coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देवघाटमा विद्युतीय शवदाह गृह बनाइने

चितवन – पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ। 

देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ। 

हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटमा चारकट्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रक्रिया अघि बढाइएको हो। 

सो गृह निर्माणका लागि शहरी विकास मन्त्रालयबाट विस्तृत अध्ययन भइसकेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए। पन्ध्र दिनपछिअध्ययन प्रतिवेदन आउने र त्यसपछि कामलाई अघि बढाइने उनले बताए। 

करिब रु सात करोड लाग्ने अनुमान गरिएको सो गृह निर्माणका लागि चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयले रु ५० लाख र भरतपुर महानगरपालिकाले रु २० लाख बजेट छुट्याएको छ । विस्तृत अध्ययनको प्रतिवेदन आइसकेपछि शवदाहस्थल निर्माण शुरु गरिने अध्यक्ष पौडेलले जानकारी दिए। 

देवघाटमा दाहसंस्कार बढी हुने भएकाले दाउराबाट दाहसंस्कार गर्दा एकातिर वन फँडानी बढेको र अर्कोतिर नदीमा प्रदूषण भएकाले विद्युतीय शव गृहमा नै जोड गरेका हौँ” उनले भने। 

दाहासंस्कारका लागि एउटा शवको दाउराबाट एउटा लास दाहसंस्कार गर्न तीन हजारभन्दा बढी खर्च लाग्ने गर्छ। विद्युतीय शवदहबाट दाउराको भन्दा पनि खर्चमा ७५ प्रतिशत कटौती हुन्छ। 

यसैगरी भरतपुर अस्पतालमा बेवारिसे शवको संख्या पनि निकै हुने गरेको छ। ती शव व्यवस्थापनमा पनि कठिनाइ हुँदै आएको छ। देवघाटमा शव दहनका लागि चितवन र बाहिरी जिल्लाबाट दाउरा ल्याइँदै आइएको छ। 

प्रकाशित: २३ माघ २०७४ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App