७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रिय सभा निर्वाचन : भोट हाल्न जनप्रतिनिधी आतुर

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर दुई दिनदेखि दाङमा छिन्। पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन उनी सोमबार दाङ पुगेकी हुन्।

‘मुख्य काम त राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्ने नै हो, अर्को काम प्रदेश पाँचको नगरपालिका संघको भेलामा पनि सहभागी हुनु थियो,’ उनले नागरिकसँग भनिन्। दाङमा चुनावको माहोल बेस्सरी तात्तिएको उपप्रमुख थापाले सुनाइन्। ‘राष्ट्रिय सभा चुनावको माहोलले दाङ बेस्सरी तात्तिएको रहेछ, पाँच नम्बर प्रदेशका सबै जनप्रतिनिधिलाई जमघट गराएको छ,’ उनले थपिन्। 

बाँके–२ ‘ख’ का प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर हमालले यसपटक दाङको वातावरण फरक देखे। राष्ट्रिय सभा निर्वाचनको रौनकताले दाङलाई बेस्सरी तताएको उनले बताए। ‘चुनावमा भोट माग्न कोही उम्मेदवारले एसएमएस गरेका छन, कसैले भेट गरिरहेका छन्,’ हमालले नागरिकसँग टेलिफोनमा भने ‘चुनावको वातावरणले दाङ फरक देखिएको छ।’ 

प्रदेश नम्बर ५ को बुटवलमा सम्पन्न पहिलो बैठकमा सहभागी भएर नेपालगन्ज आएका हमाल राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई भोट हाल्नका लागि मंगलबार दाङ पुगेका हुन्। दाङको घोराहीमा बुधबार हुने निर्वाचनको ब्यग्र प्रतिक्षामा आफु रहेको प्रदेश सभा सदस्य हमालले सुनाए। बुधबार मुलुकका ७ वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान एकैसाथ हुँदैछ। राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारलाई प्रत्यक्ष र समानुपातिक प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने संविधानले व्यवस्था गरे अनुरुप पाँच नम्बर प्रदेशका अधिकांस जनप्रतिनिधि मंगलबार नै दाङ पुगेका छन्। बाँकेका ८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख १६ जना, प्रत्यक्ष र समानुपातिक प्रदेश सांसद ९ प्रदेशसहित कुल २५ जना जनप्रतिनिधि राष्ट्रिय सभा निर्वाचनका लागी दाङ पुगेका छन्।

पाँच नम्बर प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका कुल ३ सय ५ जना मतदाता रहेका छन्। त्यसमध्ये २ सय १८ जना स्थानीय तहका जनप्रतिनिधि र ८७ जना प्रदेश सभाका सांसद रहेको राष्ट्रिय सभा निर्वाचन प्रदेश नम्बर ५ का मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले नागरिकलाई जानकारी दिए। राष्ट्रिय सभाका लागि हरेक प्रदेशबाट ३ महिला, १ अपांगता वा अल्पसंख्यक, १ दलित र ३ अन्यतर्फ निर्वाचित हुने संविधानमा व्यवस्था छ। प्रमुख निर्वाचन अधिकृत रावलका अनुसार उक्त प्रदेशमा ५ पदका लागी मतदान हुँदैछ। ‘अन्यतर्फ ३ र दलित वा अल्पसंख्यक तथा अपांगतामा १÷१ जना निर्वाचित हुनेछन्,’ रावलले टेलिफोनमा भने। 

 पाँच पदका लागी कुल ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको उनले जानकारी दिए। यसअघि राष्ट्रिय सभाका तीन जना महिला उक्त प्रदेशबाट निर्विरोध निर्वाचित भईसकेका छन्। संविधानमा भएको व्यवस्था अनुसार एउटा प्रदेशबाट कुल ८ जना निर्वाचित हुन्छन्। मुलुकका ७ वटै प्रदेशबाट गरी राष्ट्रिय सभामा ५६ जना निर्वाचित हुने व्यवस्था छ। एक जना महिला सहित ३ जनालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरिसकेपछि राष्ट्रिय सभा ५९ सदस्यीय बन्नेछ।

निर्वाचनको तयारी पुरा भईसकेको मुख्य निर्वाचन अधिकृत रावलले बताए। उनका अनुसार बुधबार बिहान १० देखी ३ बजेसम्म दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा मतदान हुनेछ। राष्ट्रिय सभा निर्वाचनका लागी नेकपा एमाले र माओबादी केन्द्रबीच तथा नेपाली काँग्रेस, राप्रपा, राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी फोरमबीच तालमेल भएको छ।

प्रकाशित: २३ माघ २०७४ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App