८ वैशाख २०८१ शनिबार
राजनीति

संसदीय दलको नेता छान्न कांग्रेस तयारी

काठमाडौं– नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीको संसदीय दलका नेता छान्न प्रक्रिया अघि बढाएको छ । नेता छनोटका लागि पार्टीबाट खटिएका प्रतिनिधिले आन्तरिक छलफल तीव्र पारेका छन्। 

प्रदेश २ मा भने सर्वसम्मतिबाट कांग्रेसले नेता चयन गरेको छ । केन्द्रीय प्रतिनिधि विमलेन्द्र निधिको उपस्थितिमा सोमबार जनकपुरमा बसेको बैठकले धनुषाका पूर्वसभापति रामसरोज यादवलाई दलको नेता चयन गरेको हो । प्रदेश २ मा कांग्रेसका १९ सांसद छन्। 

अन्य प्रदेशमा पनि दलको नेता छनोटका लागि केन्द्रीय प्रतिनिधिले छलफल सुरु गरेका छन् । प्रदेश १ र ३ मा केन्द्रीय प्रतिनिधिले मंगलबार छलफल राखेका छन् । प्रदेश १ मा विराटनगरमा छलफल राखिएको छ । कांग्रेसका २१ सांसद रहेको सो प्रदेशमा दलको नेताका लागि राजीव कोइराला, हिमाल कार्की, केदार कार्कीसहितका नेता आकांक्षी छन् ।
त्यस्तै, प्रदेश ३ को संसदीय दलको नेता छनोट गर्न मंगलबार २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल राखेको केन्द्रीय प्रतिनिधि महालक्ष्मी उपाध्यायले जानकारी दिइन् । ‘दलको नेता छनोटका लागि भोलि (मंगलबार) पहिलो चरणको छलफल छ,’ उनले भनिन्, ‘सबैको सुझाव लिएर अर्को बैठकबाट दलको नेता टुंगो लगाउने योजना छ ।’ यस प्रदेशमा कांग्रेसका २१ सांसद छन् । यहाँ पूर्व गृहराज्य मन्त्री इन्द्रबहादुर बानियाँ दलको नेताका लागि बलिया आकांक्षी हुन्। 

त्यस्तै, १५ सांसद् रहेको प्रदेश ४ मा कांग्रेसले कृष्णचन्द्र नेपालीलाई दलको नेता बनाउने आन्तरिक तयारी गरेको छ । १७ जना सांसद रहेको प्रदेश ५ मा डिल्ली चौधरीको सम्भावना छ । पार्टीले त्यहाँ नेता बालकृष्ण खाँणलाई केन्द्रीय प्रतिनिधि तोकेको छ। 

प्रदेश ६ मा केन्द्रीय सदस्य जीवनबहादुर शाही दलको नेता बन्ने सम्भावना छ। ६ सांसद रहेको प्रदेश ६ मा शाहीमात्र प्रत्यक्ष निर्वाचित सांसद् हुन । ‘हामीकहाँ कुनै समस्या छैन,’ पार्टी केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय प्रतिनिधि हृदयराम थानीले भने, ‘ राष्ट्रियसभा निर्वाचनपछि बसेर टुंगो लगाउँछौं।’

१३ सांसद रहेको प्रदेश ७ मा कर्णबहादुर मल्ल र रानाबहादुर रावल आकांक्षी छन् । ‘पार्टी नेतृत्वमा प्रदेश सरकार गठन हुने सम्भावना छैन,’ केन्द्रीय प्रतिनिधि एनपी साउदले भने, ‘कसरी अघि बढ्ने भन्ने प्रक्रियामा सहमति भइसकेको छ । सरकार गठनसम्म दलको नेता टुंगो लगाउँछौं ।’ 

कांग्रेसले प्रदेश संसदीय दलको विधान मस्यौदा तयार गरेको छ । पार्टी केन्द्रीय सदस्य मीनेन्द्र रिजाल नेतृत्वको समितिले मस्यौदा तयार गरेको हो । केन्द्रीय समितिले त्यसलाई अनुमोदन गर्न बाँकी छ। 

प्रदेश संसदीय दलको नेता छनोटका लागि केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशमा छलफल जारी राखेको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘विधान तयार भएको छ । फागुन पहिलो साताभित्र सर्वसहमतिबाटै दलका नेता टुंगो लगाउने प्रयास भइरहेको छ।’

कांग्रेसले दलको नेता छनोटका लागि शनिबार सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि तोक्नुका साथै रिजालको नेतृत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो।

 

प्रकाशित: २३ माघ २०७४ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App