७ वैशाख २०८१ शुक्रबार
समाज

वीरगन्जमा निःशुल्क वाइफाई

वीरगन्ज – वीरगन्जका मुख्यमुख्य ठाउँमा वाइफाई सेवा निःशुल्क हुने भएको छ । वीरगन्जको बजार क्षेत्रमा १२ वटा मुख्य स्थल अब महानगरीय वाइफाई जोन हुन लागेको हो।

वीरगन्ज महानगरपालिकाको कार्यालय र इन्टेरनेट सेवा प्रदायक संस्था वर्ड लिंक कम्युनिकेसन प्रालिबीच उक्त योजना कार्यान्यवनका लागि सम्झौता सम्पन्न भएको छ ।

‘१२ वटा ठाउँमा अहिलेलाई निःशुल्क वाइफाई सुविधा उपलब्ध हुने भएको छ । हामीले वर्ड लिंकसँग सम्झौता गरेका छौं,’ वीरगन्जका नगरप्रमुख विजय सरावगीले भने, ‘इन्टरनेट आममानिसका लागि आवश्यक भइसकेको छ । वीरगन्ज एउटा महानगर भएपछि यहाँ बस्ने मानिसले यस्ता आधारभुत सुविधा पाउनुपर्छ ।’ आगामी दिनमा वाइफाई वाईफाई जोन अझ विस्तार गर्दै लैजाने उनले बताए ।

‘नागरिकमैत्री काम गर्ने र आवश्यकताका रुपमा लिएर यसलाई कार्यान्यवन गर्न लागिएको हो,’ महानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द देवकोटाले भने, ‘सम्झौतामा महानगरपालिकाले पूरा गर्नुपर्ने र सेवा प्रदायकले पूरा गर्नुपर्ने सर्त उल्लेखित छन् ।’

सेवाप्रदायकले जडान गरेका यन्त्रहरु राख्ने ठाउँ, त्यसमा लाग्ने विद्युत् र त्यसको सुरक्षाको व्यवस्था महानगरपालिकाको कार्यालयले गर्ने र सेवा प्रदायकले उक्त ठाउँमा निःशुल्क वाइफाई जडान गरिएको जनाउने दिने आफ्नो नाम सहितको बोर्ड राखेर सेवा सञ्चालन गर्ने मुख्य सर्त हुन् ।

व्यावसायिक लाभका लागि नभई वर्डलिंकका तर्फबाट सामाजिक दायित्वअन्तर्गत हामीले यो सेवा प्रदान गर्न लागेका छौं । यसबाट महानगरपालिकाले इन्टरनेट सर्भरमार्फत व्यावसायिक रुपमा विज्ञापन राख्न पाउँछ । उक्त आम्दानीलाई इन्टेनर सेवा सुचारु बनाइराख्ने जनशक्ति आदिमा खर्च गर्न पाइयो,’ वर्डलिंकका प्रतिनिधि धीरेन राजभण्डारीले भने, ‘धेरै वटा डिभाइसमा एकसाथ इन्टरनेट जोडिँदा थेग्न सक्ने उच्च क्षमताको राउटर हामीले राख्नेछौं । अहिले त्यसको परीक्षण हुँदैछ, २ हप्ताभित्रै जडान सुरु हुन्छ र चाँडोभन्दा चाँडो सकिन्छ ।’
उनले वीरगन्जका विभिन्न सार्वजनिक संस्थाबाट आफ्नो ठाउँमा निःशुल्क वाइफाई इन्टरनेट जोड्न आएको प्रस्ताव वीरगन्ज महानरपालिकामार्फत पूरा गर्न पाउदा खुसी लागेको बताए। अहिले घन्टाघर, माइस्थान, महावीरस्थान, आदर्शनगर, मेनरोडलगायत ठाउँमा महानगरीय वाइफाई इन्टरनेट जडान हुन लागेको हो।
 

प्रकाशित: २३ माघ २०७४ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App