७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसदीय दलको नेता छान्न सकस

धनगढी – प्रदेशसभामा संसदीय दलको नेता छान्न दलहरूलाई निकै सकस भएको छ । प्रदेश ७ मा सबैभन्दा ठूलो दल एमाले, दोस्रो ठूलो दल माओवादी र तेस्रो ठुलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्न एक भन्दा बढी इच्छुक देखिएका छन् । प्रदेशसभाको पहिलो बैठकअघि नै सबै दलको संसदीय दल बैठक बसे पनि कसैले पनि नेता छान्न सकेनन् । संसदीय दलको नेता छान्न नसकेपछि  प्रदेशसभाको पहिलो बैठकमा आफ्नो दलका तर्फबाट बोल्ने नेताको नाम टुंगो लगाउदै बैठक सम्पन्न भएका थिए । एमाले, कांग्रेस र माओवादी केन्द्रले संसदीय दलको नेतामा दाबी भएका सदस्यमध्ये प्रदेशसभाको पहिलो बैठकमा मन्तव्य दिन लगाएका थिए। एमालेका तर्फबाट पार्टीका केन्द्रीय सदस्य तथा बाजुराका प्रदेशसभा सदस्य प्रकाश शाहले मन्तव्य राखेका थिए। कांग्रेसबाट डोटीका प्रदेशसभा सदस्य भरतबहादुर खड्का र माओवादी केन्द्रबाट पोलिटब्यूरो सदस्य डोटीका प्रदेशसभा सदस्य त्रिलोचन भट्टले मन्तव्य राखेका थिए। राजपाबाट कैलालीका प्रदेशसभा सदस्य मालमती रानाले मन्तव्य राखेकी थिइन्।

एमालेमा ३जना संसदीयदलका दावेदार
प्रदेश ७ मा एमाले पार्टीमा पार्टीका केन्द्रिय सदस्य बाजुराका प्रदेशसभा सदस्य प्रकाश शाह र कैलाली एमालेका अध्यक्ष दीर्घ सोडारी मुख्य दाबेदार रहेका छन् । यसैगरी डडेल्धुराका पठानसिंह बोहराको नाम पनि चर्चामा छ।

प्रदेशसभा सदस्य प्रकाश शाहले आपूm मुख्यमन्त्रीको दाबेदार रहेकोमा पार्टीको भागमा नपरेकाले अब संसदीय दलको नेता बनेर सरकारमा जाने बताएका छन । ‘पार्टीको सिनियर पदमा म भएकाले स्वभाविक रूपमा संसदीय दलको नेता म बन्नु पर्छ भन्ने हो,’ उनले भने, ‘पार्टी नेतृत्व, प्रदेशसभा सदस्य सबैले उचित मूल्यांकन र निर्णय गरेर मलाई संसदीय दलको नेता बनाउने विश्वास लिएको छु ।’ प्रदेश संयोजक भीम रावलले संसदीय दलको नेता सर्वसम्मत बनाउने उनको विश्वास छ  । ‘विधि, पद्धती र मर्यादालाई कडाइका साथ लागू गर्ने प्रदेश संयोजकको निर्देशनमा संसदीय दलको नेता सर्वसम्मत बन्ने विश्वास छ,’ उनले भने । ‘मेरो चाहना, स्वभाव र बिकट जिल्ला बाजुराका बासिन्दाको चाहनाअनुसार म संसदीय दलको नेता बनेर सरकारमा जान चाहान्छु,’ उनले भने । सर्वसम्मत अर्को व्यक्ति बन्ने अवस्था आए र प्रदेश संयोजकको निर्देशन मानेर आपूm चुनाव भने नलड्ने उनको भनाइ छ।

यसैगरी, एमाले कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य दीर्घ सोडारीले संसदीय दलको नेतामा दावी गरेका छन्। सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको ठूलो जिल्ला कैलाली पार्टी अध्यक्षको हैसियतले स्वभाविक रूपमा आफ्नो संसदीय दलको नेतामा दाबी हुने उनको भनाइ छ ।  ‘मेरो संसदीय दलको नेताका लागी दाबी छ,’ उनले भने। 

संसदीय दलको नेता बन्न १३ प्रदेशसभा सदस्यको समर्थन चाहिने उल्लेख गर्दै ७ सदस्य कैलालीकै भएकाले अन्य ६ सदस्यको समर्थन पाउनासाथ आपूm  नेता बन्न सक्ने उनको भनाइ छ। कम चर्चामा रहेका डडेल्धुराका पठानसिंह बोहरालाई संसदीय दलको नेता बनाउन पनि पार्टी अध्यक्ष केपी ओली समर्थक केही नेताले लविइङ थालेको स्रोतले बताएको छ । पार्टीले दिएको जुनसुकै जिम्मेवारी सम्हाल्न  तयार भएको उनको भनाइ छ। 

एमालेमा संसदीय दलका लागि समहति नभए चुनाव गरेर टुंग्याइने छ।

कांग्रेसमा ४ जना दाबेदार
नेपाली कांग्रेसमा पनि संसदीय दलको नेतामा डोटीका प्रदेशसभा सदस्य भरतबहादुर खड्का र कैलालीका डा. रणबहादुर रावल मुख्य दावेदारका रूपमा देखिएका छन्। यसैगरी डडेल्धुराका प्रदेशसभा सदस्य गोविन्द बोहरा र कर्ण मल्ल पनि संसदीय दलको नेताका लागि दाबेदार छन्। आफ्नो नाममा सर्वसम्मत नभएर चुनाव लड्ने मनस्थितीमा दाबेदार देखिएका छन् । ‘संसदीय दलको नेता सबै कुराले मेरो नाममा सहमति हुनुपर्ने हो,’ प्रदेशसभा सदस्य भरत खड्काले भने, ‘साथीभाइसँग सल्लाह गरिरहेको छु ।’ सहमति भएन भने प्रजातान्त्रिक प्रक्रियाअनुसार टुंग्याइने उनको भनाइ छ । उनी यसअघिका संविधानसभा सदस्य पनि हुन् । यसैगरी प्रदेशसभा सदस्य डा. रणबहादुर रावलले सबै साथीहरूले तपाईं संसदीय दलको नेता बन्नुपर्छ भनेर भनिरहेको उल्लेख गर्दै आफ्नो नाममा सहमति जुट्ने विश्वास गरे। 
यसैगरी डडेल्धुराका प्रदेशसभा सदस्य गोविन्द बोहराले संसदीय दलको नेतामा आफ्नो जोडदार दाबी रहेको बताए। आफ्नो नाममा सर्वसम्मत नभए चुनाव लड्न तयार रहेको उनको भनाइ छ । प्रदेशसभा सदस्य कर्ण मल्लले पनि दाबी गरेका छन् । कांग्रेसमा १२ प्रदेशसभा सदस्य छन्।

माओवादी केन्द्र
माओवादी केन्द्रमा पनि संसदीय दलको नेता टुंगो लाग्न सकेको छैन। सभामुख चयनपछि संसदीय दलको नेता सर्वसम्मतिबाट टुंगो लगाइने माओवादी केन्द्र प्रदेश ७ का इन्चार्ज लेखराज भट्टले बताएका छन्। मुख्यमन्त्रीमा त्रिलोचन भट्टको नाम सिफारिस भएकाले उनी नै संसदीय दलको नेता बन्ने संभावना बढी छ। 

प्रकाशित: २४ माघ २०७४ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App