८ वैशाख २०८१ शनिबार
समाज

कर्णाली जोड्न छोटो मार्गको खोजी

जुम्ला – प्रदेश ६ को राजधानी सुर्खेत तोकिए संगै कर्णाली जोड्नको लागि छोटो मार्गको खोजी शुरु भएको छ । सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला जोड्ने र जुम्लाबाट मुगु हुँदै उत्तरी नाका नाक्चा जोड्नको लागि पहल शुरु भएको हो।

जिल्ला समन्वय समिति जुम्लाको आयोजना र प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतको पहलमा प्रदेश नम्बर ६ का प्रदेश सांसद र प्रतिनिधि सभा सदस्यको भेला गरी दैलेख सदरमुकाम हुँदै जाने सडकलाई राष्ट्रिय योजनाका रुपमा अघि बढाउने सहमति भएको हो । दैलेख जिल्लाका प्रदेश सांसद अमरबहादुर थापाले युगौ देखिको कर्णालीको सम्बन्धलाई सुमधुर तुल्याउनको लागि दैलेख सदरमुकाम हुँदै जाने सडक निर्माण कार्यलाई छरितो बनाउदै लैजानु पर्नेमा जोड दिए । उनले भने, ‘दैलेख सदरमुकामदेखि महावुसम्मको झण्डै ४८ किलोमिटर सडक खनिसकिएकोछ, यसको स्तरोन्नति हुँदैछ, यसको विस्तारका लागि प्रतिनिधि सभामा आवाज उठाउनु जरुरी छ । यसका लागि प्रदेश सांसदको ऐकेबद्धता र प्रतिबद्धता आवश्यक ठानेको छु ।’

रणनीतिक सडकका रुपमा अघि सार्नु पर्नेमा जोड दिँदै, उनले यसलाई उत्तरी मार्गका रुपमा स्थापित गर्नु पर्ने बताए । पूर्व सांसद समेत रहेका उनले प्रदेश सभा र प्रतिनिधि सभामा रहेका कर्णाली र दैलेख जिल्लाका सांसदले प्राथमिकताका साथ लिदै विशेष केन्द्रीय योजना बनाएर जानु पर्ने बताए  । यो सडक सुन्दरता प्राप्त छ, महावु पाटनलाई पर्यटकीय क्षेत्रमा परिवर्तन गर्न सकिने आधार थुप्रै छन, उनले भने, राष्ट्रिय महत्वको सडकका रुपमा राज्यको ध्यान केन्द्रित गराउनु पर्छ । उनका अनुसार प्राविधिकले डिजाईन स्टमेट गर्दा कर्णाली राजमार्ग भन्दा यो मार्ग ७९ किलोमिटर छोटो देखिएको थियो । यो मार्ग निर्माणले कर्णालीलाई दैनिक उपभोग्य सामाग्री देखि जडिबुटी ओसारपसार कार्यमा सहज हुनुका साथै पैसा र मेहनत बचत गर्न सकिने सुनाए।

जुम्लाका प्रदेश सभा सांसद नरेश भण्डारीले यो सडक निर्माण कार्य अघि बढाउनको लागि सवैलाई गहिरो महशुस भइरहेको बताए । उनले भने, ‘यसको मोडालिटी र पूर्व तयारी अहिलेको आवश्यकता हो ।’ उनले डिजाइन स्टमेट र बजेट व्यवस्थाका लागि सबैको पहल हुनु पर्ने धारणा राखे। उनले सडक गुरुयोजना बनाएर प्रदेश र केन्द्र सरकारले पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउनु पर्ने बताए । अन्तरदेश जोड्ने सडक भएकोले दैलेख जिल्लाका सांसदले बढी जोड गर्नु पर्ने उनको भनाई छ ।
कर्णाली राजमार्गको विकल्पमा सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला सडक निर्माणको काम धमाधम भइरहेको छ । सडकमा यात्रा गर्न छिटो छरितो, सहज र सुरक्षित हुने भएकोले कर्णाली राजमार्गको विकल्पमा यो सडक खन्न थालिएको हो। पछिल्लो समयमा स्थानीय तह र जनप्रतिनिधिले दैलेख सदरमुकाम हुँदै जुम्ला जोड्ने सडकलाई प्रथामिकता दिँदै आएका हुन्। अहिले कर्णालीवासीले कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्ला सम्म २ सय ३६ किलोमिटर यात्रा गरिरहेका छन् । साना सवारीले एक दिनमै गन्तव्यमा पु¥याउँदै आएकोमा ठूला सवारीमा दुई दिन लाग्ने गरेको छ।

यात्रा शुरु हुने वित्तिकै भगवान पुकार्दै यात्रा गर्नु परेको अवस्थालाई मध्येनजर गर्दै दैलेख सदरमुकाम हुदै जुम्ला छुने सडक निर्माणमा तीव्रता दिन थालिएको छ । लामो यात्रा, भौगोलिक रुपमा निकै डरलाग्दो भूगोलका कारण यात्रा गर्न निकै असहज हुने गरेकोले कर्णाली राजमार्गमा यात्रा गर्न निकै कठिन हुने गरेको अनुभव कर्णालीवासीले गरेका छन।

भिरैभिरको लामो यात्रामा दुर्घटनाको खतरा मोल्दै यात्रा गर्नु र समयमै घर सम्म पुग्न नपाउनु अहिलेको बाध्यता हो । कर्णाली राजमार्ग भन्दा यो सडक झण्डै ७९ किलोमिटर छोटो पर्ने देखिएको छ ।  महावै गाउँपालिकाको महावुदेखि चिलखाय सम्मको झण्डै ३० किलोमिटर सडक निर्माण गर्न बाँकी छ । सो सडक निर्माणको काम अहिलेसम्म कालिकोट डिल्लीकोटमा रहेको महावुलेक नजिकै पुगिसकेको छ। त्यहाँ सम्म साना सवारी सञ्चालन भइरहेका छन। यता कालिकोट देखि चिलखाया सम्म सडक खनिसकिएको छ । बीचको खण्ड सडक खन्न एक वर्षमै सकिने अनुमान गरिएको छ । दैलेख हुँदै महावुलेक हुदै चिलखाय हुदै कर्णाली राजमार्गमा जोडिने छ।

प्रकाशित: २३ माघ २०७४ ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App