coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

महादेवका नाममा १४ वर्ष

काठमाडौं - एउटा कलाकारले १० वर्षभन्दा बढी समयदेखि एउटै विषयमा चित्र बनाउनु आफैंमा अपत्यारिलो कुरा हो । आफूले बनाएका चित्र बेच्ने रुचि नदेखाउनु थप अचम्मको विषय हो । अझ, चित्र बनाउने कामलाई पूर्णता नदिई त्यसलाई सार्वजनिक नगर्ने प्रण गर्नु झन् अर्को आश्चर्यको कुरा हो । चौध वर्षदेखि महादेवका चित्र बनाइरहेका ललितपुरका कलाकार सुरेश द्यःलाका लागि भने माथि उल्लेखित कुनै पनि काम आश्चर्यभित्र पर्दैनन् । १४ वर्षदेखि महादेवका विभिन्न रूपलाई चित्रमा उतार्न व्यस्त द्यःला धेरैलाई असम्भव लाग्ने यही काम गरिरहेका छन् ।

स्कुले जीवनदेखि नै चित्र कोर्न थालेका ४४ वर्षीय सुरेश, महादेवलाई  ‘थिम’ मानेर ‘सत्यम् शिवम् सुन्दरम्’ नामक कला प्रदर्शनीको लागि चौध वर्षदेखि महादेवकै मात्र चित्र कोरिरहेका छन् । सन् २००४ देखिको उनको महादेवको चित्र कोराइ दैनिकी अहिले पनि जारी नै छ । उनकै भनाइमा उनलाई महादेव मोह आउने कारण कुनै घटनासँग जोडिएको छैन । ‘चित्रकारिताको सुरुवाती चरणमा जीवनमा एकपटक महादेवकै थिममा एउटा ठूलो प्रदर्शनी गर्छु भन्ने अठोट गरेको थिएँ,’ उनले नागरिकसँग भने, ‘त्यही अठोटलाई पूर्णता दिन ‘सत्यम् शिवम् सुन्दरम्’ थिममा महादेवको चित्र सिरिज बनाएर एक्रेलिक रंगले रंग्याइरहेको छु ।’

महादेवका विभिन्न रूपलाई क्यानभासमा उतारिरहेका सुरेश द्यःलाले यही काममा १४ वर्ष बिताइसकेको छन् । ‘सत्यम् शिवम् सुन्दरम्’लाई केन्द्रमा राखेर चित्र कोरिरहेका द्यःला सके यही वर्ष नभए अर्को वर्ष आफ्ना चित्रको प्रदर्शनी गर्ने सोचमा छन् ।

अमूर्त कलाभन्दा पनि यथार्थवादी विषयमा चित्र बनाउने रुचिले नै महादेवको थिममा चित्र कोरेको उनले खुलाए । महादेवलाई शक्तिको स्रोत मान्छन् । ‘कहिलेकाँही चित्र बनाउँदा अल्छी पनि लाग्छ । तर चित्र बनाउनुअघि महादेवलाई सम्झिएँ भने कहाँबाट चित्र बनाउने शक्ति आउँछ थाहै पाउँदिन,’ उनले भने, ‘बिरामी भएर थलिँदा पनि महादेव सम्झिँदा आफैं चित्र बनाउने जोश आउँछ । महादेवको चित्र कोर्न थालेपछि म बिरामी थिएँ र ? जस्तो लाग्छ ।’

महादेवको चित्र बनाउने क्रममा  सुरेशले शिव पुराण, महाभारतलगायतका धार्मिक ग्रन्थ पढिसकेका छन् । अहिले उनी श्रीकृष्णको आत्मकथा पढिरहेका छन् । ‘धार्मिक पुस्तक पढ्दा महादेवको जीवनकथा थाहा पाएँ । जसकारण चित्र बनाउँदा डुब्न पाइयो,’ सुरेश खुले, ‘चित्र बनाउने काम करिब ९५ प्रतिशत सकिएको छ । त्यसकारण सके २०१८ नत्र २०१९ भित्रमा ‘सत्यम् शिवम् सुन्दरम्’ थिममा प्रदर्शनी गर्नेर्छु । शिव पुराण नसुनेका मानिसलाई मेरो प्रदर्शनीले शिव पुराण सुनेर प्रदर्शनी हेर्न आएको आभास दिलाउनेछ ।’
महादेवको थिममा चित्र बनाउने उपयुक्त समय पर्खिएका सुरेशले सुरुवाती कालमा ३५ वटा चित्र बनाउने अठोट लिए पनि अहिलेलाई उनी २० वटामात्र चित्र बनाउने निष्कर्षमा पुगेका छन् ।

पाँच वर्षअघि उनले फेसबुकमा ‘सत्यम् शिवम् सुन्दरम्’ थिममा आफूले चित्र बनाइरहेको भन्दै एउटा महादेवको चित्र पोस्ट गरेका थिए । चित्र हेरेर शुभचिन्तकले मनपराइदेलान् भन्ने सोचेका उनले सोचविपरीतको परिणाम पाए । ‘फेसबुकमा तस्बिर पोस्ट गरेपछि त्यसमा साथीभाइको लाइक कति आउलान् भन्ने हेर्न खोजेको थिएँ । तर लाइकभन्दा पनि चित्र नै किन्छु भन्ने फोन पनि आउन थाल्यो । कतिपयले त सबै सिरिज नै किनिदिन्छु, मूल्य कति हो भनेर सोध्न थाले । मैले सबै चित्र प्रदर्शन गरेपछि मात्र त्यसलाई बिक्री गर्ने भनेपछि उनीहरूले कुरा अगाडि बढाएनन्,’ सुरेशले भने, ‘चित्रको प्रिन्ट कपि दिन्छु भन्दा पनि मानेनन् । एउटा चित्र बनाउनकै लागि ६ महिनादेखि एक वर्ष लागेको छ । त्यसकारण यी चित्रको मूल्य पनि महंगो छ।’

चित्र कोर्न पोख्त सुरेशले २०५४ मा व्यवस्थापन संकायबाट एमकम गरे । काम चित्रकारिता तर पढाइ व्यवस्थापन भएपछि चित्रकारितामै योग्यता बनाउनुपर्छ भन्ने सोचले उनी ललितकला क्याम्पसमा भर्ना भए । ‘म चित्र बनाउन पोख्त थिएँ । तर मेरो शैक्षिक योग्यता व्यवस्थापन थियो । त्यसकारण आफूले जानेको सीप अनुसारकै शिक्षा लिनुपर्छ भनेर ललितकला भर्ना भएँ र ललितकलामा एमए पूरा गरें,’ उनी कलेज जीवनमा फर्किए, ‘कलेजमा पढाइ सकेपछि मलाई कलेजकै राजु मानन्धर सरले अब पढाउनु भन्ने सुझाव दिनुभयो । १०, १५ दिन त पढाँए तर चित्र बनाइरहने बानीले पढाउनेतिर मनै गएन ।’

सुरेशलाई राजधानीमा हुने विभिन्न कला प्रदर्शनीदेखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वर्षेनी आयोजना गर्ने राष्ट्रिय कला प्रदर्शनीमा सहभागिताको लागि निम्तो पनि आउँछ । तर उनी कहिँकतै नगई घरमै चित्र कोर्ने काममा रमाइरहन्छन् । ‘प्रतिष्ठानको कार्यशैली देख्दा दिक्क लाग्छ । प्रतिष्ठानको प्रदर्शनीले अग्रज कलाकारको चित्रलाई प्राथमिकता दिनुपर्ने हो । तर भर्खरकादेखि अग्रजको कला एकैठाउँमा राखिने भएकाले त्यसको गुणस्तर कायम भएको देखिँदैन । त्यसकारण पनि ती कला प्रदर्शनीमा मेरो चासो कहिल्यै भएन,’ उनले भने ।

सुरेशका बुवा बाबुराजा आफैंमा कुशल चित्रकार हुन् । बुवाकै लयलाई सुरेशले समाते पनि सुरेशका सन्तानले भने उनको कामप्रति कमै चासो दिएका छन् । उनका तीन छोरीमध्ये माइली छोरीले मात्र बाबुको काममा ध्यान दिने गर्छिन् । सुरेशका बुवा पनि पोट्रेट चित्रमा नै रुचि राख्ने भएकाले सुरशेले पनि त्यही बाटोलाई पछ्याएका छन् । हार्मोनी, तोरण, टुँडाल, संगीतका साधनलाई चित्रको पात्र बनाउने उनको घरमै ग्यालरी पनि छ ।

सुरेशले ललितकला क्याम्पसमा अध्ययन गर्नुअघि दुईपटक आफ्नो एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् । उनको अन्तिम लक्ष्य नै महादेवको सिरिज ‘सत्यम् शिवम् सुन्दरम्’को भव्य प्रदर्शनी गर्नु हो । ‘‘सत्यम् शिवम् सुन्दरम्’ दर्शकका लागि एउटा प्रदर्शनी होला । तर मेरा लागि यो ड्रिम प्रोजेक्ट नै हो,’ कुराको बिट मार्दै हर्षित मुद्रामा सुरेशले भने, ‘प्रदर्शनीपछि म प्रत्येक चित्रको प्रिन्ट कपी निकालेर एउटा पुस्तक बनाउनेछु । जुन पुस्तक आम पाठकका लागि महादेवको आत्मकथा बन्नेछ ।’
 

प्रकाशित: २३ माघ २०७४ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App