८ वैशाख २०८१ शनिबार
कला

देश खोज्ने कथा पोखरामा उत्कृष्ट

फिल्म ‘देश खोज्दै जाँदा’का निर्देशक प्रकाश आङदम्बे ५० हजार रुपैंयाँ राशीको ‘फेवा अवार्ड’ ग्रहण गर्दै । तस्बिरः नागरिक

पोखरा - युद्धले क्षतिग्रस्त अफगानिस्तानको एक सहरबाट काजकस्तानको आफ्नो घरमा फर्किने परिवारको कथा समेटिएको ‘रिर्टनी’ पोखरामा ४ दिनसम्म चलेको ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म अवार्ड’मा ‘उत्कृष्ट फिल्म’ बन्न सफल भएको छ ।

सवित कुर्मानबेकभको निर्देशन रहेको फिल्म फिचर विधातर्फ उत्कृष्ट बन्न सफल भएको हो । उत्कृष्ट भएसँगै फिल्मले १ हजार अमेरिकी डलर पुरस्कार रहेको ‘गौतमबुद्ध अवार्ड’ प्राप्त गरेको छ । अवार्ड पोखराका प्रतिनिधि सभा सदस्य तथा एमाले नेता रवीन्द्र अधिकारीले प्रायोजन गरेका थिए ।
अधिकारीले पुरस्कार प्रदान गर्दै सिनेमा समाजको ऐना भएसँगसँगै समाज परिवर्तनको संवाहक पनि हुनुपर्ने धारणा राखेका थिए ।

‘यसपालिको बहसमा बसेर मैले नेपाली सिनेमाका केही अप्ठ्याराहरूको विषयमा जानकारी पाएँ । म आफ्नातर्फबाट आफूले जानेका कुरा सदनमा राख्नेछु र आवश्यक नीति तर्जुमाका लागि पहल गर्नेछु,’ अधिकारीले भने, ‘पोखरालाई फिल्म नगरी बनाउने हाम्रो प्रयास थियो । यस्ता फिल्म फेस्टिभलले शब्दमा फिल्म नगरी हुन र नहुनमा फरक पार्दैनन् । नेपाली फिल्मलाई स्वागत गर्न पोखरा सधैं तत्पर छ ।’
सर्ट फिल्मतर्फको अवार्ड भने राजेश खत्रीको निर्देशनमा बनेको ‘जालगेडी’ले प्राप्त गरेको छ ।

‘माउन्ट एभरेस्ट’ नाम दिइएको यो अवार्डसँगै खत्रीले ५ सय डलर पुरस्कार प्राप्त ग¥यो । ‘काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ)’मा ‘नेपाली पनोरमा’तर्फ ‘उत्कृष्ट फिक्सन फिल्म’को अवार्ड जितेको ‘जालगेडी’ले कर्णाली भेगकी एक बालिकाको उत्सुकताले जन्माएका घटनाक्रमलाई प्रस्तुत गरेको छ । गाउँमा डुल्न आएका विदेशीले खाएर फालेको जुसको खोलले जालगेडीलाई अनावश्यक रूपमा उत्सुक बनाएपछि जालगेडी चराउन गएका वस्तु अलपत्र छाडेर खोलको पछि लाग्छे । तर, उसको उत्सुकताले यस्ता घटना निम्त्याउँछन् जुन उसले कल्पना पनि गरेकी हुन्न ।

सोमबार साँझ ढिलोगरी घोषणा गरिएको अवार्ड समारोहमा प्रकाश आङदम्बे निर्देशित ‘देश खोज्दै जाँदा’ नेपाली पनोरमा अन्तर्गतको फिचर फिल्ममा उत्कृष्ट बन्न सफल भयो । ‘फेवा अवार्ड’ नाम दिइएको पुरस्कारको राशि ५० हजार रहेको थियो । फिल्ममा झापामा रहेका भुटानी शरणार्थीको आरोह अवरोहलाई विषय बनाइएको छ । ‘अन्नपूर्ण अवार्ड’ नाम दिइएको नेपाली पनोरमातर्फको सर्ट फिल्मको अवार्ड भने सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा’ले प्राप्त गर्यो ।यसैगरी, नेपाली पनोरामाबाट दिवस अमागाइँ निर्देशित ‘म भोलि जन्मनेछु’ले ‘स्पेसल जुरी अवार्ड’ प्राप्त गर्यो । अन्तर्राष्ट्रिय फिल्मतर्फ भने जर्जियाको फिल्म ‘किप स्माइलिङ’ जुरीको नजरमा स्पेसल बन्न सफल भयो ।

४ दिनसम्म पोखराको उद्योग वाणिज्य संघमा चलेको फिल्म फेस्टिभलमा १७ देशका ५० भन्दा बढी फिल्म सहभागी थिए । फेस्टिभलमा नियमित फिल्म प्रदर्शनीसँग नेपाली सिनेमाको केन्द्रमा रहेर विभिन्न विषयमा छलफल गरिएको थियो । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले पहिलो संस्करणको रूपमा आयोजना गरेको फेस्टिभलले फिल्मसम्बन्धि ज्ञान उत्पादन गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका खेलेको एकेडेमीका अध्यक्ष केपी पाठकले बताए । उनले भने, ‘फिल्मसम्बन्धि ज्ञानको दायरालाई फराकिलो बनाउने हाम्रो उद्देश्य हो । पोखरामा जुन प्रकारको दर्शक र जसरी उहाँहरूले सहभागिता जनाउनुभयो, यस हिसाबले उल्लेख्य सुरुवात भएको महसुस भएको छ ।’

फेस्टिभल निर्देशक मनोज पण्डितले फिल्मसँगै चार दिन चलेको बहसलाई निरन्तरता दिने हो भने यसको प्रभाव फिल्म निर्माणमा पनि पर्ने धारणा राखे । ‘हाम्रोमा फिल्मलाई लिएर बौद्धिक बहस विरलै हुने गर्छन् । तर, हामीले यो अवधिमा जति र जे विषयमा छलफल ग¥यौ त्यसको सारलाई आत्मसात गर्ने हो भने नेपाली फिल्मले अर्कै बाटो समात्छ,’ पण्डितले भने । चार दिनसम्म चलेको बहसमा सिनेमा दृश्य साहित्य, सिनेमा समाजको प्रतिबिम्ब, सिनेमाका चुनौती, सिनेमाको अर्थशास्त्र, आदिवासी जनजाति फिल्मको उदय, सिनेमाको राजनीतिक चरित्र आदि विषयमा छलफल भएका थिए ।फिल्म फेस्टिभलमा निर्णायकको जिम्मेवारी नेपाली निर्माता निर्देशक मीन भाम, भारतीय निर्देशक अशोक राने, श्रीलंकन फिल्म निर्देशक विमुक्तिले निर्वाह गरेका थिए ।


 

प्रकाशित: २४ माघ २०७४ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App