८ वैशाख २०८१ शनिबार
अर्थ

सिन्धुलीमा जुनारबाट २७ करोड आम्दानी

सिन्धुली – नेपालकै मौलिक फलको रुपमा परिचय बनाएको सिन्धुली जिल्लामा जुनारबाट यसबर्ष २७ करोड आम्दानी भएको छ। जुनार उत्पादनका लागि पकेट क्षेत्र नै मानिएको सिन्धुली जिल्लाका दर्जन बढी गाविसका स्थानियले जुनार बेचेर यो मोटो रकम लिएका हुन्। विगतको बर्ष भन्दा यस बर्ष जुनार खेतीबाट झन्डै चार करोड बढी आम्दानी भएको छ। जुनारको दाना लाग्ने समयमा उचित मौसम रहेकाले जुनार उत्पादन बृद्धि भएको किसानहरुले जनाएको छ।  

मंसिरको दोस्रो हप्तादेखि जुनार उपभोग गर्न उचित समय मानिएपनि असोजको पहिलो साताबाटै जुनार विक्री भएकाले किसानले यस्तो आम्दानी लिन सफल भएका हुन्।  यसबर्ष जुनारबाट किसानले राम्रै आम्दानी लिएका छन्, जुनार विकास संघका उपाध्यक्ष कृष्ण गौतमले भने। गत बर्षको तुलनामा सिजन अगावै किसानले जुनारको राम्रो मुल्य हात पारेपछि काचोमै विक्री गर्न सुरु गरेकाले जुनारको कारोबार यो बर्षलाई अन्तिम चरणमा पुगेको उनको भनाई छ। गत वर्ष भन्दा किसानले यस बर्ष बोटबाटै राम्रै मुल्य पाए उनले नागरिकसँग भने– अधिकांश किसानले यस बर्ष सिजन अगावै प्रतिदाना १० देखि २५ रुपैँयासम्म हात पारेपछि बेमौसमै धमाधम किसानले जुनार बेचेका थिए। जुनारको राजधानीका भनेर चिनिने यस जिल्लामा मध्ये सिजनमै जुनारबाट किसाले राम्रो आम्दानी लिएका हुन्।

गत वर्षको तुलनामा यस बर्ष जुनार उत्पादन समेत बृद्धि भएको छ।  उत्पादनमा समेत गिरावट आएपछि यस बर्ष जुनार चाडै सकिएको किसान बताउँछन्। पछिल्लो समय रोपिएका विरुवामा दाना लाग्ने समय नभएको र पुराना रुखहरु बुढो हुदै गएकाले जुनार माग अनुसार पुऔयाउन नसकिएको जुनार विकास संघका केन्द्रिय अध्यक्ष दिपक कोइरालाले बताए। बिपी राजमार्ग निर्माण भएपछि पुर्वी तराई सहित काठमाडौ लगायतका स्थानमा जुनार कोसेलीको रुपमा लाने क्रम बढेपछि सिजन अगावै आधाबढी जुनार विक्री भएको जुनार विकास संघका अध्यक्ष दीपक कोइरालाले बताए। गत बर्ष ८ दशमल ५० मेक्ट्रिक टन जुनार उत्पादन भएकोमा यस बर्ष ८ दशमलब ७५ मेक्ट्रिकटन जुनार उत्पान भएको छ।

सडकको पहुँच जुनार बगैचासम्मै पुगेकाले बजारको अभाव नभएपनि किसानले सोझै बाटबाटै महंगो मुल्यमा विक्री गर्न थालेका छन्। जुनार कृषकले यस वर्ष बोटबाटै राम्रो मुल्य पाएको अध्यक्ष कोइरालाले बताए। जुनारबाट हामीले लाखौ रुपैया आम्दानी लिदै आएका छौ, तिनकन्या गाविसका स्थानिय लोकबहादुर आलले भने– मैले पनि राम्रै आम्दानी लिए यसबर्ष। बजारमा जुनारको सिजन सकिदै जाँदा महङ्गी समेत बढेको छ। हाल जुनार एक सय २० देखि १ सय ५० रुपैँया सम्म प्रतिकेजीमा विक्री हुँदै आएको छ। जुनार कृषकले मुल्यमा कुनै गुनासो गरेको पाईएको छैन, अध्यक्ष कोइरालाले भने, बजारको र मुल्यको किसानलाई चिन्ता छैन। 

जिल्लाको विभिन्न गाविसमा गरि झन्डै ८ हजार कृषकहरुले व्यवसायीक जुनार खेतितर्फ लागेका छन् भने ३५ सय कृषक जुनार खेतीमै पुर्ण रोजगारी भएकाले पनि जुनार खेती गर्ने मोह बढ्दै गएको पाइएको छ। सिन्धुलीका महाभारत क्षेत्र अन्तर्गत रतनचुरा, जलकन्या, वाशेश्वर, तीन कन्या, मझुवा भुवनेश्वरीलगायतका गाविसका किसानले व्यावसायिक जुनारखेतीमा गर्दै आएका छन्। जिल्लामा करिब ६ सय किसानले हाल एक हजार पाँच सय ४५ हेक्टर जमिनमा जुनारखेती गर्दै आएका छन्।
१० प्रतिशत मात्रै जुनार बाँकी 

यस बर्षको जुनार सकिनै लागेको छ। किसानले ९० प्रतिशत बढी जुनार विक्री गरिसकेको जुनार विकास संघ सिन्धुलीले जनाएको छ। संघका उपाध्यक्ष कृष्णप्रसाद गौतमका अनुसार यस बर्षको जुनार धेरैजसो विक्री भइसकेको छ । अब १० प्रतिशत जति मात्रै बाँकी छ भन्ने लाग्छ, उनले नागरिकसँग भने– तिनकन्या र बाशेश्वरमा केहि बोटमा जुनार बाकी छ। 

कोसेलीको रुपमा आफ्ना आफन्तलाई राखेको केहि जुनार बाहेक सबै विक्री भइसकेको किसान बताउछन्। रतनचुराका स्थानिय डोरबहादुर तामाङका अनुसार किसान सबैले  जुनार विक्री गरिसकेका छन्, थोरै केहि किसानको बोटमा फाट्टफुट्ट छ धेरै विक्री भइसक्यो।

प्रकाशित: २३ माघ २०७४ १५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App