । चित्र र अभिनयको माध्यमबाट विद्यार्थीलाई चिनियाँ भाषा सिक्न निकै सहज भएको कक्षा चारकी छात्रा क्विनचम जोशीले बताइन् । शिक्षक अमबटले कक्षामा विषयबस्तुअनुसार अभिनय, नाचगान गर्दै पढाउने गरेको बताइन्।

दोहोरो अन्तरक्रियले विद्यार्थीको भाषा सिकाइलाई सहज भएको हो । ‘चाइनिज म्यामले अभिनय गरी हसाइ हसाइ हामीलाई चाइनिज भाषा सिकाउनु हुन्छ,’ १० वर्षीय जोशीले नागरिकसँग भनिन्, ‘मलाई पनि चाइनिज भाषा सिक्न निकै सजिलो भइरहेको छ ।’

सोही कक्षाकी आरोही पराजुलीले भने चाइना विश्वकै आर्थिक रुपमा सक्षम भएको र विश्व व्यापारमा राम्रो हुँदै गएको कुरा घरमा अभिभावहरूबाट थाह पाएकाले चिनिया भाषामा रुचि बढेको सुनाइन् । ‘चीन हाम्रो छिमेकी राष्ट्र हो र चिनियाँ भाषा सिकेपछि विश्वमै कहीँ पनि गएर पढ्न सजिलो हुन्छ भनेर मैले थाहा पाएकी छु,’ आरोहीले खुसीसाथ भनिन्, ‘अंग्रेजी त हाम्रो राम्रो छँदै छ । चाइनिज पनि सिके भविष्यका लागि धेरै राम्रो हुन्छ ।’

कक्षा ४ कै दिव्यांका बुढाथोकीले बुवाकै सल्लाहमा चिनियाँ भाषा पढ्न थालेको सुनाइन् । उनले अंग्रेजी जानेकाले आपूmलाई चिनियाँ भाषा सिक्न पनि सहज भएको बताइन्।

स्कुलकी प्रिनिसपल सुनिता पौडेलले नेपाली, अंग्रेजी र चिनियाँ भाषा जानेपछि करिअर अघि बढाउन सहज हुने भएकाले अभिभावहरूले आफ्ना सन्तानलाई चिनियाँ भाषा सिकाउन रुचि राख्न थालेको बताइन् । त्यहीभएर स्कुलले अतिरिक्त क्रियाकलापअन्तर्गत चिनियाँ भाषा राखेका छन्।

‘दक्षिण एसियाली देशहरूका विद्यालयमा चिनियाँ भाषा सिकाउने चीन सरकारको नीति नै छ,’ प्रिन्सिपल पौडेलले भनिन्, ‘त्यही नितिअन्तर्गत चीना सरकारले आफ्ना देशका स्नातक उत्तीर्ण विद्यार्थीलाई सबै खर्च व्योहोरेर स्वयंसेवक रूपमा भाषा शिक्षक नेपाल पठाएको हो । उनीहरूले भाषासँगै चिनियाँ संस्कृतिका बारे ज्ञान दिनु हो ।’ प्रज्ञाकुन्जमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीले चिनियाँ भाषा सिकिरहेका छन् । ‘चिनिया भाषा सिकेपछि प्लस टु गरेर उच्च शिक्षा हासिल गर्न चिन जान पनि सहज हुन्छ,’ उनले भनिन् । काठमाडौंस्थित चिनियाँ दूतावासले नै बेलाबेलामा चिनियाँ भाषासंस्कृती पढाइ हुने विद्यालयबीच अन्तरक्रिया पनि गराउने गरेको छ।

उनले यस वर्ष मात्र चीनमा उच्च शिक्षा अध्ययनार्थ १२ हजार विद्यार्थी गएको बताउँदै अभिभावकको रुचि पनि चिनियाँ भाषामा भएको सुनाइन् । व्यापार व्यावसायमा लागेकाहरूले आफ्ना छोराछोरीलाई चिनियाँ भाष सिकाउन रुचि राखेको उनले सुनाइन् । स्कुलमा चीन सरकारले उपलब्ध गराएका दुई शिक्षकले  भाषा कक्षा लिन्छन्।

‘चाइनिज भाषा सिक्न गाह्रो रहेछ,’ स्कुलकी अभिभावक लीला अधिकारीले भनिन् ‘तर पनि उनको भविष्यकोलागि सिकाउदा खुशी लागेको छ।’

चाइनिज शिक्षिका अमबटले आफू गत वर्ष नेपाल आएको र यहाँ बसेर २ वर्ष भाषा पढाएर गएको बताइन् । अंग्रेजीमा स्नातक गरी उनी नेपाल आएकी बताइन् । उनले चिनियाँ  विद्यार्थीभन्दा नेपालीहरू निकै सृजनशील रहेको सुनाइन् ।
‘दुई वर्षे अवधिमा चाइना र नेपालको शिक्षण प्रणालीबारे थाहा पाएँ,’ २५ वर्षीय अमबटले नागरिकसँग भनिन्, ‘मेरो नेपाली विद्यार्थीहरू निकै सृजनशील छन् ।’

हाल उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकका एक विद्यालय गरी ६० विद्यालयमा चिनियाँ भाषा कक्षा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय चिनियाँ स्वयंसेवक शिक्षक नेपालका संयोजक वसन्त श्रेष्ठले बताए। चीन सरकारले जेम्स, डिएभि, इपिएस, मलपी, गुरुकुल, एभरेष्ट, नागार्जुन, युलेन्स, चाँदबाग, लिटिलएञ्जल, बनेपाको बेलोरलगायत ६० निजी विद्यालयको मागअनुसार शिक्षक उपलब्ध गराउँदै आएको श्रेष्ठले बताए।

उनले भूकम्प अघिसम्म नेपालका सय स्कुलमा चिनियाँ भाषाको कक्षा सञ्चालन भए पनि भूकम्पपछि पछि चिन सरकारले नै यसमा कटौती गरी ६० लाई मात्र दिएको जनाए।

स्कुलले माग गरे अनुसार जिल्ला शिक्षा कार्यालयको सिफारिसमा शिक्षा विभाग, शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृतिपछि गृह मन्त्रालयको स्वीकृतिमा शिक्षा मन्त्रालयले स्टडी भिसाका लागि सिफारिस गरेपछि चिनियाँ शिक्षक नेपाल आउने गरेका छन्।

‘हाल नेपालमा ७२ चिनियाँ शिक्षकले ६० स्कुलमा भाषा पढाइरहेका छन्,’ उनले शिक्षा मन्त्रालय र चिनियाँ सरकारबीच पाँच वर्षको सम्झौता भएरै शिक्षक नेपाल आउँछन्।

‘नेपालमा चिनियाँ पर्यटक पनि बढी आउँछन् । चिनियाँ भाषा जान्ने गाइडले नै मासिक ३ लाखसम्म कमाउँछ,’ उनले थपे, ‘साथै विद्यार्थीहरू स्कुलदेखि नै चिनियाँ भासा सिके विश्वको कुनै पनि मुलुकमा उच्च शिक्षा अध्ययनको साथै काम पनि राम्रो पाइन्छ ।’ उनले हाल बेलायत, अमेरिका, क्यानाडा, जापान, अष्ट्रेलिया, न्यूजिल्यान्डलगायतका देशहरूमा अंग्रेजी भाषासाथै चिनियाँ भाषा सिक्नेहरूको बाहुल्यता बढ्दै गएको जनाए।

प्रकाशित: २४ माघ २०७४ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App