५ वैशाख २०८१ बुधबार
समाज

वर्षमा एकचोटि जाँचे क्यान्सरबाट बच्न सकिन्छ

काठमाडौं – पाठेघरबाट रगत आउँछ ? दिसाबाट रगत आउँछ ? खाना खाएपछि बान्ता हुन्छ ? लामो समय खोकी लागिरहन्छ ? यीमध्ये कुनै लक्षण छन् ? छ भने बेलैमा परीक्षण गराउनुहोस् । छैन भने पनि परीक्षण गराउनुहोस् । सम्भावित क्यान्सरबाट बच्न सकिन्छ । तपाईंलाई पत्तै नपाई क्यान्सर लागिसकेको हुन सक्छ । क्यान्सर छिप्पिएपछि उपचारमा कठिन हुने भएकाले वर्षमा कम्तीमा एकपटक पूरै स्वास्थ्यजाँच गर्न चिकित्सकले सुझाएका छन्। 

‘कुनै लक्षण नदेखिए पनि वर्षमा एकपटक स्वास्थ्यको पूर्ण जाँच गर्नुपर्छ, तबमात्र क्यान्सर भएनभएको थाहा पाउन सकिन्छ’, भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा. विजयचन्द्र आचार्यले भने । ‘क्यान्सरको लक्षण देखेपछि मात्र जाँच्नुभन्दा सामान्य अवस्थामा पनि वर्षका एकपटक शरीरको सम्पूर्ण जाँच गरे क्यान्सरबाट बच्न सकिन्छ’, नेपाल क्यान्सर अस्पतालका प्रमुख डा. सुदीप श्रेष्ठले भने। 

‘क्यान्सरले छिप्पिएपछि मात्र लक्षण देखाउँछ, त्यति बेला तेस्रोचौथो तहमा पुगिसकेको हुन्छ । त्यसैले कुनै लक्षण नभए पनि वर्षमा एकपटक जाँच गरे बचिन्छ’, वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. आरती शाहले भनिन्। 

उपचारमा आएकामध्ये धेरै क्यान्सर रोगी तेस्रो वा चौथो चरणमा पुगेको भेटिएकाले सबैलाई वर्षमा एकपटक पूरै स्वास्थ्यजाँच गर्न क्यान्सर विशेषज्ञले आग्रह गरेका छन् । बिपी कोइराला मेमोरियल अस्पताल भरतपुरका अनुसार क्यान्सर उपचारका लागि बर्सेनि अस्पताल आउने १० हजार नयाँ बिरामीमध्ये स्वास्थ्यसंस्था आइपुग्दा ७० प्रतिशतको क्यान्सर तेस्रो वा चौथो चरणमा पुगिसकेको हुन्छ । यस्तामा धेरैजसो विपन्न, अशिक्षित र स्वास्थ्यमा पहुँच नपुगेको वर्गका हुन्छन्। 

बिपी कोइराला मेमोरियल अस्पतालमा प्रति वर्ष एक लाख २१ हजार बिरामी उपचारका लागि पुग्छन् । यीमध्ये चार हजारजति क्यान्सरका नयाँ बिरामी हुन्छन् । त्यस्तै नेपाल क्यान्सर अस्पतालमा बर्सेनि पुग्ने १७ सय क्यान्सर रोगीमध्ये ४ सयजति नयाँ हुन्छन् । यीमध्ये पनि ४० प्रतिशत क्यान्सर चौथो चरणमा पुगेपछि अस्पताल आएका छन् भने ३० प्रतिशत तेस्रो चरणका छन् । बाँकी २० प्रतिशत दोस्रो र १० प्रतिशत पहिलो चरणका छन् । क्यान्सर निदान भएका बिरामीमध्ये ४० प्रतिशत रोग चौथो चरणमा पुगिसकेपछि मात्र अस्पताल आउने गरेको डा. शाहले बताइन्। 

क्यान्सर छिप्पिएर अन्तिम चरणमा पुगिसकेपछि अस्पताल आउने प्रवृत्ति एक दशकअघिसम्म झनै बढी थियो । पछिल्लो चरणमा महिलामा हुने स्तन र पाठेघरको मुखको क्यान्सरको नियमित परीक्षण हुन थालेको छ । यसले गर्दा यो समूहको क्यान्सरबारे बेलैमा थाहा पाउने दर बढेको चिकित्सकको अनुभव छ । ‘उपचारको पहुँच र सामाजिक चेतना बढेर हुन सक्छ, १० वर्षपहिले भन्दा अहिले आन्द्रा, पाठेघरको मुख र स्तनको क्यान्सर छिटो पहिचान हुन थालेको छ’, निर्देशक आचार्यले भने।

रोग पहिलो चरणमै हुँदा पत्ता लागेमा उपचारपछि पूरा निको हुने र छिप्पिएपछि निको हुन गाह्रो हुन्छ । कतिपय क्यान्सर भने पहिलो चरणमै पत्ता लागे पनि निको नहुने प्रकृतिका हुन्छन् । क्यान्सरको किसिम, वंशाणुजस्ता कारणले कतिपय क्यान्सर पहिलो चरणमै पत्ता लागे पनि निको नहुन सक्छन्। 

चिकित्सकका अनुसार नेपालमा फोक्सोको क्यान्सरका सबैभन्दा बढी बिरामी भेटिन्छन् । दोस्रोमा पाठेघरको मुख र तेस्रोमा स्तन क्यान्सर र चौथोमा आमाशयको क्यान्सर पर्छ । कतिपय क्यान्सर वंशाणुगत कारणले भए पनि धेरैजसो अस्वस्थ जीवनशैलीका कारण हुने चिकित्सक बताउँछन् । धूमपान र धुवाँजन्य पदार्थको सम्पर्कले फोक्सोको क्यान्सर, सुर्तीजन्य पदार्थको सेवनले नाक, कान, घाँटीको क्यान्सर, ढुसी परेको अचार, पोलेको, भुटेको मासु सेवन, पेस्टिसाइड तथा रङजन्य रसायनको सम्पर्क, बढी नुनको प्रयोग भएका खाना तथा जंकफुडका कारण अन्य विभिन्न अंगको क्यान्सर हुन्छ । मोटोपनाका कारण कलेजोको क्यान्सर र रसायनको कारण रगतको क्यान्सर हुन्छ। 

‘नियमित व्यायाम नगर्ने, मोटोपना बढी भएकालाई पनि क्यान्सर हुन्छ । कतिपयलाई वंशाणुगत कारणले पनि हुन्छ’, श्रेष्ठले भने । पछिल्लो समयमा सहरका नेवार र पहाडी भेगका मंगोल समुदायमा आमाशयको क्यान्सर बढी देखिन थालेको डा. श्रेष्ठले बताए । तराईवासीले भने बढी मात्रामा सुर्ती, गुट्खा, पानजस्ता सुर्तीजन्य पदार्थ सेवन गर्नाले नाक, कान र मुखको क्यान्सर हुने गरेको चिकित्सकले बताएका छन् । महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर बढी हुन्छ । पुरुषमा बढीजसो फोक्सोको क्यान्सर देखिन्छ। 

स्वस्थ खाना, व्यायाम र नियमित स्वास्थ्यजाँच गरेमा क्यान्सरको जोखिमबाट बच्न सकिने चिकित्सक बताउँछन्।

प्रकाशित: २४ माघ २०७४ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App