१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ड्राइभिङ लाइसन्स दलाली गर्ने ४ पक्राउ

काठमाडौं – उपत्यका ट्राफिक कार्यालय महाशाखाले चालक अनुमति पत्रको दलाली गर्ने र लिन खोज्ने चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्मती यातायात व्यवस्था कार्यालय ललितपुरका खरिदार यामबहादुर केसी र भक्तपुर नगरपालिका– ७ बस्ने सुनिल गोर्खाली, दलालीमै सहभागी बारा लक्ष्मीपुर कोतवालीका टिकुप्रसाद गुप्ता र रौतहट पिपरा रजवाडा– ७ का ननिपत साह छन् । साह र  गुप्तालाई आइतबार यातायात व्यवास्था कार्यालय एकान्तकुनामा चार पांग्रे साना सवारीको अभ्यास परीक्षामा सहभागी भइरहेका अवस्थामा पक्राउ गरिएको हो।

गुप्तालाई प्रयोगात्मक परीक्षा पास गराइदिने भन्दै शाहले मोलमलाइ गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । दुवैलाई अनुसन्धानका लागि सोमबार महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । थप अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पक्राउ परेका गोर्खाली र केसीलाई  सोमबार सिंहदरबारस्थित नेसनल टे«डिङ सेन्टरबाट पक्राउ गरिएको हो । सोमबार ठूला सवारी साधनको प्रयोगात्मक परीक्षा भइरहेका बेला खरिदार केसीले परीक्षामा फेल भएका गोर्खालीलाई पुनः परीक्षा दिन पठाएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा खरिदार केसी अनुमति पत्र दिलाउने काममा पहिल्यैदेखि संलग्न भएको आशंका छ।

सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा अनुतीर्ण परीक्षार्थीलाई उतिर्ण गराइदिने गैर कानुनी काममा संलग्न कर्मचारी तथा परीक्षार्थी दुवैलाई सार्वजनिक ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

अनियमित रूपमा ठूला सवारी साधनको सवारी चालक अनुमति पत्र दिने काममा यातायात व्यवस्था कार्यालयकै कर्मचारी संलग्न देखिनुले पहिलेदेखि नै अनियमितता भएको हुनसक्ने उपत्यका ट्राफिक कार्यालय महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र
खनालले बताए।

चालक अनुपति पत्रमा अनियमितता गर्ने र गराउने पाएको खण्डमा प्रहरीले माफी दिन नसक्ने डिआइजी खनालले बताए। ‘हामीले यसको अनुगमनको लागि सादा पोशाकमा प्रहरी खटाएका छौं। अनियमितता गर्ने गराउनेलाई कारबाही हुन्छ,’ उनले भने।
प्रयोगात्मकमा अनुत्र्तीण भएका परीक्षार्थीलाई अनियमितता गरी अनुमति पत्र दिएमा बढी दुर्घटनाको खतरा हुने खनालले बताए। उनले अनुमति परीक्षालाई स्वच्छ र पारदर्शी बनाउनु पर्ने बताए।

प्रकाशित: २३ माघ २०७४ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App