८ वैशाख २०८१ शनिबार
खेल

लुम्बिनीमा शान्ति म्याराथन हुने

काठमाडौं – गौतम बुद्धको जन्मस्थल लुम्बिनी र वरपरका बौद्ध सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले अर्को महिना लुम्बिनीमा शान्ति म्याराथन हुने भएको छ ।

लुम्बिनी पिस म्याराथन र एडभेन्चर स्पोर्ट्स नेपालको संयुक्त आयोजनामा म्याराथनको चौथो संस्करण फागुन १७ गते फागु पूर्णिमाको दिन हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । समुद्री सतहबाट १ सय ५० मिटरको उचाइमा हुने म्याराथन विश्वकै होचो स्थानको म्याराथन भएको आयोजकहरूले बताए ।

प्रतियोगिताका संरक्षक विक्रम पाँडेले विश्वकै एक मात्र आध्यात्मिक खेल गतिविधिका रूपमा स्थापित गर्दै लुम्बिनीलाई बौद्ध धर्माबलम्बीहरूको मुख्य तीर्थस्थलका रूपमा विकास गर्नु म्याराथनको मुख्य उद्देश्य हुने बताए । त्यसका लागि म्याराथनको रुटमा मायादेवीको सुत्केरी बाटो, बुद्धको जन्मस्थल, कपिलवस्तुलगायत लुम्बिनीआसपासका सम्पदाहरू समेटिएको उनले जानकारी गराए ।

‘यस दौडले खेलाडीहरूलाई आध्यात्मिक अनुभव दिनेछ । जुन अन्य म्याराथनले दिन सक्दैन,’ पत्रकार सम्मेलनमा पाँडेले भने, ‘लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विदेशी पर्यटकको संख्या उल्लेख्य बढ्नेछ । लुम्बिनी शान्ति म्याराथनले लुम्बिनी क्षेत्रमा धेरैभन्दा धेरै पर्यटक ल्याउन योगदान गर्नेछ ।’
म्याराथनका रेस डाइरेक्टर कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले यो प्रतियोगिता नेपाली एथलेटिक्सको विकासका लागि सहयोगी हुने विचार राखे ।

म्याराथनका इभेन्ट म्यानेजर शिखर पाँडेले नेपाल, भारत, अस्ट्रेलिया, चीनलगायतका देशबाट २ सय ५० धावकले प्रतियोगितामा सहभागिता जनाउने अपेक्षा गरेको बताए । उनका अनुसार फुल म्याराथन, हाफ म्याराथन र ५ किलोमिटर गरी तीन विधामा प्रतिस्पर्धा गराइनेछ । फुल म्याराथनको विजेताले १ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउने पाँडेले जानकारी गराए । यसै गरी हाफ म्याराथनका विजेताले ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।
 

प्रकाशित: २३ माघ २०७४ ०३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App