७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश ७ मा मुख्यमन्त्रीको कार्यालय संचालन

धनगढी – सात नम्बर प्रदेश अस्थायी राजधानी धनगढीको कार्यालयबाट मुख्यमन्त्रीले मंगलबारदेखि कामकाज सुरू गरेका छन्। निर्माण कार्य भइरहेको भवनको एउटा कोठाबाट कर्मचारीहरूले कामकाज सुरू गरेका हुन्। मुख्यमन्त्री कार्यालयका सचिव प्रदिपराज कँडेलले सरकारका निर्णय कार्यान्वयन गर्ने, प्रदेशका मन्त्रालयमा खटिएर आएका कर्मचारीको विवरण राख्नेलगायतका काम सुरू गरिएको बताए। २९ जनाको दरबन्दी रहेको मुख्यमन्त्री कार्यालयमा ६ जना कर्मचारी आएका छन्। 

प्रदेश सरकारका मन्त्री र अन्य विशिष्ट पदाधिकारीका लागि गाडी लगायतका सुविधाको व्यवस्थापन गर्ने काम भइरहेको छ। ‘प्रदेशका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसंग समन्वय गरेर भएका गाडीको व्यवस्था गर्ने र अपुग गाडी केन्द्रमा माग गर्ने निर्णयसमेत मुख्यमन्त्रीको सचिवालयले गरेको छ। मुख्यमन्त्री कार्यालयमा खटिएको कर्मचारी टोलीले यसअघि जिल्ला प्रशासन कार्यालयमा बसेर काम गरिरहेका थिए। 

क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेललाई मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ। यसैगरी सचिव प्रदीपराज कँडेल र यज्ञ भट्टराई, उपसचिव देवेन्द्र कार्की, नासु बीरु टमटा र कम्प्युटर अपरेटर लोकेन्द्र बिष्टले कार्यालयमा पुगेर काम थालेका छन्।

यातायात व्यवस्था कार्यालयको नवनिर्मित भवनमा मुख्यमन्त्रीको कार्यालयका लागि निर्माण र व्यवस्थापन तथा तयारी अन्तिम चरणमा पुगेको छ। ‘मुख्यमन्त्री कार्यालय भवनको निर्माण र तयारी अन्तिम चरणमा पुगेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए। उनले केही दिनभित्र कार्यालय भवन तयार हुने बताए। 

मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरूको मर्मत, व्यवस्थापन तथा निर्माण काम शहरी विकास तथा भवन निर्माण विभागले गरिरहेको छ। रङरोगन गर्ने, कोठाहरूमा आल्मुनियम राखेर पार्टेसन गर्ने, बिजुली र सेनेटरीका पाईपहरू मिलाउने काम भइरहेको बोहराले बताए। 

कार्यालयको आँगनमा टायल बिच्याउने, रङ्गरोगन गर्ने, शौचालय बनाउने काम भईरहेका जनाइएको छ। ५ वटा बैठक हल र १३ वटा फराकिला कोठा रहेको ३ तले उक्त भवनको  सबभन्दा तल्लो तलामा मुख्यमन्त्रीको कार्यकक्ष रहने छ। यसैगरी दोश्रो तलामा मुख्यसचिवको कार्यकक्ष र तेस्रो तलामा मुख्यमन्त्री निवास रहने बोहराले बताए।

मन्त्रालय तयार हुन केही दिन लाग्ने

प्रदेश सरकारमा रहने अन्य मन्त्रालय तयार हुन भने केही समय लाग्ने भएको छ। मन्त्रालय रहने कार्यालय टुंगो यस अघि नै लागिसकेको छ। ती कार्यालयमा निर्माण तथा व्यवस्थापनको काम गर्न शिलवन्दी दरभाउ पत्र आह्वान गरिएको छ। यी कार्यालयहरुमा रङ्गरोगन गर्ने, शौचालय तथा पर्खाल मर्मत/व्यवस्थापन गर्ने, कार्पेट बिच्याउनेलगायत काम गरिने छ।

टेण्डर २ दिनपछि खोल्ने र २ हप्ताभित्र व्यवस्थापनको सबै तयारी सकिने डिभिजन प्रमुख वोहराले बताए। प्रदेशमा सामाजिक विकास मन्त्रालय जिल्ला जनस्वास्थ्य कार्यालयको नयाँ भवनमा रहने छ। यस्तै भौतिक पूर्वाधार मन्त्रालय क्षेत्रीय सिंचाई निर्देशनालयमा, आन्तरिक मामिला र कानून मन्त्रालय जिल्ला कृषि विकास कार्यालय तथा आर्थिक तथा योजना मन्त्रालय चौराहास्थित आन्तरिक राजस्व कार्यालयमा रहने छ।

यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय क्षेत्रीय पशु सेवा कार्यालयमा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशनालय रहने छ। 

मुख्यमन्त्री कार्यालय र अन्य मन्त्रालयमा खटाइएका अधिकांश कर्मचारी आईपुगेका छैनन्। मुख्यमन्त्री कार्यालयमा खटाइएका २९ जनामध्ये ६ जना कर्मचारी आईपुगेका छन्। यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पिताम्बर घिमिरे, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हरिहर अधिकारी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव लक्ष्मण खड्का आईपुगेका छन्।

मुख्यमन्त्री कार्यालयका सचिव कँडेलले हालसम्म १३ आइपुगेका र कर्मचारीहरू आउने क्रम जारी रहेको बताए। जिल्ला प्रशासन कार्यालयमा बसेर काम गरिरहेका छन्। मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, मन्त्रालयहरुमा गरि झण्डै दुई सय कर्मचारी रहने सचिव कँडेलले बताए।

प्रकाशित: २३ माघ २०७४ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App