८ वैशाख २०८१ शनिबार
राजनीति

नेताको दाउपेचले रोकियो महाधिवेशन

काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भ्रातृसंगठन नेपाल विद्यार्थी संघको नेतृत्व आफ्नो पक्षमा पार्न पार्टी शीर्ष नेताहरू सक्रिय हुँदा महाधिवेशन प्रभावित भएको छ। आफूअनुकूल व्यक्तिलाई प्रतिनिधि बनाउन सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष लागि पर्दा महाधिवेशन उद्घाटन भएको साता बित्दासमेत अन्य प्रक्रिया अघि बढ्न नसकेको हो। सहमतिको नाममा पार्टीभित्रको गुट–उपगुटलाई महाधिवेशन प्रतिनिधि भागबन्डा गर्दै शनिबार राति निर्देशक समितिले ३ हजार ७ सय ६० जनाको नाम सार्वजनिक गरेको थियो। तर, पौडेल पक्षीय विद्यार्थीले त्यसप्रति असन्तुष्टि जनाउँदै पूर्वसहमति विपरीत थप गरिएको सूची नहटाए निर्वाचन प्रक्रियामा सहभागी नहुने जनाएको छ।

प्रतिनिधि सूचीप्रति असन्तुष्टि जनाउँदै पौडेल पक्षले निर्वाचन प्रक्रियामा सहभागी नहुने जनाएपछि आइतबारबाट सुरु हुने भनिएको नयाँ नेतृत्व चयन प्रक्रिया प्रभावित भएको छ। पौडेल पक्षले चुनाव बहिष्कार गर्ने जनाएपछि प्रतिनिधि विवाद समाधानका लागि निर्वाचन समितिले उम्मेदवारी मनोनयनको कार्यतालिका हेरफेर गरेको छ।

आइतबार दिउँसो ३ देखि ६ बजेसम्म उम्मेदवारीको समय तोकेको निर्वाचन समितिले सोमबार बिहान ८ बजेबाट मात्र मनोनयन प्रक्रिया सुरु गर्ने जनाएको छ। पूर्ववत मतदान कार्यक्रममा कुनै परिवर्तन नगरी समितिले सोमबार बिहानसम्म सहमतिका लागि पार्टी नेताहरूलाई समय दिएको हो। बिहानसम्म पनि सहमति जुट्न नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका निर्देशक समिति संयोजक प्रकाशशरण महतले सोमबारदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने दाबी गरे।  'निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेभन्दा ठूलो कुरा अन्य विषय हुन सक्दैन,' आइतबार अपराह्न पत्रकार सम्मेलन गर्दै महतले भने, 'निर्वाचन हुन्छ, हुनुपर्छ, तोकिएको मिति अब सर्दैन।'

सबै महाधिवेशन प्रतिनिधि निर्वाचन वा पार्टीभित्रको सहमतिबाट टुंगो लगाएको जनाउँदै उनले थपे, 'उहाँहरु (रामचन्द्र पौडेल पक्ष) निर्वाचन प्रक्रियामा सहभागी हुनैपर्छ, कोही भाग्न मिल्दैन।'

निर्देशक समिति सदस्य प्रदीप पौडेलले पार्टीको लोकतान्त्रिक छविलाई जोगाउन निर्वाचनमार्फत संघको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। प्रतिनिधि संख्या घटाएर विवाद समाधान हुनछ भने आफू त्यसका लागि पनि तयार रहेको जनाउँदै पौडेलले भने, 'थपेकालाई घटाउन समस्या हुने हो, संख्या घटाएर समाधान हुन्छ भने कहाँ–कहाँ कसरी मिलाउने हो, मिलाएर अधिवेशन सम्पन्न गरौ।'

पौडेल पक्षले प्रकाशित प्रतिनिधि नामावलीमा व्यापक अनियमितता र धाँधली गरी नेविसंघ विधानले परिकल्पना गरेको २ हजार ३ सय ३८ को कुल प्रतिनिधि संख्या बढाएर ३ हजार ७ सय ६० पुर्‍याएको जनाएका छन्। पौडेलनिकट संघको अध्यक्षका प्रत्याशीले आइतबार पत्रकार सम्मेलन गरी फर्जी नाम खारेज नगरे महाधिवेशन नै बहिष्कार गर्ने जनाएका हुन्।

अध्यक्षका प्रत्याशीहरू मनोजमणि आचार्य, दीपक भट्टराई, आनन्द त्रिपाठी, पदमराज पन्त, नीलकण्ठ रिजाल, विनिता अधिकारीसहितले पत्रकार सम्मेलन गर्दै फर्जी नामावली नसच्चिएसम्म प्रक्रिया अगाडि बढ्न नदिने घोषणा गरेका छन्। 'विधि, विधान र लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छानिएका प्रतिनिधि खारेज हुनुपर्छ,' भट्टराईले भने, 'त्यसलाई खारेज नगरेसम्म निर्वाचन प्रक्रियामा सहभागी हुँदैनौं, प्रक्रिया अघि बढ्न दिँदैनौं।'

पत्रकार सम्मेलनलगत्तै निर्वाचन प्रक्रिया अघि बढ्न नदिन पार्टी केन्द्रीय कार्यालय पुगेका विद्यार्थी नेतालाई आइतबार प्रहरीले रोकेको थियो। निर्वाचन प्रक्रिया बिथोल्न सक्रिय भएपछि प्रहरीले उनीहरूमाथि हस्तक्षेप गर्दा तीन दर्जन बढी घाइते भएको असन्तुष्ट पक्षले जनाएको छ। राकेश श्रेष्ठ, वामदेव अधिकारी, महेश गोपाली, ललिता सुनुवारसहित ४३ नेता घाइते भएको जनाउँदै भट्टराईले भने, 'पार्टी अफिसलाई ब्यारेक बनाएर संगठन कब्जा गर्ने षड्यन्त्र भइरहेको छ, यो कस्तो प्रजातान्त्रिक अभ्यास हो, हामी आश्चर्यमा परेका छौं।'

यसैबीच नेता पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै विधि र प्रक्रियाबाट महाधिवेशन गर्न माग गरेका छन्। विद्यार्थीमाथि प्रहरी दमन भएकोमा निन्दा गर्दै उनले भनेका छन्, 'मतदाता नामावली विवाद समाधान गरी निष्पक्ष र धाँधलीरहित निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु।' पौडेलले त्यसअघि सभापति देउवालाई टेलिफोन गरी विवाद समाधान गर्न आग्रह गरेका थिए।

प्रकाशित: ३१ श्रावण २०७३ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App