५ वैशाख २०८१ बुधबार
खेल

बुढासुब्बा गोल्डकप : थ्री स्टार सेमीफाइनल प्रवेश

धरान – निराजन खड्काको ह्याट्रिक प्रेरित रुस्लान थ्री स्टार क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

धरान १६ स्थित प्रादेशिक धरान रंगशालामा मंगलबार सिजी सुदूरपश्चिम ११ विरुद्ध ४–० को सहज जित दर्ता गराउदै थ्री स्टारले प्रतियोगितामा सेमीफाइनल यात्रा तय गरेको हो। बुढासुब्बा गोल्डकपमा चार पटकको उपाधि विजेता थ्री स्टारको लागि निराजन खड्काले ३ गोल गरे भने सुनिल बलले एक गोल गरेका थिए। थ्री स्टारले बिहीबार दोस्रो सेमीफाइनलमा भारत कलकत्ताको पिएसआर दुर्गापुर स्टिलको सामना गर्नेछ। दुर्गापुर स्टिलले आइतबार आयोजक धरान फुटबल क्लबलाई सडेन डेथमा निराश बनाउदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो। 

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको ७ औं मिनेटमा पहिलो गोल गरेका निराजनले ५३ औं र इञ्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए भने सुनिलले पहिलो हाफको ३७ औं मिनेटमा एक गोल गरेका थिए। निराजनको ह्याट्रिक जारी प्रतियोगितामा पहिलो हो। सुनिल बलको क्रस पासमा गोलको खाता खेलेका खड्काले रञ्जित धिमालको क्रस पासमा हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरेका थिए। इञ्जुरी समयमा रञ्जितको क्रसमा डिबक्स भित्र सुदूरपश्चिमका कप्तान चेतन थारुको ह्याण्डबल भएपछि रेफ्री बिक्रम कार्कीले थ्री स्टारलाई पेनाल्टी अवसर दिए। पेनाल्टीमा गोल गर्दै निराजनले ह्याट्रिक पुरा गरे। ३७ औं मिनेटमा निराजनको पासमा सुनिलले डिबक्सबाट गरेको कडा प्रहारले जाली चुमेका थिए। खेलको म्यान अफ दि म्याच थ्री स्टारका ह्याट्रिककर्ता निराजन घोषित भए। उनले नगद १० हजार थापे।

राष्ट्रिय खेलाडी भरिएको थ्री स्टारले थुप्रै अवसर पाएपनि सदुपयोग हुन नसक्दा धेरै फराकिलो अन्तर हुन सकेन। पहिलो हाफको १३ औं मिनेटमा सुनिल वलको क्रसलाई सुदूरका नरेन्द्र चौधरीले हेड गरेर फकाईदिए भने पहिलो हाफको इन्जुरी समयमा विश्वास श्रेष्ठको क्रस पासमा अजयी मार्टिनले वान भर्सेस वानमा गोल गर्न चुके। यस्तै, ४९ औं मिनेटमा विजय धिमालको पासमा विश्वास श्रेष्ठले पनि डिबक्सभित्र वान भर्सेस वानमा गरेका प्रहार बाहिरिएको थियो भने ६५ औं मिनेटमा बुद्ध लामाको प्रहारलाई सुदुरका गोलकिपर अमन्त सेखले रोकेका थिए। फराकिलो गोलअन्तरले पराजित भएपनि सुदूरपश्चिमले खेल अवधिभर थुप्रै पटक गोल गर्ने प्रयास गरेको थियो। गोलपोष्टमा थुप्रै आक्रमण बुन्ने प्रयत्न गरेपनि सुदूरपश्चिमले विपक्षीको रक्षापंक्तिलाई तोड्न सकेन। पहिलो हाफको २१ औं मिनेटमा चेतन थारुको फ्रि किक गोलपोष्टमाथिबाट बाहिरियो भने २७ औं मिनेटमा जीवन चौधरीको पासलाई अफ्रिकन अरोन डोनमहले नभेट्दा मौका गुमेको थियो। यस्तै, ३४ औं मिनेटमा मणीराम चौधरीको सशक्त प्रहार पोलनजिकबाट बाहिरिएको थियो भने ६१ औं मिनेटमा धनबहादुर थापाको क्रसमा हेड गर्नुअघि नै अरोन डोनमह लडेपछि गोल गर्ने अवसर खेर गएको थियो। यसैगरि, ६७ औं मिनेटमा जीवन चौधरीको पासमा अरोनको कडा प्रहार थ्रीस्टारको डिफेन्सले रोकेर बाहिर फालेका थिए।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले सुदूरपश्चिमले पनि राम्रो खेलेको प्रतिक्रिया दिदै विपक्षीमा अनुभव कमीको फाइदा आफ्नो टिमले पाएको बताए। ‘सुदूरपश्चिम राष्ट्रिय लिग खेलेको टिम हो, उसले पनि लामो तयारी गरेकोले राम्रो खेल्यो। तर, हामीले स्कोर गर्यौं,’केसीले भने, ‘उनीहरुमा अनुभवको कमी थियो, हाम्रो अनुभवी खेलाडी भएकोले बाजी मार्यौं।’ सुदूरपश्चिम क्लबका अध्यक्ष एवं कोच सुरेश हमालले पहिलो गोल खाएर तालमेल बिग्रिएको साथै २ जना विदेशी खेलाडी र डिफेन्सले अपेक्षाअनुरुप नखेल्दा हार भएको बताए। ‘पहिलो गोल खाएपछि तालमेल नै बिग्रियो। डिफेन्स र विदेशी आशा गरेजस्तो चलेनन्,’ उनले भने, ‘विदेशीबाहेक अरु सबै लोकल खेलाडी हुन्, थी स्टारमा त ८ जना राष्ट्रिय खेलाडी छन्। अनुभवले पनि खेलमा प्रभाव पर्यो।’ 

प्रतियोगितामा बुधबार पहिलो सेमीफाइनल खेल साविक विजेता नेपाल पुलिस क्लब र साविक उपविजेता संकटा क्लबबीच हुनेछ।

प्रकाशित: २३ माघ २०७४ ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App